सेयर बजार २ हजारको लाइनमा ओर्लियो, कारोबार रकममा पनि संकुचन


वाणिज्य बैंकहरुको खराब अवस्थाको वित्तीय विबरण सार्वजनिक भएसँगै तिब्र गतिमा ओरालाग्न थालेको सेयर बजार सोमबार पनि भारी अंकले घटेको छ । बजारमा ठुलो हिस्सा ओगटेको वाणिज्य बैंक समुहमा गिरावट आएसँगै अन्य सूचकमा पनि त्यसको दवाब पर्दा बजार तिब्र गतिमा घटेको हो ।

बजारमा आएको गिरावटसँगै कारोबार रकम पनि संकुचित भएको छ । सोमबार बजार परिसुचक नेप्से ३१.४९ अंकले घटेसँगै नेप्से परिसुचक २१०० विन्दुबाट तल झरेर २००० को लाइनमा ओर्लिएको हो । सोमबारको गिरावटसँगै नेप्से २०९८.६९ अंकमा ओर्लिएको हो ।

बजार ओरालो लाग्दै गर्दा सोमबार ६ अर्ब ३६ करोड ६० लाख ७० हजार रुपैयाँको सेयर किनबेच भएको छ । आइतबार ७ अर्ब ६७ करोड ७७ लाख रुपैयाँको सेयर किनबेच भएको थियो । आइतबारको तुलनामा सोमबार कारोबार रकम १ अर्ब ३० करोड रुपैयाँले घटेको हो ।

२०९१ विन्दुसम्म ओलिएर अन्तिम समयमा ७ अंकको सुधार हुँदा १५ मिनेटमा नै झण्डै ४० करोड रुपैयाँको सेयर कारोबार भएको छ । कुल ३०७ कम्पनीका १ करोड ८० लाख ४३ हजार २४४ कित्ता सेयरहरु १५० हजार ५४३ पटक किनबेच भएका छन् ।

ठुला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स ४.८४ अंकले घटेर ३८१.३६ अंकमा अडिएको छ । आइतबार यो इण्डेक्स ७.४१ अंकले घटेको थियो । सेन्सेटिभ फ्लोट १.७४ अंकले घटेर १२५.७५ अंकमा ओलिएको छ । आइतबार यो इण्डेक्स २.७५ अंकले घटेको थियो । समग्र फ्लोट इण्डेक्स २.२० अंकले घटेर १४४.०१ अंकमा आइपुगेको छ । आइतबार यस्तो इण्डेक्स २.०४ अंकले घटेर १४६.२२ अंकमा ओर्लिएको थियो ।

आइतबार व्यापार समुहमा मात्र केही सुधार देखिएको बजारमा सबै उपसमुहमा भारी गिरावट देखिएको छ । निर्जीवन बीमा समुहमा आइतबार १३७.२६ अंकको गिरावट आएको बजारमा जीवन बीमा ८१.०५, लघुवित्त ७६.४२, उत्पादनमा ७८, जलविद्युतमा ६० अंकको गिरावट आएको छ ।

अपर स्याङ्गे हाइड्रो र मिड सोलुको सेयर मूल्य १० प्रतिशतले बढेको बजारमा आशा लघुवित्त, ङादी पावर, मैलुङ खोला, जोशी हाइड्रो, सन नेपाल लाइफ लगायत कम्पनीको सेयर मूल्य बढेको छ । आइतबार सेयर मूल्य बढ्ने कम्पनीको संख्या ३६ छ ।

दोर्दीखोला जलविद्युत, हिमालयन लघुवित्त, लिबर्टी इनर्जी, रिडी पावर, मकर जितुमाया हाइड्रो लगायत कम्पनीको सेयर मूल्य धेरै घटेको छ । सोमबार २०९ कम्पनीहरुको सेयर मूल्य घटेको छ । २ कम्पनीको सेयर मूल्य स्थिर रहेको बजारमा कारोबार रकम, कारोबार संख्या र कारोबार भएको सेयरका आधारमा पहिलो स्थानमा हिमालयन रि इन्स्योरेन्स परेको छ । यस दौरान हिमालयन रि को ११ लाख ९६ हजार ३५५ कित्ता सेयर ३६ हजार ३५३ पटक किनबेच हुँदा ७८ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

बजारमा आएको भारी गिरावटसँगै समग्र बजार पुँजीकरण एकै दिन झण्डै ५० अर्बले घटेको छ । आइतबार ३३ खर्ब ४५ अर्ब ७६ करोड ५६ लाख ५५ हजार ५०२ रुपैयाँ रहेको बजार पुँजीकरण सोमबार ३२ खर्ब ९६ अर्ब ३० करोड ३४ लाख ७७ हजार ९२५ रुपैयाँ कायम भएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।