माथिल्लो तामाकोशीको लिलामी सेयरको कटअफ आइतबार मात्र निर्धारण हुने


हकप्रद निष्काशनका दौरान बिक्री नभएको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको लिलामी सेयरको बोलकबोल खुल्ला गर्न ३ दिन लाग्ने भएको छ । कम्पनीको सह निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालय कमलपोखरीमा शुक्रबार बिहानदेखि खोल्न थालिएको बोलकबोल आइतबार दिउँसो मात्र सकिने भएको हो ।

क्यापिटलका अनुसार शनिबार दिउँसो ३ बजेसम्ममा २० हजार वटा बोलकबोल खुल्ला गरिएको छ । शुक्रबार साँझ ७ बजेसम्म बोलकबोल खुल्ला गरिएकोमा शनिबार बिहान ८ बजेदेखि नै लिलामीको बोलकबोल खुल्न थालिएको थियो । ७ वटा काउण्टरमा बोलकबोल खोल्ने कायम भइरहेको क्यापिटलले जनाएको छ । आइतबार दिउँसोसम्ममा सबै बोलकबोल खोलिसके पछि कटअफ मूल्य निर्धारण हुने क्यापिटलले जनाएको छ ।

२० हजार वटा आवेदन खुल्ला गर्दा १७० रुपैयाँ मूल्य कबोल गर्ने आवेदकको संख्या धेरै देखिएको छ । एउटा आवेदनमा भने ४०० रुपैयाँ प्रतिकित्ताको दरमा १२५ कित्ता सेयर माग गरिएको छ । २०० रुपैयाँको दरमा १०० कित्ता सेयर पनि माग भएको छ । धेरै काउण्टरमा बोलकबोल खुल्ला गरिएका कारण तथ्यांकहरु साँझमा मात्र एकीकृत गर्ने काम भइरहेको जनाएको क्यापिटलले लिलामीमा धेरै आवेदन आएकाले आइतबार मात्र बोलकबोल खोलिसक्ने बताएको छ ।

शुक्रबार बिहानदेखि बोलकबोल खोल्न थालिएकोमा शुक्रबार दिउँसोसम्ममा ३ हजार हाराहारी बोलकबोलहरु खोलिएको थियो । क्यापिटलका अनुसार कम्पनीको लिलामी सेयरमा ३० हजार वटा आवेदन परेको छ । अझै १० हजार आवेदन खोल्न बाँकी रहेको क्यापिटलको भनाई छ । शनिबार साँझसम्ममा सबै आवेदन खोल्ने योजना बनाए पनि आइतबार मात्र अन्तिम नतिजा आउने भएको हो ।

सर्वसाधारणले नै २ अर्ब हाराहारीको सेयर आवेदन गरेकोमा लिलामीको अन्तिम दिनमा संस्थागत लगानीकर्ताले माथिल्लो मूल्यमा सेयर लिलामीमा आवेदन गरेका छन् । यता दोस्रो बजारमा बोलकबोल खोल्ने समय नजिकिएसँगै कम्पनीको सेयर मूल्य तिब्र गतिमा बढेको छ । यो अवस्थामा तल्लो मूल्यमा आवेदन दिएकाहरुले सेयर पाउने सम्भावना न्युन देखिएको छ ।

लिलामी समेतको हकप्रद सूचीकरण भए पश्चात दोस्रो बजारमा तामाकोशीको सेयरमा अधिक बिक्री चाप आउने देखिएको छ । उक्त समयमा कम्पनीको सेयर मूल्य प्रभावित हुन सक्छ । वित्तीय अवस्था कमजो भएका कारण कम्पनीको सेयर हकप्रद निष्काशनसँगै तल आएको थियो ।

कम्पनीले हकप्रद निष्काशनका दौरान बिक्री नभएको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर पुस १३ गतेदेखि लिलामीबाट बिक्री गरेको हो । उक्त हकप्रद र लिलामीको सेयर सूचीकृरण पश्चात कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँबाट २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले गत भदौ १८ देखि असोज २२ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । जसमध्ये सर्वसाधारण समूहलाई छुट्याईएको ५ करोड १८ लाख १९ हजार कित्ता सेयरमा ३ करोड ४८ लाख ७१ हजार ४७० कित्तामा मात्र आवेदन परेको थियो । सो अवधिमा बिक्री नभई बाँकी रहेको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर अहिले लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याइएको हो ।

मिनी आईपीओ बन्दै माथिल्लो तामाकोशीको लिलामी सेयर

माथिल्लो तामाकोशीको लिलामी सेयर ओभर सब्स्क्राइब्ड, संस्थागत लगानीकर्ताले कटअफ निर्धारण गर्ने

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।