सेयर बजारमा उछाल, अर्धशतक बढीको वृद्धिपछि सूचक २१७५ बिन्दुमा

0
Shares

पुस मसान्तको समाप्तीसँगै सेयर बजारमा उछाल आएको छ । माघे संक्रान्तिको साेमबार सार्वजनिक विदापछि मंगलबार खुलेको सेयर बजार २.५७ प्रतिशत अर्थात ५४.५४ अंकको उच्च वृद्धि सहित २१७५.१७ बिन्दुमा पुगेको हो । त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ९.२६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.९७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.३३ अंक बढेको छ।

बजारमा आएको उच्च सुधारले कारोबार रकम पनि ८ अर्ब नाघेको छ । यसदिन ३०४ कम्पनीका १ करोड ३३ लाख ७० हजार ५३ कित्ता सेयर १ लाख ३३ हजार ६१ वटा कारोबारमा ८ अर्ब ४ करोड ३८ लाख ६२ हजार ४०६ रुपैयाँमा खरिद बिक्री भएको हो ।  यस अघि २०७८ माघ २० गते साढे ८ अर्बभन्दा बढीको सेयर कारोबार भएकोमा करिब २ वर्षपछि नेप्सेको कारोबार रकम ८ अर्ब नाघेको हो।

बैंक तथा वित्तीय संस्थाहरुले माघदेखि लागू हुनेगरी ब्याजदर घटाएपछि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको हो । अन्य क्षेत्रमा कर्जा प्रवाह सुस्त रहेको अवस्थामा सेयर धितोमा कर्जा प्रवाह पनि बढेको छ । सस्तो ब्याजदरमा कर्जा पाएपछि ऋण लिएर सेयर खरिद गर्ने बढेका छन् ।

कारोबारमा आएका १३ वटै उपसमुहगत सूचकमा हरियाली छाएको छ । जसमध्ये फाइनान्स उपसमूहको परिसूचक सर्वाधिक ४.७५ प्रतिशत बढेको छभने जलविद्युत, लगानी र लघुवित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा धेरै बढेको छ । बैंकिङ्ग, विकास बैंक, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहको परिसूचक पनि २ प्रतिशतभन्दा अधिक बढेका छन् । 

आजको बजारमा सोना सिमेन्ट सहित नेपाल इन्फ्रास्टक्चर बैंक, एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्टको सर्वाधिक कारोबार हुँदै शीर्ष तीन कम्पनीमा समेटिएका छन् । त्यस्तै, हिमाल दोलखा, अपि पावर, अरुण कावेली पावर, हाथवे, शिवम् सिमेन्ट, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र ङादी पावरको पनि सर्वाधिक कारोबार हुने दश कम्पनीभित्र समेटिएका छन् । शीर्ष स्थानमा रहेको सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड को यसदिन २८ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। त्यस्तै निफ्राको २३ करोड २६ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरको कारोबार रकम २१ करोड १३ लाख, हिमाल दोलखा हाइड्रोपावरको १७ करोड ६३ लाख र अपि पावरको १६ करोड४६ लाख माथिको सेयर कारोबार भएको हो । 

 

 

नेपाल स्टक एक्सचेन्जमा आज बुटवल पावर कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर, हिमालयन पावर पार्टनर, एनआरएन इन्फ्रान्सट्रक्चर एण्ड डेभलपमेन्ट र नेपाल वेयर हाउजिङ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, मुक्तिनाथ कृषि कम्पनी, मकर जितुमाया सुरी हाइड्रोपावर, दिब्यश्वरी हाइड्रोपावर, घलेम्दी हाइड्रोपावरको सेयर मूल्य पनि ९.९९ प्रतिशतले बढेको छ । अप्पर तामाकोशी हाईड्रोपावर, न्याग्दी ग्रुप पावर र हिमालयन रि इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ ।

यस दिन ज्योति विकास बैंक बन्ड २०८७को ९.९९ प्रतिशत, हिमालयन ८०–२० को ९.७० प्रतिशत, र १०% प्राइम डेबेन्चर २०८८ को सेयर मूल्यमा ५ प्रतिशत गिरावट आएको छ । त्यसैगरी आज, मिड सोलु हाइड्रोपावर, १२% आईसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८३, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी, ८.५% नेपाल इन्भेष्टमेन्ट बैंक डेबेन्चर २०८४, चिरख्वा हाइड्रोपावर, लक्ष्मी उन्नति कोष र अपर लोहोरे खोला हाइड्रोपावरको सेयर मूल्य पनि घटेको छ ।

मंगलबार कुल बजार पुँजीकरण ३४ खर्ब १६ अर्ब ४२ करोड ४१ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा ८५ अर्ब ६७ करोड ४१ लाख रुपैयाँले बजार पुँजीकरण बढेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।