माथिल्लो तामाकोशीको लिलामी सेयरको बोलकबोलको अन्तिम नतिजा केही बेरमा आउँदै


३० हजार भन्दा बढीले आवेदन दिएको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको लिलामी सेयरको अन्तिम नतिजा केहीबेरमा आउने भएको छ ।

हकप्रद निष्काशनका दौरान बिक्री नभएको कम्पनीको लिलामी सेयरको बोलकबोलमा अधिक आवेदन परेकाले बोलकबोल खोल्न ३ दिन लागेको हो ।

कम्पनीको सह निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालय कमलपोखरीमा शुक्रबार बिहानदेखि खोल्न थालिएको बोलकबोल आइतबार पुरा हुने भएको हो । क्यापिटलका अनुसार आइतबार दिउँसो १ बजेसम्ममा २७ हजार वटा आवेदनको बोलकबोल खोलिएको छ । अब ३ हजार आवेदनको बोलकबोल खोल्न बाँकी रहेको जनाउँदै क्यापिटलले केही घण्टामा उक्त बोलकबोल खोलिसक्ने जनाएको छ ।

शनिबार दिउँसो ३ बजेसम्ममा २० हजार वटा बोलकबोल खुल्ला गरिएको लिलामी सेयरको बोलकबोल आइतबार बिहान ८ बजेदेखि खोल्न थालिएको थियो । शुक्रबार साँझ ७ बजेसम्म बोलकबोल खुल्ला गरिएकोमा शनिबार पनि बिहान ८ बजेदेखि नै लिलामीको बोलकबोल खोल्न थालिएको थियो । ७ वटा काउण्टरमा बोलकबोल खोल्ने कायम भइरहेको क्यापिटलले जनाएको छ । ३ हजार वटा आवेदनको बोलकबोल खोल्ने काम पुरा भएपछि लिलामी सेयरको अन्तिम नतिजा सार्वजनिक हुनेछ ।

यता लगानीकर्तामा भने कति मूल्यसम्मको बोलकबोल दिनेले कम्पनीको सेयर पाउलान भन्ने कौतुहलता जागेको छ । मिनी आईपिओको संज्ञा पाएको कम्पनीको लिलामी सेयरमा दोस्रो बजारमा सेयर बिक्री गरेर आवेदन दिने, कर्जा लिएर तथा सर सापट गरेर आवेदन दिनेहरुको संख्या पनि उत्तिकै छ ।

२७ हजार वटा आवेदन खुल्ला गर्दा १७० रुपैयाँ मूल्य कबोल गर्ने आवेदकको संख्या धेरै देखिएको छ । ४०० रुपैयाँ प्रतिकित्ताको सेयर माग गर्ने पनि भेटिएका छन् भने आवेदन फारममा नै बोलकबोल वापतको नगद रकम राखेको पनि भेटिएको छ । २०० रुपैयाँको दरमा १०० कित्ता सेयर पनि माग भएको छ । धेरै काउण्टरमा बोलकबोल खुल्ला गरिएका कारण सबै तथ्यांकहरु बोलकबोल खुल्ला गरेपछि मात्र एकीकृत गरी अन्तिम नतिजा निकाल्ने क्यापिटलको तयारी छ ।

सर्वसाधारणले नै २ अर्ब हाराहारीको सेयर आवेदन गरेकोमा लिलामीको अन्तिम दिनमा संस्थागत लगानीकर्ताले माथिल्लो मूल्यमा सेयर लिलामीमा आवेदन गरेका थिए । यता दोस्रो बजारमा बोलकबोल खोल्ने समय नजिकिएसँगै कम्पनीको सेयर मूल्य तिब्र गतिमा बढे पनि त्यो स्थायी हुन सकेको छैन । आइतबार बजार अलमलमा परिरहेका बेला कम्पनीको प्रतिकित्ता सेयर मूल्य २२७ रुपैयाँसम्ममा झरेकोमा अहिले २४६ रुपैयाँमा किनबेच भईरहेको छ ।

लिलामी समेतको हकप्रद सूचीकरण भए पश्चात दोस्रो बजारमा तामाकोशीको सेयरमा अधिक बिक्री चाप आउने देखिएको छ । उक्त समयमा कम्पनीको सेयर मूल्य प्रभावित हुन सक्छ । वित्तीय अवस्था कमजोर भएका कारण कम्पनीको सेयर हकप्रद निष्काशनसँगै तल आएको थियो ।

कम्पनीले हकप्रद निष्काशनका दौरान बिक्री नभएको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर पुस १३ गतेदेखि २९ गतेसम्म लिलामीबाट बिक्री गरेको हो । उक्त हकप्रद र लिलामीको सेयर सूचीकृरण पश्चात कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँबाट २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले गत भदौ १८ देखि असोज २२ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । जसमध्ये सर्वसाधारण समूहलाई छुट्याईएको ५ करोड १८ लाख १९ हजार कित्ता सेयरमा ३ करोड ४८ लाख ७१ हजार ४७० कित्तामा मात्र आवेदन परेको थियो । सो अवधिमा बिक्री नभई बाँकी रहेको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर अहिले लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याइएको हो ।

मिनी आईपीओ बन्दै माथिल्लो तामाकोशीको लिलामी सेयर

माथिल्लो तामाकोशीको लिलामी सेयर ओभर सब्स्क्राइब्ड, संस्थागत लगानीकर्ताले कटअफ निर्धारण गर्ने

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।