ग्लोबल आईएमई बैंकको शेयर कारोबार आगामी सातादेखि खुल्ने, ७ करोड कित्ता शेयर सूचीकृत


ग्लोबल आईएमई बैंकमा मर्ज भए पछि साविकको जनता बैंकको शेयर ग्लोबल आईएमई बैंकको नामबाट नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । ग्लोबलको एक सय बराबर जनताको ८५ कित्ताको दरमा शेयर स्वाप भए अनुसार नेप्सेमा बुधबार ग्लोबल आईएमईको ७ करोड २० लाख ८७ हजार ८१.१८ कित्ता शेयर सूचीकृत भएको हो ।

ग्लोबल आईएमई बैंकले नोटबजारलाई दिएको जानकारी अनुसार आगामी आइतबारदेखि मंगलबारसम्ममा बैंकको शेयर कारोबार सुचारु हुनेछ । नेप्सेले पनि मंगलबारसम्ममा ग्लोबल आईएमई बैैंकको शेयर कारोबार सुचारु हुने जानकारी दिएको छ ।

मर्जर पछि ग्लोबल आईएमई बैंकको चुक्ता पूँजी १८ अर्ब ९७ करोड ५८ लाख ७९ हजार ९ सय रुपैंया पुगेको छ । योसँगै नेपाल स्टक एक्सचेञ्जमा वाणिज्य बैंकबाट सबैभन्दा धेरै संख्यामा शेयर सूचीकरण गराउने बैंक ग्लोबल आईएमई भएको छ ।

ग्लोबल आईएमई बैंकको मर्जर पछि शेयर कारोबार खुलाउन ओपनिङ रेञ्ज निर्धारण, ग्लोलब आईएमई तथा जनता बैंकले गत आर्थिक वर्षको कमाईबाट बितरण गरेको बोनस तथा शेयर स्वाप अनुपात अनुसार शेयर मूल्य समायोजन लगायतका काम बिहीबार सम्पन्न नहुने बताइएको छ । उल्लेखित प्रकृया पुरा गराएर ढिलोमा मंगलबारसम्ममा शेयर कारोबार खुल्ने भएको छ ।

मंसिर २ गते सम्पन्न ग्लोबलले साधारण सभाले गत आर्थिक वर्ष ०७५र७६ को मुनाफाबाट १२.७५ प्रतिशत र जनताले ६ प्रतिशत बोनस पारित गरिसकेका छन् ।

दुई बैंकले गत असार २० गते मर्जरका लागि प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । सोही दिनदेखि दुई बैंकको शेयर कारोबार रोक्का भएको थियो ।