राष्ट्र बैंक भित्रका गलत क्रियाकलापको संरक्षण गर्दै डेपुटी गभर्नर मिश्र सहितका उच्च अधिकारी

0
Shares

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र सहित केही उच्च अधिकारी मातहतका कर्मचारीहरूलाई धम्क्याउने तथा गलत क्रियाकलापको संरक्षणमा लागि परेका छन् । डेपुटी गभर्नर मिश्र तथा कार्यकारी निर्देशक देवकुमार ढकाल सहित केही उच्च अधिकारीहरू केन्द्रीय बैंकको छवीमै आँच आउने गतिविधिको संरक्षणमा जुटेका हुन् ।

डेपुटी गभर्नर मिश्र र ढकाल पछिल्लो समयमा बदला लिने मनसाय सहित एक पछि अर्को गलत गतिविधिको संरक्षण गर्दे आएका छन् । गत पुस २७ गते नगरकोटमा भएको ‘स्ट्रेस म्यानेजमेन्ट’ कार्यक्रममा वरिष्ठ डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना माथि दुर्व्यवहार भएको थियो । कक्टेल पार्टी सहितको कार्यक्रममा मादक पदार्थको नसाले मातेका निर्देशक थानेश्वर आचार्यले ढुङ्गानामाथि दुर्व्यवहार गरे । उक्त विषयलाई लिएर मिश्र र ढकालले ढुङ्गानाको चरित्र हत्या गर्ने प्रयासमा सक्रिय भएको केन्द्रीय बैंकका एक अधिकारीले बताए ।

आचार्यले ढुङ्गानालाई दुर्व्यवहार गरेको घटना पहिलो भएपनि महिला माथिको दुर्व्यवहार पहिलो होइन । यसभन्दा अघि पनि आचार्यले महिला माथि दुर्व्यवहार गरेको गुनासो केन्द्रीय बैंकमा पटक पटक आइसकेको छ । केन्द्रीय बैंकको कामको सिलसिलामा पोखरामा हुँदा पनि आचार्यले महिलामाथि दुर्व्यवहार गरेका थिए । साथै आचार्य त्यस्तै आचरणका कारण पटक पटक टकसारको ढुकुटीको चाबी नै अलपत्र पार्दै प्रहरी हिरासतमा समेत बसेको ती अधिकारीको भनाई छ । भैरहवा कार्यालयमा पनि यस्तै हर्कतका कारण उनको २ महिनामै सरुवा भएको थियो । तर केन्द्रीय बैंकका उच्च अधिकारीको संरक्षण पाएकाले हालसम्म उचित कार्वाही नहुँदा गलत हर्कत गर्ने मनोबल आचार्यमा बढ्दै गएको हो ।

केन्द्रीय बैंकको टक्सार विभाग प्रमुखको यस्तो आचरणले समग्र संस्थाको गरिमा मै असर पुर्याउन सक्ने जोखिम रहेको केन्द्रीय बैंकका कर्मचारीहरुको भनाई छ । यस्तो आचरणको व्यक्तिले वरिष्ठ डेपुटी गभर्नर माथि गरेको दुर्व्यवहारप्रति सम्पूर्ण कर्मचारीहरूले समेत आपत्ति जनाइरहेको अवस्थामा मिश्र र ढकाले आचार्यको बचाउमा अस्वभाविक सक्रियता देखाउनु आपत्तिजन भएको कर्मचारीहरुको भनाई छ ।

नगरकोटमा ढुङ्गानालाई दुर्व्यवहार गर्नुअघि आचार्य मिश्र र ढकालसँग एउटै टेबल सेयर गरि बसेका थिए । आचार्य ढुङ्गानातर्फ जाँदै गर्दा उनीहरु फोटो भिडियो लिन व्यस्त रहेको कार्यक्रममा सहभागी भएका एक अधिकारीले बताए । उनीहरूले सोही फोटो र भिडियोलाई लिएर छापिदिने भन्दै ढुङ्गानालाई थप पीडा दिने काम गरेको तथा आचार्यलाई कारबाहीबाट जोगाउन समेत हरसम्भव प्रयास गर्दै आएको स्रोतको भनाई छ ।

