युनिलिभर नेपालको नाफा २४% घट्यो, ६ महीनाको नाफा ४२.१० करोडमा सीमित

0
Shares

बहुर्राष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडले चालु आर्थिक वर्षको ६ महीना अवधिमा ४२ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा २३.८० प्रतिशतले कम हो ।

गत आवको दोस्रो त्रैमाससम्म कम्पनीले ५५ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षाअवधिमा कम्पनीको बिक्री आय घट्दा नाफा प्रभावित बनेको हो । समग्र उपभोक्ताको मागमा कीमा आउँदा दैनिक उपभोग्य वस्तुहरुको उत्पादन गर्दै आएको यस कम्पनीको ब्यापार घट्दा मुनाफामा असर देखिएको हो ।

पुससम्म कम्पनीको कुल आय २ अर्ब २४ करोड २१ लाखबाट १४.७२% घटेर १ अर्ब ९१ करोड २१ लाखमा झरेको छ । कम्पनीको बिक्री आम्दानी पनि १४.५० प्रतिशतले घटेर १ अर्ब ८४ करोड ५७ लाख रुपैयाँमा संकुचित बनेको छ । गत आवको सोही अवधिमा कम्पनीले २ अर्ब २० करोड २५ लाख आम्दानी गरेको थियो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ४ करोड ५६ लाख रुपैयाँ आम्दानी गरेको आम्दानी गरेको चालु आवको यसै अवधिमा अवधिसम्म ७ करोड ६४ लाख रुपैयाँ पुगेको छ ।

साथै यस अवधिमा कम्पनीले मुद्दती निक्षेपमा २ अर्ब १७ करोड ९२ लाख रुपैयाँ लगानी गरेको छ भने १ अर्ब २० करोड रुपैयाँ नगद मौज्दात रहेको छ । जुन क्रमशः ४२.०६% र ६७.४१% धेरै हो । यस्तै कम्पनीको कुल खर्च पनि १०.६९ प्रतिशतले घटेर १ अर्ब ४१ करोड ४८ लाख रुपैयाँमा सीमित भएको छ । गत आवको सोही अवधिमा कम्पनीको खर्च १ अर्ब ५८ करोड ४२ हजार रुपैयाँ थियो ।

चुक्ता पुँजी ९ करोड २१ लाख रहेको कम्पनीको रिटेन्ड अर्निङ्ग १३.३१ प्रतिशतले बढेर ३ अर्ब ७७ करोड ८४ लाख रुपैयाँ पुगेको छ गत आवको यसै अवधिमा ३ अर्ब ३३ करोड ४५ लाख रुपैयाँ थियो । समीक्षा अवधिसम्म कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ९१४ रुपैयाँ २२ पैसा छ । अघिल्लो आवको सोहि अवधिमा कम्पनीको ईपीएस ११९९ रुपैयाँ ७८ पैसा थियो । त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ३१८० रुपैयाँबाट बढेर ४२०२ रुपैयाँ पुगेको छ ।

कम्पनीले लक्स, लाइफब्वाय, रिन, ह्वील, पोन्ड्स, भ्यासलिन, सनसिल्क, ल्याक्मे, क्लिनिक प्लस, पेप्सोडेण्ट, क्लोजअप लगायत अन्य ब्राण्डको उत्पादन तथा बिक्री गर्दै आएको छ । लन्डनमा मुख्यालय रहेको कम्पनी युनिलिभरले नेपालमा युनिलिभर इन्डियामार्फत ८० प्रतिशत सेयर लगानी गरेको छ । युनिलिभरले लगानीकर्तालाई आकर्षक लाभांश पनि दिँदै आइरहेको छ । कम्पनीमा हिन्दुस्थान युनिलिभर मुम्बईको ७ लाख ३६ हजार ५६० कित्ता, सिवक्रिम होल्डिङ्ग प्राली नेपालको ४६ हजार ३५ कित्ता र सर्वसाधारणमा १ लाख ३८ हजार १०५ कित्ता सेयर रहेको छ ।

नेपाली सेयर बजारमा सबैभन्दा महङ्गो सेयर मूल्य रहेको युनिलिभर नेपालले हालसम्मकै धेरै लाभांश वितरणको प्रस्ताव गरेको छ । असोज २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हालसम्मकै उच्च दरमा लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट सेयरधनीहरुलाई प्रतिसेयर १ हजार ५८० रुपैयाँका दरले नगद लाभांश वितरण गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।