चितवनमा दूध बिक्री नभएपछि दैनिक ४२ लाख घाटा व्यहोर्दै किसान


दूध बिक्री घटेपछि जिल्लाका दुग्ध उत्पादक किसानहरुले दैनिक ४२ लाख रुपैयाँको घाटा व्यहोर्दै आएका छन् । जिल्लामा उत्पादित दूधमध्ये ६० हजार लिटर बिक्री हुन नसक्दा सो रकम बराबरको क्षति व्यहोर्न किसान बाध्य भएका हुन् ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घमा आबद्ध ४० हजारभन्दा बढी शेयर सदस्यहरुले सो मात्रामा दूध बिक्री गर्न नपाएको सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार विगत १५ दिनदेखि दूध नउठ्दा किसानले समस्या झेल्नु परेको हो । साउन यताको भुक्तानी ५२ करोड रुपैयाँ पाउन बाँकी भए पनि अहिले बिक्री हुन छाडेपछि किसान मारमा परेको उनको भनाइ छ ।

दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुने चितवनबाट जिल्ला बाहिर दैनिक एक लाख ५० हजार लिटर दूध जाने गरेको छ । जसमध्ये ६० हजार लिटर दूध बिक्री हुन नसकेको हो ।

सरकारले किसानको पैसा दिने सहमति गरे पनि अहिलेसम्म किसनाले पैसा नपाएको र दूध समेत उठ्न छाडेको उनले गुनसो गरे । “सहमति भएको छ । तर कार्यान्वयनमा आएको छैन”, उनले भने, “सहमतिअनुसार आइतबारबाट दूध उठ्नु पर्ने भए पनि आजसम्म उठेको छैन ।”

दूध लैजाने उद्योगहरुले समर्थन मूल्यभन्दा कममा लैजाने गरेको भन्दै उनले उपभोक्ताले भने महङ्गो मूल्यमा दूध खानु परेको बताए । बगालेले भने “दूध नउठ्ने र पैसा पनि नपाउने समस्या रहिरहे आन्दोलनमा जानुको विकल्प छैन ।” चितवनसहित पाँच जिल्लाका किसानले एक साथ आन्दोलनमा जाने तयारी गरेको उनले जानकारी दिए । रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।