रिलायन्स स्पिनिङको आईपीओमा अधिकतम रेञ्जमा कटअफ, सर्वसाधारणमा कतिमा खुल्ला ?

0
Shares

रिलायन्स स्पिनिङ मिल्सले योग्य संस्थागत लगानीकर्तालाई निष्काशन गरेको सेयरमा अधिकतम रेञ्जमा कटअफ कायम भएको छ । अधिकतम मूल्यमा आवेदन दिने योग्य संस्थागत लगानीकर्ताको सङ्ख्या धेरै भएपछि माथिल्लो बिन्दुमा कटअफ निर्धारण हुन पुगेको हो।

बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार यस निष्काशनमा कुल ६४ ओटा आवेदन परेको थियो । जसमा १८ वटा संस्थाले ९१२ रुपैयाँमा सेयर खरिदाको लागि आवेदन दिए । धेरै कित्ता सेयरको माग ९१२ मा परेकाले कटअफ मूल्य पनि सोही मूल्यमा नै कायम भएको हो ।

कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई प्रतिसेयर न्यूनतम ६०८ देखि अधिकतम ९१२ रुपैयाँसम्मको मूल्य सीमा (रेञ्ज) तोकेको थियो । यससीमाको बीचमा रहेर योग्य संस्थागत लगानीकर्ताले आवेदन दिन सक्ने व्यवस्था थियो । कम्पनीले माघ १० देखि १४ गतेसम्म बोलकबोल खुला गरेको थियो ।

आज नेप्सेको कार्यालयमा सोमबार योग्य संस्थागत लगानीकर्ताले सेयर खरिदका लागि दिएका शिलबन्दी बोलपत्रको आवेदनहरु खोलिएको हो । बिक्री प्रबन्धकका अनुसार ९१२ मा आवेदन दिनेले पनि समानुपातिक रुपमा मात्र सेयर पाउने छन् । ९१२ मा आवेदन दिनेले कुल आवेदनको ६५.७२ प्रतिशत शेयर मात्र पाउने भएका हुन् ।कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई ७ लाख ७० हजार ६४० कित्ता सेयर निष्काशन गरेको थियो। सर्वसाधारणलाई निष्काशन गरिने सेयरको ४० प्रतिशत योग्य संस्थागत लगानीकर्तालाई छुट्याउनुपर्ने प्रावधान छ । सोहि अनुसार कम्पनीले पहिलो चरणमा आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि कुल १९ लाख २६ हजार ६०० कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

सर्वसाधारण लगानीकर्तालाई भने संस्थागत लगानीकर्तालाई जारी भई कायम कट अफ मूल्यमा १० प्रतिशत छुट दिई धितोपत्र निष्काशन हुनेछ । यससँगै सर्वसाधारणलाई कम्पनीको सेयर प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसामा जारी हुनेछ ।

जारी पुँजी एक अर्ब ७८ करोड ४४ लाख ४ हजार रुपैयाँ रहेको रिलायन्स स्पिनिङले १०.१४ प्रतिशतले हुन आउने कूल २६ लाख ९७ हजार २४० कित्ता आईपीओ सार्वजनिक निष्काशन गर्नेछ । कम्पनीमा ८९.८६ प्रतिशत बराबरको एक अर्ब ७० करोड ७३ लाख ४० हजार रुपैयाँ संस्थापक लगानी छ ।

सुनसरीको दुहबी र खनारमा औद्योगिक कारखाना रहेको रिलायन्स स्पिनिङ मिल्सका कार्यकारी अध्यक्ष तथा प्रबन्ध सञ्चालकमा पवन गोल्यान छन् । उनी गोल्यान ग्रुपका अध्यक्ष समेत हुन् । यस्तै कम्पनीमा शशिकान्त अग्रवाल सञ्चालक छन् । कम्पनीले अन्तर्राष्ट्रिय गुणस्तरको पोलिस्टर, भिसकोस, एक्रिलिक यार्न लगायत सिउने धागोहरु विभिन्न ब्लेन्डमा उत्पादन गर्दै आएको छ । कम्पनीले आफ्ना उत्पादन टर्की र भारतमा निर्यात गर्दै आएको छ । सन् २०५१ सालदेखि सञ्चालनमा रहेको कम्पनीले हाल ४३ सय बढीलाई रोजगारी दिएको छ ।

रिलायन्स स्पिनिङ मिल्स बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्ने दोस्रो कम्पनी बनेको छ । यसअघि पहिलो कम्पनी रूपमा सर्वोत्तम सिमेन्ट बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्न अनुमति पाएर वैदेशिक राेजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ जारी समेत गरिसकेकाे छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।