लगातार छैठौं दिनसम्म ओरालो लाग्यो नेप्से, कारोबार पनि खस्कियो

0
Shares

माघ महिनाको पहिलो कारोबार दिन उच्च अंकले बढेको सेयर बजार त्यसपछिका ६ कारोबार दिनमा लगातार गिरावट आएको छ । नेप्से सूचक ओरालो लाग्दै गर्दा कारोबार रकममा समेत दैनिक गिरावट देखिएको छ ।

बैंकहरुले घटाएर नयाँ ब्याजदर सार्वजनिक गरेपछि माघ २ गते नेप्से सूचक साढे ५४ अंकले बढेको थियो । त्यस दिन झण्डै ८ अर्ब बराबरको कारोबार भएको थियो। त्यसपछिका दिनहरुमा नेप्से सूचक तथा कारोबार रकममा निरन्तर गिरावट आएको छ ।

माघ ४ गते विहीबार १२.१० अंकले घटेको बजारमा ९ अर्ब ६७ करोड बराबरको सेयर किनबेच भएको थियो । सो दिनदेखि लगातार छैठौं कारोबार दिनसम्म आइपुग्दा नेप्से सूचक तथा कारोबार रकममा निरन्तर गिरावट आएको छ । माघ १० गते बुधबारसम्म आइपुग्दा नेप्से सूचक ८७ अंक तल झरिसकेको छ ।

आज बुधबार नेप्से सूचक १०.२५ अंकले ओरालो लागेर २०८८.०४ बिन्दुमा झरेको छ। । यसदिन ३ अर्ब ८९ करोड बराबरको सेयर किनबेच भयो । नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ४ अर्बभन्दा बढीको खरिदबिक्री भएको थियो ।

१३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक ०.०९ प्रतिशत र म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.१४ प्रतिशत बढेको हो । कारोबारमा आएको जलविद्युत, लगानी र व्यापार उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ ।

यस दिन चन्द्रागिरी हिल्स र मिड सोलु हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । तेह्रथुम पावर कम्पनीको नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कारोबार रकमका आधारमा यस दिन पनि हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन २५ करोड १५ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।