मध्यपुर्व क्षेत्रमा चर्किएको द्धन्दको प्रभाव नेपाली सुन बजारमा, सुनलाई सुरक्षित लगानीको रुपमा लिइदा बढ्यो भाउ


यो साता विश्व बजारमा सुनको मुल्य बढेको छ । मध्य पुर्व क्षेत्रमा चर्किएको द्धन्दसँगै लगानीकर्ताहरुले सुनलाई सुरक्षित लगानीको क्षेत्रका रुपमा लिँदै यसतर्फ आकर्षण बढाए पछि सुनको मुल्य वृद्धिमा चाप परेको हो ।

नेपाली बजारमा साताको पहिलो दिन आइतबार प्रतितोला १ लाख १७ हजार ८०० रुपैयाँ रहेको सुनको मुल्य साताको अन्तिम कारोबार दिन अर्थात शुक्रबारसम्म आइपुग्दा १ लाख १८ हजारमा कारोबार भइरहेको छ ।

सुनको मूल्य एक साताको अवधिमा २०० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार तुलनामा  सोमबार सुनको मूल्य १७ सय रुपैयाँले बढेको थियो । सोमबार छापावाला सुनको भाउ १ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै मंगलबार १०० रुपैयाँले घटेर १ लाख १९ हजार ४०० रुपैयाँमा सिमित भएको सुनको मूल्य बुधबार पुन ः १२०० रुपैयाँले घटेर १ लाख १८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार ७०० रुपैयाँले घटेर १ लाख १७ हजार ५०० रुपैयाँ सिमित भएको सुन शुक्रबार ५०० रुपैयाँले बढेर १ लाख १८ हजार रुपैयाँ पुगेको हो ।

यता, यो साता नेपाली बजारमा चाँदीको मुल्य भने घटेको छ । साताको पहिलो दिन आइतबार प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँ रहेको चाँदीको मुल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार प्रतितोला १ हजार ३ सय ९५ कायम भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।