वोमी माइक्रोफाइनान्स र नागरिक लघुवित्तलाई मर्जरमा जान राष्ट्र बैंकको स्वीकृति

0
Shares

नेपाल राष्ट्र बैंकले वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र नागरिक लघुवित्त वित्तीय संस्था लिमिटेडलाई एक आपमामा गाभिन सैद्धान्तिक सहमति दिएको छ ।

शेयर बजारमा सूचीकृत वोमी र आइपिओ जारी नगरेको नागरिक लघुवित्तले एक आपसमा मर्जरमा जान राष्ट बैंकमा आवेदन गरेका थिए ।

२०६८ साल देखि सञ्चालनमा आएको वोमी माइक्रोफाइनान्सको मुख्य कार्यालय चितवनको भरतपुरमा रहेको छ । हाल यो माइक्रोफाइनान्सले ३२ जिल्लामा आफ्नो सेवा विस्तार गरिसकेको छ ।

नागरिकलाई राष्ट्र बैंकले २०७४ मंसिर २४ गते माइक्रोफाइनान्सको रुपमा सञ्चालनका लागि स्वीकृति दिएको थियो। काभ्रेको बनेपामा मुख्य कार्यालय रहेको यो कम्पनीको सेवा १० जिल्लामा विस्तार भएको छ।

वोमीको चुक्तापूँजी १० करोड १० लाख रुपैयाँ रहेको छ । नागरिक लघुवित्तको चुक्तापूँजी एक करोड ७५ लाख रुपैयाँ छ। जसले आइपिओ जारी गरेको छैन। लघुवित्तमा ७० प्रतिशत संस्थापक शेयर स्वामित्व रहेको छ ।

नेपाल राष्ट्र बैंकले हकप्रदमा रोक लगाउँदै मर्जर तथा एक्विजीसनबाट पूँजी जुटाउने वित्तीय संस्थालाई स्तरोन्नतिमा प्राथमिकता दिने घोषणा गरेयता लघुवित्त कम्पनीहरुमा मर्जरको लहर सुरु भएको छ। राष्ट्र बैंकले ’घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई प्रदेशस्तर वा राष्ट्रिय स्तरमा कायम रहनुपर्ने र सो का लागि मर्जर तथा प्राप्तिमा जोड दिएको थियो ।

राष्ट्र बैंकले नयाँ लघुवित्त सञ्चालनका लागि आवेदन लिन समेत बन्द गरेको छ। लघुवित्त कम्पनीहरुको संख्या धेरै हुँदा राष्ट्र बैंकलाई नियमन गर्न पनि कठिन भएको राष्ट्र बैंकका अधिकारीहरुले यसअघि बताउँदै आएका छन् ।

अहिले देशभर पाँच दर्जन भन्दा बढी लघुवित्त कम्पनीहरु सञ्चालनमा छ ्। हाल थोक कर्जा प्रवाह गर्ने लघुवित्त कम्पनीको चुक्ता पूँजी ६० करोड, राष्ट्रियस्तरको १० करोड, क्षेत्रीय स्तरको ६ करोड, ३ जिल्ले लघुवित्तको २ करोड र १ जिल्लास्तरका लघुवित्तको चुक्ता पूँजी १ करोड रुपैयाँ छ।