सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले २३ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै


सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र नागरिक लगानी कोषको संस्थापक समूहको शेयर बिक्रीमा ल्याएको छ ।

इन्स्योरेन्सले लिलाम बढाबढ प्रक्रियाद्वारा २३ लाख १२ हजार ४८३ कित्ता सेयर बिक्रीमा ल्याएको हो । जसमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको २० लाख ७३ हजार ४४६ कित्ता र नागरिक लगानी कोषको २ लाख ३८ हजार ३७ कित्ता संस्थापक सेयर बिक्रीमा रहेको छ ।

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको प्रति कित्ता न्यूनतम मूल्य २८० रुपैयाँ र नागरिक लगानी कोषको प्रति कित्ता न्यूनतम मूल्य ७८० रुपैयाँ तोकिएको छ ।
ईच्छुक विद्यमान संस्थापक शेयरधनी तथा कानून बमोजिम योग्य लगानीकर्ताले चैत २२ गतेभित्र बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, बालुवाटार, काठमाडौंमा पुग्ने गरी गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्नुपर्ने छ ।

ईच्छुक आवेदकले आफूले आवेदन गर्दा कुन कम्पनीको शेयर खरीद गर्न आवेदन गरेको हो सो को व्यहोरा सहित आवेदन फाराममा तथा शिलबन्दी खाम बाहिर समेत स्पष्ट रुपमा खुलाउनु पर्नेछ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको शेयर खरीदकालागि योग्य इच्छुक विद्यमान संस्थापक शेयरधनीहरु मात्र सहभागी हुन सक्नेछन् । नागरिक लगानी कोषको शेयर खरीदकालागि बैंक तथा वित्तीय संस्थाहरु मात्र सहभागी हुन सक्नेछन् ।

नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र नागरिक लगानी कोषको माथि उल्लेखित संस्थापक शेयर बिक्रीको लागि न्यूनतम मूल्य तथा न्यूनतम आवेदन दिनुपर्ने शेयर संख्या तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य तथा शेयर संख्या अंकित गरी बोलकबोल गर्नुपर्नेछ । इच्छुक आवेदकले एउटा वा दुवै कम्पनीको शेयर खरीद गर्न बोलपत्र मार्फत छुट्टाछुट्टै आवेदन दिन सक्नेछ । एउटा कम्पनीको शेयर खरीद गर्न इच्छुक आवेदकले एउटै फरक मूल्यमा एक वा एक भन्दा बढी बोलपत्र मार्फत आवेदन दिन सक्नेछन् ।

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको शेयर खरीदको लागि बोलकबोल गर्दा सम्पूर्ण कित्ता तथा नागरिक लगानी कोषको शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम १५ हजार कित्ता वा सो भन्दा माथि ५ हजारले भाग जाने संख्यामा वा अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।