पाँच सय बढी मानिसहरुको रोजगार कटौती गर्दै स्नापच्याट

0
Shares

विश्वमा सबैभन्दा बढी प्रयोग हुने सामाजिक सञ्जालको सूचीको शीर्ष पाँचमा पर्ने स्नापच्याटले विश्वका विभिन्न देशहरुमा कार्यरत पाँच सय बढी मानिसहरुको रोजगार कटौती गर्ने घोषणा गरेको छ ।

आर्थिक वर्ष २०२३/२४ को अन्तिम त्रैमासको प्रगति विवरण सार्वजनिक गर्ने एक दिन अगावै कम्पनीले विश्वव्यापी रुपमा कम्पनीमा काम गर्दै आएका कुल कर्मचारी मध्ये १० प्रतिशत मानिसहरुको रोजगार कटौती गर्ने निर्णय गरेको हो ।

सन् २०२३ को अक्टोबर महिनामा तेस्रो त्रैमासको प्रगति विवरण सार्वजनिक गर्दै कम्पनीले आफूहरु ३६ करोड ८० लाख डलर घाटामा रहेको जनाएको थियो । पछिल्लो समयमा सामाजिक सञ्जालमा डिजिटल विज्ञापन घट्दै जाँदा कम्पनीको नाफा समेत घट्दै गएको छ । जसकारण ठूला सामाजिक सञ्जालहरुले नै रोजगार कटौती गरिरहेका छन् ।

सन् २०२४ मा मात्रै माइक्रोसफ्टले आफ्नो गेमिङ विभागका एक हजार ९०० कर्मचारी कटौती गर्ने निर्णय गरेको छ । यस्तै इबेले गत साता एक हजार रोजगार कटौती गरेको छ । जनवरी महिनाको दोस्रो साता पेपलले २ हजार ५०० कर्मचारी र गुगलले एक हजार कर्मचारी कटौती गरेको छ ।

सन् २०२० मा जब विश्वव्यापी रुपमा कोभिड–१९ संक्रमण फैलिएको थियो । विश्वका अधिकांश देशहरुमा लकडाउनको घोषणा गरिएको थियो जसकारण मानिसहरु अन्य वर्षको तुलनामा कोभिडको समयमा सामापजक सञ्जालमा बढी सक्रिय भएका थिए । प्रयोगकर्ताको सङ्ख्या बढ्दै जाँदा कम्पनीहरुले कर्मचारीको सङ्ख्या बढाए तर जब सन् २०२२ मा कोभिड–१९ संक्रमण नियन्त्रणमा आयो तब मानिसहरु पुरानै समयमा फर्किए, सामाजिक सञ्जालमा प्रयोगकर्ताहरुको सङ्ख्या घट्दै गयो । प्रयोगकर्ताको सङ्ख्या घट्दै जाँदा विभिन्न कम्पनीहरुले सन् २०२२ देखि नै कर्मचारी कटौती गरिरहेका छन् ।

यस अघि सन् २०२२ को अगस्ट महिनामा स्नापच्याटले कुल कार्यदलको २० प्रतिशत सङ्ख्या कटौती गर्ने निर्णय गरेको थियो । सन् २०२४ मा कम्पनीले पुनः १० प्रतिशत कर्मचारी कटौती गर्ने घोषणा गरेको हो । कर्मचारी कटौती पछि कम्पनीका प्रवक्ताले ‘कम्पनीबाट बिदाइ भएर जानुहुने कर्मचारीहरुले कम्पनीको प्रगतिका लागि गर्नु भएको कडा मिहिनेत र योगदानको कदर गर्दै यहाँहरुलाई कम्पनीले सदैव गरिरहने’ बताएका हुन् ।

स्नापच्याटले विश्वव्यापी रुपमा कार्यरत कर्मचारीहरु मध्ये १० प्रतिशत कर्मचारी कटौती गर्ने घोषणा गरेता पनि कुन देशका कर्मचारीहरुले आफ्नो रोजगार गुमाउने छन् भन्ने कम्पनीले खुलाएको छैन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।