सिंगटी हाइड्रोको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन, हालसम्म कति पर्यो आवेदन ?


सिंगटी हाइड्रो इनर्जी लिमिटेडको शतप्रतिशत हकप्रदमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले फागुन २ गते बुधबारदेखि १ः१ अनुपातमा १ अर्ब ४५ करोड रुपैयाँको सेयरको निष्काशन तथा बिक्री खुला गरेको हो ।

सिंगटी हाइड्रोको हकप्रदमा सोमबार साँझसम्ममा ७० हजार ३३० जना सर्वसाधारण लगानीकर्ताले २९ लाख २६ हजार ७१९ कित्ता सेयर खरिदका लागि आवेदन दिएका छन् ।

कुल २९ करोड २६ लाख ७१ हजार ९०० रुपैयाँ बराबरको सेयर माग भएको हो । कम्पनीले यसअघि नै आधारभूत सेयरधनीहरुबाट हकप्रद वापतको रकम संकलन गरिसकेको छ । कम्पनीमा ३० प्रतिशत बराबरको ४३ लाख ५० हजार कित्ता सर्वसाधारण तर्फको सेयर रहेको छ भने ७० प्रतिशत हिस्सा संस्थापकको छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत अर्थात प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४५ लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले पुस २२ गते बुकक्लोज गरेको थियो । जस अनुसार पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रदका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र नेपाल बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यस्तै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो सेयर अनलाइनबाट पनि आवेदन दिन सक्ने छन् ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २२ फागुन २०८०, मंगलबार  ०८ : १२ बजे