कर्णालीमा ६ महिनामा ७१ करोड बढीको कृषि वस्तु आयात

0
Shares

कर्णालीमा ठूलो परिणाममा कृषि वस्तु आयात हुने गरेको पाइएको छ । कर्णाली प्रदेशबाट करिब ११ करोडको कृषि वस्तु निर्यात हुँदा ७१ करोडभन्दा धेरैको आयात हुने गरेको पाइएको हो । 
 
कर्णाली प्रदेश कृषि विकास निर्देशनालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि पुस मसान्तसम्म  १० करोड ८१ लाख ५७ हजारको कृषि वस्तु निर्यात हुँदा ७१ करोड ७५ लाख ३० हजारको कृषि वस्तु आयात भएको हो । कर्णालीमा सबैभन्दा धेरै तरकारी आयात भएको छ । चालु वर्षको ६ महिनामा मात्रै कर्णालीमा २१ करोड ४९ लाख ५६ हजारको तरकारी आयात हुँदा ९४ लाख ५० हजारको मात्रै तरकारी निर्यात भएको छ । 
 
दैलेख, जाजरकोट, मुगु, सल्यान, कालीकोट र सुर्खेतबाट तरकारी प्रदेशबाहिर नीकासी हुने गरेको छभने दाङ, धादिङ र भारतबाट आयात हुने गरेको छ । प्रदेशमा तीन करोड १३ लाख १० हजारको खाद्यान्न वस्तु आयात हुँदा कर्णालीबाट ४४ लाख १६ हजारको निर्यात हुने गरेको छ । 
 
आलु नौ करोड ९९ लाख दुई हजारको आयात भएको छ । कर्णालीबाट २८ लाख २४ हजारको आलु निर्यात भएको छ । फलफूल ३५ करोड ५८ लाख ९४ हजारको फलफूल आयात हुँदा नौ करोड ७४ लाख छ हजारको निर्यात भएको छ ।
 
त्यसैगरी, मसला बाली दुई करोड १३ लाख २९ हजार, च्याउ २० लाख २९ हजार र अन्य १० लाख १९ हजारको आयात भएको छ । कर्णालीबाट मसलाबाली छ लाख ८२ हजार, च्याउ रु पाँच हजार र अन्य ३३ हजारको निर्यात भएको कृषि निर्देशनालय निमित्त निर्देशक चित्रबहादुर रोकायले जानकारी दिए। 
 
निमित्त निर्देशक रोकायका अनुसार कर्णालीमा चालु आवको छ महिनामा दश हजार मेट्रिकटनभन्दा धेरै कृषि वस्तु आयात भएको छ । त्यसमा खाद्यान्नबाली ५५ दशमलव दुई मेट्रिकटन चालु आवको छ महिनामा निर्यात भएको छ । त्यसैगरी, तरकारी तीन सय १५ दशमलव तीन मेट्रिकटन र आलु एक सय ४१ मेट्रिकटन निर्यात भएको उनको भनाइ छ । 
 
कर्णालीबाट सबैभन्दा धेरै फलफूल निर्यात भएको छ । फलफूल करिब एक हजार तीन सय ९६ दशमलव एक मेट्रिकटन निर्यात भएको जनाइएको छ । त्यसैगरी, मसलाबाली १० दशमलव पाँच मेट्रिकटन, च्याउ शून्य दशमलव तीन मेट्रिकटन र अन्य शून्य दशमलव छ मेट्रिकटन निर्यात भएको निर्देशक रोकायले बताए। उनका अनुसार कर्णालीमा अधिकांश कृषि वस्तु भारतबाट आयात हुने गरेका छन् । त्यसपछि दाङ, धादिङ, बाँके र चितवनबाट समेत आयात हुने गरेको छ । 
 
कर्णालीका पाँच जिल्लामा उत्पादन भएको वस्तुको निर्यात धेरै हुने गरेको छ । सरकारले भने उत्पादनमुखी कार्यक्रम ल्याएर प्रदेशलाई आत्मनिर्भर बनाउने दाबी गर्दै आएको छ । प्रदेशमा कृषि क्षेत्रमा वार्षिक अर्र्बौ बजेट विनियोजन हुने गरे पनि परिणामुखी भने हुन नसकेको कृषि विज्ञले बताएका छन्। -रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।