मिश्रले ढुङ्गाना वरिष्ठ डेपुटी गभर्नर भएकोमा सदैव ईर्ष्या गर्ने गरेका थिए । उनी आफू मातहत रहेका आकर्षक ठानेका बैंक तथा वित्तीय संस्था सुपरिवेक्षण विभाग, तथा विदेशी विनिमय ब्यवस्थापन विभाग लगायतका केही विभागहरू ढुङ्गाना मातहत गएको प्रतिशाेध लिन चाहन्थे । त्यसैगरी ढकालले आफू डेपुटी गभर्नर हुन नसकेको तथा त्यति बेलाको आफ्नै प्रतिस्पर्धीलाई आफ्नो विभागको कामकारबाही रिपोटिङ गर्नुपर्ने भएपछि असन्तुष्ट हुँदै आएका थिए । त्यसैले पनि दुबैले आचार्यलाई बचाउन ढुङ्गाना समक्ष लिखित उजुरी गरेर यति सानो विषयलाई संस्थागत नगर्न समेत हार गुहार गर्दै आएका थिए ।

तर, उनीहरूले ढुङ्गानालाई कमजोर बनाउने उद्देश्यले चालेको कदम उनको लिखित उजुरीसँगै उनीहरूकै विरुद्धमा हुन पुग्यो । मिश्र र ढकालको सहयोगमा आचार्यले ढुङ्गाना माथि दुर्व्यवहार गर्ने हिम्मत गरेको हुनसक्ने कर्मचारीहरुको अनुमान छ । ढुङ्गानाले बैंक व्यवस्थापन समक्ष लिखित उजुरी दिइन् । उक्त उजुरी उपर बैंकको कार्यस्थलमा हुने दुर्ब्यवहार सम्बन्धि आचारसंहिता बमोजिमको छानबिन समितिले जाँचबुझ गरिरहेका छन् । जाँचबुझ सुरु भएसँगै आचार्यलाई टक्सार विभागको जिम्मेवारीबाट हटाई अतिरिक्त दरबन्दीमा राखिएको छ । आचार्यले आइतबार समितिलाई स्पष्टिकरण दिइसकेका छन् । छानबीन समिति प्रमुखले उक्त प्रतिवेदन गभर्नर समक्ष बुझाउँछन् । त्यसपछि प्रतिवेदनमा उल्लेख भए अनुसार के कस्तो कारबाही गर्ने भन्ने निर्णय हुनेछ ।

गत मंसिरदेखि वाणिज्य बैंक तथा वित्तीय संस्था र लघुवित्त सुपरिवेक्षण विभाग डा. नीलम अन्तर्गत आयो । सोभन्दा अघि मिश्र मातहत थियो । त्यसका साथै सुपरीवेक्षण विभाग नीलमको जिम्मामा आएसँगै आफ्ना कमी कमजोरी बाहिर आउनसक्ने भएकाले मिश्रले नीलमलाई कमजोर बनाई आफू सुरक्षित हुन यस्ता गतिविधिमा अस्वभाविक सक्रियता देखाएको हुन सक्ने स्रोतको दाबी छ ।

त्यसैगरी वाणिज्य बैंकको सुपरिवेक्षण विभागको नेतृत्व कार्यकारी निर्देशक देव कुमार ढकालले गरेका छन् । ढकाल र मिश्रले मिलेर विभागमा गरेका कमी कमजोरीहरू बाहिर आउन सक्ने भएपछि ढकाल मिश्रको पक्षमा लागी ढुङ्गानाको विरोधमा लागेको स्पष्ट हुन्छ । त्यतिमात्र नभई ढकालले ढुङ्गानामाथि भएको दुर्व्यवहारको फोटो र भिडियो विभिन्न सञ्चार माध्यमलाई दिई अनावश्यक ब्ल्याकमेलिङ गर्न लगाई ढुङ्गानालाई थप पीडा दिनमा लागि परेको स्रोतको भनाई छ । “केही मिडियाले म सँग फोटो र भिडियो छ भन्दै ब्ल्याकमेलिङ समेत गरेको सुनाउनु भयो,” स्रोतले भन्यो, “उक्त विषय अब मिडिया आउन नदिने जिम्मा समेत ढकालले लिएको भन्ने छ ।”

केन्द्रीय बैंकको कर्मचारी विनियमावली अनुसार कुनै पनि कर्मचारीले महिला माथि दुर्व्यवहार गरेमा कार्यस्थलमा भएको दुर्व्यवहार सम्बन्धि आचारसंहिता र कर्मचारी विनियमावली अनुसार कारवाही हुन्छ । जाँचबुझ समितिले सबुद प्रमाण अध्ययन गरी उपयुक्त सजायको ठहर सहित प्रतिवेदन गभर्नर समक्ष पेश गर्नुपर्नेछ । नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ को अनुसार पटक पटक अनुशासनहीन कार्य गरेमा सेवाबाट नै हटाउन सकिने व्यवस्था छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