रिद्धिसिद्धि सिमेन्टको आम्दानीमा गिरावट, वार्षिक साढे ५ अर्बको कारोबार

0
Shares

शङ्कर ग्रुप र अम्बे ग्रुपको संयुक्त लगानी रहेको रिद्धिसिद्धि सिमेन्टको आम्दानी आर्थिक वर्ष २०२३ मा घटेको छ । आर्थिक वर्ष २०२२ मा ६ अर्ब ४८ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीको आम्दानी आव २०२३ मा ५ अर्ब ४९ करोड १० लाखमा खुम्चिएको हो ।

कम्पनीको व्यापार ठूला १० ग्राहकहरुमा आधारित रहेको छ । व्यापार १० ठूला ग्राहकहरुमा केन्द्रीत हुँदा माग नभएको समयमा कम्पनीको आम्दानीमा गिरावट आउने गरेको छ । आव २०२३ मा मात्रै सिमेन्टको व्यापार १० प्रतिशतले घटेको कम्पनीले जनाएको छ ।

कम्पनीको सञ्चालन आम्दानीमा गिरावट आएता पनि ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको कम्पनीको नाफा भने बढेको छ । आव २०२२ मा कुल सञ्चालन आम्दानीको १८.०३ प्रतिशत थियो भने आव २०२३ मा उक्त नाफा बढेर २६.९२ प्रतिशत पुगेको हो ।

सन् २०१३ मा स्थापना भएको कम्पनीले सिमेन्ट र क्लिंकरको उत्पादन तथा बिक्री वितरण गर्र्दै आएको छ । कम्पनीले अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट (ओपिसि), पोर्टल्यान्ड स्ल्याग सिमेन्ट (पिएससी) र पोर्टल्यान्ड पोज्जोलना सिमेन्ट (पिपिसी)को उत्पादन गरी रिद्धिसिद्धि र मकवानपुर सिमेन्ट ब्रान्डनामबाट बिक्री वितरण गर्दै आएको छ । कम्पनीको क्लिंकर तथा ग्राइन्डिङ क्षमता प्रतिदिन २ हजार ७६० टन रहेको छ ।

कम्पनीले १० अर्ब ७७ करोड बराबरको कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले ८ अर्ब १२ करोड ८० लाख बराबरको दीर्घकालीन कर्जाका लागि ट्रिपल बी माइन्स र २ अर्ब ३४ करोड ६५ लाख बराबरको अल्पकालीन कर्जाका लागि ए३ रेटिङ गरेको छ ।

कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको १.३७ गुणा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।