बैंकहरुको कर्जा प्रवाह पहिलो त्रैमासको तुलनामा दोेस्रोमा आधा घट्यो, मुनाफा वृद्धिदरमा असर पुग्ने

0
Shares

वाणिज्य बैंकहरुको कर्जा प्रवाह चालु आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासमा आधाले घटेको छ। चालु आवको पहिलो तीन महिनामा एक खर्ब ३१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका वाणिज्य बैंकहरुले दोस्रो त्रैमासमा ६६ अर्बले मात्र कर्जा लगानी बढाएका छन्।

असोज अन्तिम साता २६ खर्ब २९ अर्ब रहेको बैंकहरुको कर्जा लगानी पुस अन्तिम साता आइपुग्दा ६६ अर्ब (२.५१) ले बढेर २६ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको हो। यसअघि असार अन्तिम साता २४ खर्ब ९८ अर्ब रहेको बैंकहरुको कर्जा प्रवाह असोज मसान्तमा १ खर्ब ३१ अर्ब (५.२४ प्रतिशत) ले बढेर २६ खर्ब २९ अर्ब रुपैयाँ पुगेको थियो।

प्रथम त्रैमासमा विदेशी मुद्रामा ८ अर्बले निक्षेप र ७ अर्बले कर्जा प्रवाह बढाएका बैंकहरुको दोस्रो त्रैमासमा निक्षेप तथा कर्जा लगानी दुबैमा स्थीर रहेको छ।

राष्ट्र बैंकले लागू गरेको एनएफआरएस प्रणाली अनुरुपको व्यवस्था अनुसार जुन अवधिका लागि कर्जा प्रवाह गरिएको हो सो ऋणको ब्याज आम्दानी जुन त्रैमासमा प्रवाह गरिएको हो सोही त्रैमासमा लेखाङ्कन गर्नुपर्ने भएकाले बैंकको मुनाफामा त्यसको असर देखिने भएको छ। जसले बैंकको मुनाफा वृद्धिदरमा संकुचन आउनसक्ने देखिन्छ।

ऋण लगानी रकम कम भएसँगै बैंकहरुको मुख्य आयस्रोत ब्याज आम्दानी घट्न पुग्छ। उता नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको स्प्रेडदर (निक्षेप र कर्जा लगानीको अन्तर) घटाएकाले पनि त्यसको असर बैंकहरुको मुनाफामा पर्ने गर्दछ।

 सरकारको नीति अनुसार वाणिज्य बैंकहरुले प्रत्येक स्थानीय तहमा शाखा स्थापना गर्नुपर्ने व्यवस्था अनुसार ७५३ मध्ये मंसिरसम्ममा ७४३ स्थानमा वाणिज्य बैंकहरुले शाखा विस्तार गरिसकेका छन्। यी मध्ये धेरै स्थानको शाखा अहिले पनि घाटामा सञ्चालन भैरहेका छन्।

बैंकहरुको कर्मचारी र प्रशासनिक खर्च घट्ने अवस्था छैन बरु बढ्दो क्रममा रहेको छ। जसको सोझो असर बैंकहरुको मुनाफामा देखिन्छ।
ऋण लगानी मात्र हैन यस अवधिमा वाणिज्य बैंकको निक्षेप संकलन पनि घटेको छ । चालु आवको पहिलो त्रैमासमा ९५ अर्बले निक्षेप संकलन बढाएका बैंकहरुले निक्षेप संकलन दोस्रो त्रैमासमा ६३ अर्ब रुपैयाँले मात्र बढेको छ।

असोज अन्तिम साता २९ खर्ब ७३ अर्ब निक्षेप रहेको बैंकहरुको निक्षेप पुस अन्तिम साता आइपुग्दा ६३ अर्ब (२.१२ प्रतिशत) ले बढेर ३० खर्ब ३६ अर्ब रुपैयाँ पुगेको हो। यसअघि असार अन्तिम साता २८ खर्ब ७८ अर्ब रहेको बैंकहरुको निक्षेप ९५ अर्ब (३.३० प्रतिशत) ले बढेर २९ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको थियो।

चालु आवको ६ महिना अवधिलाई हेर्ने हो भने बैंकहरुको कूल कर्जा लगानी १ खर्ब ९७ अर्ब रुपैयाँ (७.८८ प्रतिशत) ले बढ्दा निक्षेप संकलन १ खर्ब ५८ अर्ब रुपैयाँ (५.४९ प्रतिशत) ले बढेको छ । दोस्रो त्रैमासलाई मात्रै हेर्ने हो भने कर्जा लगानी र निक्षेप संकलनको अन्तर साँघुरिएको छ । पहिलो त्रैमासमा ३६ अर्ब अन्तर रहेकोमा दोस्रो त्रैमासमा यस्तो अन्तर ३ अर्बमा खुम्चिएको छ।

राष्ट्र बैंकको खासगरि नीतिगत सुधारको असर बैंकहरुको मुनाफामा देखिएको छ । स्पेडदरमा कडाई, कर कार्यालय र बैंकमा पेश गर्नुपर्ने वासलात एउटै हुनेपर्ने व्यवस्था, घर, गाडी कर्जामा आम्दानीको ५० प्रतिशत मात्र प्रवाह गर्नुपर्ने, व्यक्तिगत कर्जामा कडाई, काउन्टर साइक्लिक बफर अनुसार पुँजी कोष कायम गर्नुपर्ने विविध कारणहरुले बैंकहरुको मुनाफामा असर पुगेको हो।

विगतका वर्षहरुमा बैंकहरुमा तरलता अभाव रहने गरेकोमा हाल तरलता व्यवस्थापन सहज हुँदा शेयर बजारमा सकारात्मक प्रभाव पारेपनि त्यसको असर बैंकहरुको मुनाफा वृद्धिदरमा भने देखिने भएको छ।