खाद्य कम्पनी लक्ष्य अनुसारको धान खरिद गर्न असफल

0
Shares

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले लक्ष्य अनुसार धान खरिद गर्न असफल भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लक्ष्यको करिब २० प्रतिशत मात्रै धान खरिद गर्न सकेको हो । 
 
सरकारले तोकेभन्दा बजारमा धानको मूल्य बढेपछि धान बिक्रीका लागि किसान आउनै छोडेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरका सूचना अधिकारी टपेन्द्रप्रसाद उपाध्यायले जानकारी दिए । “खरिद सुरु गरेको एक महिनासम्म किसान धान बिक्रीका लागि आए । त्यसपछि बजारमै राम्रो मूल्य पाएपछि अहिले बिक्रीका लागि किसान आएका छैनन्”, उनले भने, “किसान नआउँदा अहिले धान खरिद गर्ने कार्य ठप्प जस्तै छ ।” खाद्य व्यवस्थाले कात्तिक १५ गतेदेखि धान खरिद सुरु गरेको थियो । यसवर्ष १५ हजार क्विन्टल धान खरिदको लक्ष्य राखिएको थियो । यद्यपि लक्ष्यअनुसार धान पाउन नसकिएको सूचना अधिकारी उपाध्यायले बताए। 
 
उनका अनुसार अहिलेसम्म लक्ष्यको झण्डै २० प्रतिशत हाराहारीको दुई हजार नौ सय ५० क्विन्टल धान खरिद गरिएको छ । प्रतिक्विन्टल तीन हजार एक सय ९८ का दरले धान खरिद गरिएको हो । यो मूल्य गतवर्ष भन्दा बढी हो । गतवर्ष दुई हजार नौ सय ६७ प्रति क्विन्टलका दरले धान खरिद गरिएको थियो ।
 
गतवर्ष पनि खाद्यले लक्ष्य अनुसार धान पाएको थिएन । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका अनुसार गतवर्ष १४ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य भए पनि खाद्यले तीन हजार २१ क्विन्टल मात्रै धान खरिद गर्न सकेको थियो । धानको मूल्य राम्रो पाएपछि गाउँमै धान बेचेको कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरकी अनिला चौधरीले बताए। 
 
“नजिकमा खाद्यको खरिद केन्द्र पनि छैन । धान बेच्न भाडा तिरेर महेन्द्रनगर पुग्नुपर्छ”, उनले भने, “त्यसैले खरिद केन्द्र टाढा हुँदा गाउँमै धान बिक्री गरेका छौँ ।” डेढ बिघा जमिनमा धानखेती गरेका उनको यसपटक उत्पादन वृद्धि भएको छ । उनका अनुसार यसपटक ६० क्विन्टल धान उत्पादन भएको छ ।
 
?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।