सम्पति शुद्धीकरणको जोखिम घटाउन गोएएमएल : राष्ट्र बैंक


नेपाल राष्ट्र बैंकले सम्पति शुद्धीकरणको जोखिम घटाउनका लागि गोएएमएल प्रणाली कार्यान्वायनमा ल्याइएको बताएको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै केन्द्रिय बैंकले गोएएमएल प्रणाली पूर्ण रुपमा कार्यान्वायनमा आएको समेत जनाएको छ । राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन अनुसार २०७६ माघ एक गते बुधबारदेखि वाणिज्य बैंकहरुमा विद्युतीय माध्यमबाट मात्र प्रतिबेदन पेश हुने गोएएमएल प्रणाली कार्यान्वयनमा आएको हो ।

वाणिज्य बैंकहरुमा सीमाभन्दा धेरै तथा शंकास्पद कारोबार भएमा त्यसको विवरण गोएएमएलको माध्यमबाट मात्रै वित्तीय जानकारी इकाईमा पेश गर्ने गरी व्यवस्था मिलाएर कार्यान्वायनमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ ।

गोएएमएलले सम्पति शुद्धीकरण र आतंककारी क्रियाकलापमा वित्तीय लगानी निरुत्साहित गर्ने बताएको राष्ट्र बैंकले नियामक निकाय, बैंक तथा वित्तीय संस्था र सेवाग्राहीलाई यो प्रणाली उपयोगी र सहज हुने विश्वास लिएको छ ।

राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७७/७८ देखि सबै बैंक तथा वित्तिय संस्थामा गो एएमएल अनिवार्य लागु गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ । हाल ५० मुलुकमा गोएएमएल कार्यान्वयनमा आईसकेको छ भने ६० मुलुकहरु कार्यान्वयनको चरणमा रहेका छन् ।