कर नबुझाउने करदातामाथि कानूनी कारवाही


आन्तरिक राजश्व कार्यालय लहान सिरहाले लामो समयदेखि कर नबुझाउने करदातामाथि कानूनी कारवाही अघि बढाएको छ ।

दर्ता भएर पनि लामो समयदेखि कर नबुझाएका करदाताको सूची तयार गरी कानूनी कारवाही प्रक्रिया अघि बढाएको आन्तरिक राजश्व कार्यालय लहानका निमित्त प्रमुख कर अधिकृत ललितनारायण यादवले जानकारी दिए ।

उनका अनुसार भ्याटमा दर्ता भएका दुई हजार ३२६ करदाताले लामो समयदेखि कर नबुझाउँदा रु १४ करोड ११ लाख ९ हजार ४२७ राजश्व उठाउन बाँकी छ । यस्तै आयकरमा दर्ता भएका करदाताबाट दुई करोड ६७ लाख रुपैयाँ राजश्व उठ्न नसकेपछि कानूनी कारवाही अघि बढाइएको यादवले बताए ।

यसैगरी आन्तरिक राजश्व कार्यालय लहानले चालू आर्थिक वर्ष २०७५÷७६ को नौ महीनाको अवधिमा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गर्न सफल भएको छ । चालू आव २०७५÷७६ को चैत मसान्तसम्ममा एक अर्ब ५४ करोड १७ लाख ४० हजार रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकामा कार्यालयले सो अवधिमा १ एक अर्ब ६६ करोड ८५ लाख ६ हजार राजश्व सङ्कलन गरेकोे छ ।(रासस)

प्रकाशित मिति: २४ वैशाख २०७६, मंगलबार  १३ : १६ बजे