सुनको भाउ ऐतिहासिक बिन्दुमा, एक तोला सुन किन्नेले १ लाख २३ हजार खर्चिनुपर्ने


मंगलबार सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । यसअघि पुस १२ गते १ लाख २२ हजार रुपैयाँ पुगेर रेकर्ड कायम गरेको सुनको भाउले आज उक्त रेकर्ड तोडेको हो । 

मंगलबार छापावाला सुनको भाउ प्रतितोला १ लाख २३ हजार रुपैयाँ तोकिएको छ । सोमबार छापावाला सुनको भाउ प्रतितोला १ लाख २१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

विश्व राजनितिको उतावचढावले अन्तराष्ट्रिय बजारमा प्रभाव पारेकोले नेपालमा सुनको भाउ वृद्धि भइरहेको हो । अन्तर्राष्ट्रिय बजारमा दिनभर हुने कारोबारपछि अन्तिम मूल्य जति कायम हुन्छ, त्यसकै आधारमो नेपालमा मूल्य निर्धारण गर्ने भएकोले विश्व राजनितीको प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिक रत्न शाक्य बताउँछन् ।

यस्तै, अमेरिकी कमर्श डिपाटमेण्टले सार्वजनिक गरेको मुल्य बृद्धि दर सम्वन्धी प्रतिवेदनका कारण सुनको मूल्य वृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेज रत्न शाक्यले बताए । हाल फेडरल रिजर्भ बैंकले सन्दर्भ ब्याजदर न्यूनतम ५.२५ देखि अधिकतम ५.५० सम्मको सीमा तोकेकोले पनि सुनमा असर परेको उनको भनाइ छ ।

महासंघका अनुसार मंगलबार तेजावी सुन १ लाख २२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजावी सुन १ लाख २० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, मंगलबार चाँदीको भाउ ३५ रुपैयाँले बढेको छ । सोमबार प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार ११५ दशमलव ३४ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २३ दशमलव ७२ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २२ फागुन २०८०, मंगलबार  १० : ५२ बजे