बार्षिक १० अर्बको कारोबार गर्ने रिलायन्स स्पिनिङ मिल्स ‘बुक विल्डिङ’ बाट आईपीओ जारी गर्ने दोस्रो कम्पनी

0
Shares

बार्षिक १० अर्ब बढीको कारोबार गर्ने रिलायन्स स्पिनिङ मिल्स बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्ने दोस्रो कम्पनी हुने भएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई बुक विल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न अनुमति दिएको छ ।

धितोपत्र बोर्डबाट अनुमति पाएसँगै रिलायन्स स्पिनिङ मिल्स बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्ने दोस्रो कम्पनी भएको छ । यसअघि सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्न अनुमति पाएको थियो ।

सर्वोत्तम सिमेन्टले यहि पुस २५ गतेदेखि पहिलो चरणमा उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्दैछ । कम्पनीले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आइपीओ बिक्री गर्देछ ।

रिलायन्स स्पिनिङ मिल्सले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई ७ लाख ७० हजार ६ सय ४० कित्ता सेयर निष्काशन गर्ने छ । कम्पनीले कुल १९ लाख २६ हजार ६ सय कित्ता सेयर निष्कासन गर्ने छ। बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्दा सर्वसाधारणमा निष्काशन गरिने सेयरको ४० प्रतिशत योग्य संस्थागत लगानीकर्तालाई छुट्याउनु पर्ने प्रावधान छ ।

कम्पनीको सेयरको आशय मूल्य प्रति कित्ता ६०८ रुपैयाँ देखि ९१२ रुपैयाँसम्म रहेको छ । यस रेन्जमा रहेर योग्य संस्थागत लगानीकर्ताले कम्पनीको आईपीओमा आवेदन दिनु पर्नेछ । जसबाट कायम हुने कट अफ मूल्यका आधारमा सर्वसाधारणलाई १० प्रतिशत मूल्य घटाएर आयोजना प्रभावित, वैदेशिक रोजगारीमा रहेका नेपाली र आम सर्वसाधारणका लागि आईपीओ जारी हुनेछ ।

योग्य संस्थागत लगानीकर्तालाई निष्काशन गरिएको सेयर बाँडफाँड भए पछि कम्पनीले सर्बसाधारणलाई आईपीओ निष्काशन गर्ने छ । कम्पनीले सेयर निष्कासनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक चयन गरेको छ । कम्पनीको जारी पुँजी एक अर्ब ७८ करोड ४४ लाख ४ हजार रुपैयाँ छ । यसको १०.८० प्रतिशत सेयर सार्वजनिक निष्कासन गर्न लागेको हो ।

नेपालका दुई व्यापारिक घराना–गोल्यान ग्रुप र एमएस ग्रुपको लगानी रहेको रिलायन्स स्पीनीङ मिल्सले वार्षिक १० अर्ब बढीको कारोबार गर्दै आएको छ । अन्तर्राष्ट्रिय गुणस्तरको पोलिस्टर, भिसकोस, एक्रिलेक यार्न लगायत सिउने धागोहरु विभिन्न ब्लेन्डमा उत्पादन गर्दै आएको कम्पनीले आर्थिक वर्ष २०७९/८० मा १० अर्ब ६० लाख संचालन आम्दानी गरेको थियो ।

सन् १९९४ मा स्थापना भएको रिलायन्स स्पीनिङ मिल्स नेपालको सबैभन्दा ठूलो गार्मेन्ट उद्योग हो । कम्पनीले उत्पादन गर्ने पोलीस्टर, भिस्कोज, एक्राइलिक तथा बेलेन्डेड र्यान, कटन नेपालमा मात्रै नभई भारत र टर्कीमा समेत राम्रो बिक्री हुँदै आएको छ ।

हाल कम्पनीले सुनसरीको कहर र दुहाबीमा गरी दुई फ्याक्ट्री सञ्चालनमा ल्याएको छ । सन् २०२३ को अप्रिल महिनादेखि कम्पनीका दुई वटा उत्पादन प्लान्टहरु सञ्चालनमा आएका छन् । अन्तर्राष्ट्रिय बजारमा सिन्थेटिक र कटन र्यानको माग बढ्दै जाँदा कम्पनीले २ अर्ब ७० करोड लगानीमा ८ हजार २८० मेट्रिक टन उत्पादन क्षमता सहितको प्लान्ट निर्माण गरी सञ्चालनमा ल्याएको छ । यससँगै कम्पनीको उत्पादन क्षमता वार्षिक रुपमा ४२ हजार ७५० मेट्रिक टन पुगेको हो ।

कम्पनीका अध्यक्ष पवन कुमार गोल्यान हुन् भने उपाध्यक्ष शशिकान्त अग्रवाल हुन्। पवनकुमार गोल्यान, गोल्यान ग्रुपको प्रतिनिधित्व गर्छन् भने शशिकान्त अग्रवालले एमएस ग्रुपको प्रतिनिधित्व गर्छन् । कम्पनीका प्रबन्ध निर्देशक अध्यक्ष गोल्यान हुन्।

वि.सं. २०५१ सालमा कम्पनी रजिष्ट्रारको कार्यालयमा विधिवत रुपमा दर्ता भै सञ्चालनमा आएको नेपालको सबैभन्दा ठुलो स्पिनिङ्ग मिल्स हो । चार हजार ३ सय भन्दा धेरै जनालाई रोजगार दिन सफल रहेको यस कम्पनीको औद्योगिक कारखाना सुनसरी जिल्लाको दुहबी र खनारमा रहेको छ । उच्च प्रविधियुक्त स्पिनिङ्ग प्लान्ट र मेशिनरी जडान गरी कम्पनीले अन्र्तराष्ट्रिय गुणस्तरको पोलिस्टर, भिसकोस, एक्रिलेक यार्न लगायत सिउने धागोहरु विभिन्न ब्लेन्डमा उत्पादन गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।