बीमा पोलिसी सरेण्डर ह्वात्तै बढ्यो, पुससम्ममा साढे ६ अर्बका ५३ हजार बढी बीमालेख समर्पण

0
Shares

मुलुकमा आर्थिक अवस्था सुस्त बन्दा त्यसको प्रत्यक्ष असर बीमा क्षेत्रमा परेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा आर्थिक वर्ष २०८०–८१ को दोस्रो त्रैमाससम्ममा बीमालेख समर्पण साढे २१ प्रतिशतले बढेको हो।

प्राधिकरणको तथ्याङ्क अनुसार पुस मसान्तसम्म सञ्चालनमा रहेका चौध जीवन बीमक कम्पनीमा ५३ हजार ११३ जनाले बीमालेख त्यागेका छन् । यो अघिल्लो आवको सोही अवधिको तुलनामा २१.५१ प्रतिशत (अर्थात ९ हजार ४०३ ओटा) बढी हो । आव २०७९–८० को अर्धवार्षिक अवधिमा ४३ हजार ७१० ओटा बीमालेख सरेन्डर भएका थिए ।

नेपाल बीमा प्राधिकरणले साविकको दुई वर्षलाई बढाएर तीन वर्षमा मात्र पोलेसी सरेन्डर गर्न पाउने व्यवस्था गरेको छ । बीमालेखसम्बन्धी निर्देशिका–२०७८ जारी गर्दै बीमालेख समर्पणमा नयाँ व्यवस्था गरेको थियो । जसमा बीमालेख खरिद गरेको एक वर्षमा नै समर्पण गर्न पाउने व्यवस्थालाई बढाएर तीन वर्ष पुयाइएको थियो। सो व्यवस्थापछि पनि बीमालेख समर्पण गर्नेको संख्या भने बढ्दै गएको हो ।

प्राधिकरणका अनुसार पुससम्ममा ५३ हजार ११३ व्यक्तिहरुले ६ अर्ब ५४ करोड ८८ लाख रुपैयाँ बराबरको बीमा पोलिसीलाई निरन्तरता दिन नसकेका हुन् । रुस युक्रेन युद्ध र यूवापुस्तामा राजनैतिक नेतृत्वप्रति विश्वकासको कमीका कारण देश छाड्ने युवाहरुको संख्या ६ महीनामा नै ३ लाख बढी नाघेको छ । क्रियाशिल जनशक्तिले देश छाड्दा पनि बीमा व्यवसायमा परेको छ । राष्ट्र बैंकले सहज कर्जामा कडाएै गरेपछि उत्पादनमुलक क्षेत्रमा कर्जा लगानीको लागि स्रोत सुनिश्चितता भएपनि उद्यमीहरुमा कर्जा लिएर लगानी बढाउने अवस्था देखिँदैन ।

अर्कोतर्फ उपभोक्ताको क्रयशक्तिमा आएको कमीको कारण पनि बीमालेख सर्मपणमा बढोत्तरी भएको हो । जनताले आधारभूत आवश्यकता पूरा भएपछि बचत भएको रकमबाट बीमा गर्ने हुँदा अहिले सर्वसाधारणमा दैनिक आवश्यकता टार्न नै धौधौ पर्ने अवस्था र्सजना भएकाले पनि बीमालेख त्याग (सरेन्डर) दर बढेको बढेको हो ।

देशमा उत्पन्न भएको आर्थिक संकट र बीमा अभिकर्ताले बीमालेख बिक्री गर्दा बीमितलाई राम्रोसँग बुझाउन नसक्दा पोलिसी सरेण्डरको मात्रा बढेको जानकारहरु बताउँछन् । सरकारले कोरोना, कृषि तथा पशुपन्छि बीमालेखको दाबी भुक्तानीमा अनुदान वापत रकम निकासा नगर्दा बीमकहरुले बीमितलाई दिने दाबी भुक्तानीमा ढिलाई गरेका छन् । यसले बीमा कम्पनीहरुले दाबी भुक्तानी दिँदैनन् भन्ने आम बुझाईका कारण पनि विश्वास घट्दा सरेण्डर बढ्न सघाउ पुगेको हुनसक्ने देखिन्छ । साथै पछिल्लो समय बीमा क्षेत्रमा देखिएको अस्वस्थ गतिविधी र प्रतिष्पर्धाका कारण पनि बीमा पोलिसी सरेण्डरको दर बढ्दै आएको छ । बीमा अभिकर्ताले बीमालेख बिक्री गर्दा बीमितलाई राम्रोसँग बुझाउन नसक्दा पोलिसी सरेण्डरको मात्रा बढ्ने गरेका छन् ।

यसबाहेक अभिकर्ताहरूले एकातिर सरेण्डर गराएर अर्कोतिर बीमा गराउने प्रवृत्ति पनि छ । पछिल्लो समय बीमा कम्पनीहरुले पहिलोको भन्दा बोनसदर घटाएर कम दिन थालेका छन् । यसले पनि एक कम्पनीबाट सरेण्डर गरेर बोनसदर बढी भएको कम्पनीमा गएको हुनसक्ने देखिन्छ । बीमामा भन्दा अन्य क्षेत्रमा फाइदा देख्दा पनि समर्पण बढ्ने गरेको जानकारहरु बताउँछन् ।

