नेप्सेको वृद्धि टिकेन, गिरावट थप गहिरिँदा २७ अंकले ओरालो लाग्यो बजार

0
Shares

नयाँ अर्थमन्त्री वर्षमान पुनको नियुक्तिसँगै बढेको नेप्सेको वृद्धिले निरन्तरता पाउनेमा सेयर बजारका लगानीकर्ता भने आशावादी देखिएर बजारको वृद्धि भने अस्थीर देखिएको छ ।

नयाँ अर्थमन्त्रीपछि पछिल्ला १०३ अंक बढीले बढेको बजारमा बुधबार र बिहीबार दुई दिनमा ३०.३२ अंकले घटेको हो । बुधबार २.४८ अंकले घटेर बन्द भएको बजारमा बिहीबार थप गहिरिँदै २७.८४ बिन्दुले बजार घटेको हो । अल्पकालीन लगानीकर्ताको छोटो समयमा नै नाफा सुरक्षित गर्ने होडले नेप्सेमा करेक्शन जारी रहेको छ ।

मंगलबार ५८.५८ अंकले बढेको बजार बुधबार २.४७ र बिहीबार २७.८४ बिन्दुले घटेसँगै नेप्से परिसूचक २०८०.८७ बिन्दुमा झरेको छ । यस दिन कारोबारमा आएकासबै १३ उपसमुहगत सूचक राताम्मे देखिएका छन् । जीवन बीमा सर्वाधिक २.६५ प्रतिशतले घट्दा त्यसलाई पच्छाउँदै लघुवित्त पनि २.०९ प्रतिशतले ओरालो लागेको छ । यसअघिका दिनमा यी दुबै सूचकमा आकर्षक सुधार भएको थियो । यस्तै निर्जीवन बीमा, विकास बैंक, लगानी, बैंकिङ्ग, फाइनान्स र उत्पादन तथा प्रशोधनमुलक इन्डेक्स पनि १ प्रतिशतभन्दा धेरैले घटेको छ ।

नेप्सेमा गिरावट आएपछि बिहीबार कारोबार रकम समेत संकुचित बनेको छ । आज कारोबार चार अर्ब तल झरेको छ । बिहीबार ३०३ कम्पनीको १ करोड १४ लाख ८३ हजार ६१७ कित्ता सेयर ३ अर्ब ९४ करोड ३५ लाख ९२ हजार ३०२ रुपैयाँमा समेटिएको छ । अघिल्लो दिन बुधबार ३१० स्टकको १ करोड ८ लाख ८९ हजार कित्ता सेयर ४ अर्ब २४ करोड ८५ लाख रुपैयाँमा खरिद बिक्री भएको थियो । दैनिक कारोबार रकम आज ३० करोड ५० लाख रुपैयाँले घटेको हो ।

बजार घटेपनि आज दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।यसदिन वीन नेपाल लघुवित्तको र मानुषी लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको हो । यस्तै गुराँस लघुवित्तको ९.९२ प्रतिशत, कर्णाली डेभलपमेन्ट बैंक ७.७१ प्रतिशत, समाज लघुवित्तको सेयर मूल्य ७.२० प्रतिशतले बढेको छ। मनकामना स्मार्ट लघुवित्त ६.१७, सबैको लघुवित्त ४.५८ र उन्नति सहकार्य लघुवित्तको २.९६ प्रतिशतले बढेको हो ।

उता बिहीबारको बजारबाट स्वाभिमान लघुवित्तका सेयरधनीले सर्वाधिक ६.०२ प्रतिशतले गुमाएका छन् । यस्तै जाल्पा लघुवित्त ५.६६ प्रतिशत, धौलागिरी लघुवित्तको ५.३१ प्रतिशत, लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) को ५.२० र एनआईसी एशिया लघुवित्तको सेयरको भाउ ५.१३ प्रतिशतले घटेको छ ।

दैनिक कारोबार रकमका आधारमा आज पनि अपर तामाकोशी शीर्ष स्थानमा छ । सो कम्पनीको ५० करोड ८९ लाख ८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । हिजो नकारात्मक सर्किट लागेर घटेपछि आज अपर तामाकोशीको सेयरमा खरिद चाप आएपछि मूल्य बढको छ ।

त्यसैगरी शिवम् सिमेन्ट्सको २४ करोड ४ लाख, सोनापुर मिनरल्स एण्ड आयलको १६ करोड २४ लाख, गोर्खाज फाइनान्सको १२ करोड ७६ लाख रुपैयाँ र हिमालयन रि इन्स्योरेन्सको ९ करोड ८४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बिहीबारको बजार घटाइपछि कुल बजार पुँजीकरण ३२ खर्ब ७० अर्ब ८५ करोड ८८ लाख ६७ हजार रुपैयाँमा समेटिएको छ । अघिल्लो कारोबार दिन बुधबार कुल बजार पुँजीकरण ३३ खर्ब १४ अर्ब ६२ करोड ९६ लाख रुपैयाँ थियो । आज मात्रै ४३ अर्ब ७७ करोड ८ लाख रुपैयाँले बजार पुँजीकरण घटेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।