दुई लघुवित्तको सेयर कारोबार रोक्का

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत दुई लघुवित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको छ । मंगलबारको कारोबारपछि मिर्मिरे र नेरुडे लघुवित्तको सेयर कारोबार स्थगन गरिएको हो ।

दुई लघुवित्तबीच मर्जर सम्पन्न भएर भोलि फागुन ३० गते बुधबारदेखि एकीकृत कारोबार सुरु हुँदैछ । मर्जर प्रयोजनका लागि सेयर स्वाप रेसियो मिलान, लगायतका कामका लागि दुबै लघुवित्तको सेयर कारोबार कम्तिमा १५ दिनका लागि स्थगन गरिएको हो ।

राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेका दुई कम्पनीहरू एक आपसमा मर्ज भएर फागुन ३० गते बुधबारदेखि ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था’ को नामबाट एकीकृत कारोबार सुरू हुन लागेको हो । मिर्मिरे लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेको बनेपा र नेरुडे लघुवित्तको मोरङको विराटनगरमा केन्द्रीय कार्यालय रहेको छ ।

एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले फागुन २१ गते र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन २२ गते अन्तिम स्वीकृति दिएपछि एकीकृत कारोबारको मिति तय भएको हो । यस्तै, डाटा माइग्रेसन प्रक्रियाका लागि दुबै कम्पनीका सबै सेवाहरू फागुन २९ गते बन्द गरेका छन् ।
गत वैशाख १० गते सम्पन्न छुट्टा छुट्टै विशेष साधारण सभाले १ः१ अनुपातको समान सेयर स्वाप रेसियो मर्जर हुने प्रस्ताव पारित भएको थियो । धितोपत्र बोर्डले कात्तिक २४ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएको थियो । दुई संस्थाबीच २०७९ पुस ११ गते मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

मर्जरपछि बन्ने संस्थाको केन्द्रीय कार्यालय बनेपा नगरपालिका वडा नम्बर ८ काभ्रेपलाञ्चोकमा रहने भएको छ । दुवै संस्थाका मर्जर र एक्विजिसन समिति संयोजकमा मणि कुमार अज्र्याल र सन्तोष फुयाँल थिए । सञ्चालक समिति अध्यक्षमा हालको मिर्मिरे लघुवित्तका अध्यक्ष टेक बहादुर बोहोरा र प्रमुख कार्यकारी अधिकृतमा नेरुडेका भोजराज बस्यालले निरन्तरता पाएका छन् । मिर्मिरे लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत पुस्कर राज जोशी स्वेच्छिक अवकासमा जानेछन् ।

नियमनकारी निकायको मार्गदर्शनलाई पछ्याउदै एक सबल लघुवित्तको स्थापनाका लागि मर्जर र एक्विजिसन कार्यमा गएको लघुवित्तहरु बताउँछन् । वित्तीय संस्थाहरुको मर्जर कार्यले राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक टेवा पुग्ने विश्वास लिएका छन् ।

एकीकृत कारोबार पश्चात वित्तीय संस्थाको चुक्ता पुँजी १ अर्ब ३८ करोड, शाखा संजाल संख्या २५०, सेवाग्राही संख्या ३ लाख निक्षेप ६ अर्ब २५ करोड कर्जा लगानी १९ अर्ब कर्मचारी संख्या १ हजार ३०० पुग्नेछ । मिर्मिरे लघुवित्तसंग यसअघि स्वेडा लघुवित्त, नागबेली लघुवित्त र बुद्दज्योती लघुवित्त बिलय भैसकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।