प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले अर्थतन्त्रमा सुस्तता आएकै कारण पछिल्लो समय बीमा पोलिसी सरेण्डर गर्नेहरूको संख्या बढेको बताए । बजारमा सुस्तता आएको समयमा अन्य विकल्पबाट रकम झिक्न नपाउँदा तथा बैंकमा ब्याज तिरेर ऋण लिनुभन्दा बीमा पोलिसी त्याग गरेरै भए पनि पैसा चलाउने चाहना बीमितहरूले राख्दा तथ्याङ्कमा वृद्धि भएको उनको बुझाई छ । बीमा पोलिसी सरेण्डरलाई कम गर्न कम्पनीहरू पनि सचेत हुनुपर्नेमा उनले जोड दिए ।

निर्देशक पौडेलले भने, “केही व्यक्तिहरुले प्लान सरेण्डर गरेको हो कि भनेर प्राधिकरणले हरेर रोकेको अवस्था पनि छ । पहिला पहिला ठू–ठूला सरेण्डर हुने गरेकोमा त्यसलाई बढाएर तीन वर्ष अवधि कायम गरेपछि अहिले स–साना सरेण्डरको सङ्ख्या बढी देखिएका छन् । तीन वर्षे व्यवस्थाले त्यस्तो प्रवृत्तिलाई केही रोके पनि पूर्ण रुपमा रोक्न नसक्दा तथ्यांक बढेको हो । तर धेरैले पैसा आवश्यक पर्दा पोलिसी त्याग गरेको देखिन्छ ।”

नेपाल लाइफको सर्वाधिक पोलिसी सरेण्डर, अन्यको कति ?

नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार पुस महीनासम्ममा ५३ हजार ११३ जनाले बीमलेख त्यागेका छन् । त्यसमा नेपाल लाइफमा मात्रै १५ हजार ४७ जनाले पोलिसी समर्पण गरेका छन् । यो कुल सर्मपणको २८.३३ प्रतिशत बराबर हो । पुससम्ममा नेपाल लाइफमा २ अर्ब ३४ करोड ५९ लाख ८७ हजार रुपैयाँको पोलेसी सरेण्डर भएका हुन् ।

नेपाल लाइफपछि लाइफ इन्स्योरेन्स कर्पोरेस नेपाल–(एलआइसी) मा १० हजार १२४ जना (१९.०६%) बीमितहरुले १ अर्ब ३९ करोड ९० लाख ३१ हजार रुपैयाँ बराबरको पोलिसी सरेण्डर गरेका छन् । त्यस्तै, चालु आर्थिक वर्षको पुस महिनासम्ममा राष्ट्रिय बीमा संस्थानको ६ हजार ६०८ जना (१२.४४%) बीमितहरुले ५८ करोड ८६ लाख २२ हजार रुपैयाँ तथा नेशनल लाइफको ३ हजार ३७ जना (५.७२%) बीमितहरुले ४३ करोड २३ लाख ५० हजार रुपैयाँको पोलिसी समर्पण गरेका छन् । पुराना र ठूला कम्पनीमा पोलेसी सरेण्डरको दर पनि उच्च देखिएको छ ।

पुससम्ममा हिमालयन लाइफ इन्स्योरेन्सका ४ हजार ६१५ जना बीमितहरुले ४३ करोड २१ लाख ५१ हजार रुपैयाँको पोलिसी सरेन्डर भएका छन् । साथै एशियन लाइफका ४ हजार ९०० जना बीमितहरुले ४२ करोड ३१ लाख ३८ हजार रुपैयाँ बराबरको पोलिसी त्याग्दा सूर्यज्योति लाइफ इन्स्योरेन्सका पनि २ हजार ५२८ जना बीमितहरुले ३७ करोड ५४ लाख ६२ हजार रुपैयाँ बराबरको पोलिसी समर्पण गरेको तथ्याङ्क छ ।

यस्तै पुससम्ममा मेट लाइफका २ हजार ५६ ओटा पोलिसी समर्पण भएका छन् । कम्पनीमा बीमितहरुले १९ करोड ९७ लाख ४१ हजार रुपैयाँ बराबरको पोलिसी त्याग भएको हो । साथै सानिमा रिलायन्स लाइफका ८७५ जना बीमितहरुले ८ करोड ८९ लाख ६० हजार रुपैयाँ, सिटिजन लाइफका १ हजार ९२ जना बीमितहरुले ६ करोड ९३ लाख २६ हजार रुपैयाँ र आइएमई लाइफ इन्स्योरेन्सका ६५४ जना बीमितहरुले ५ करोड ८७ लाख ९८ हजार रुपैयाँ बराबरको पोलिसी समर्पण गरेको प्राधिकरणको तथ्याङ्क छ ।

चालु आवको ६ महीना अवधिमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्समा ४९० जना बीमितहरुले ५ करोड ९१ लाख ९३ हजार रुपैयाँ, रिलायबल नेपाल लाइफका ७८० जना बीमितले ४ करोड ४९ लाख ९३ हजार रुपैयाँ र सन् नेपाल लाइफमा सबैभन्दा कम ३०७ जना बीमितहरुले ३ करोड ११ लाख ३७ हजार रुपैयाँ बराबरको पोलिसी त्याग गरेका हुन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।