ऋणपत्र बिक्री गर्न वाणिज्य बैंकहरुको चटारो, दुई बैंकले पाँच अर्बको जारी गर्ने

0
Shares

लगानी योग्य रकमको अभाव खेपीरहेका वाणिज्य बैंकहरुले पछिल्लो समयमा ऋणपत्र जारी गरी पूँजी प्रयाप्तता बढाउने क्रमले तिब्रता पाएको छ । यसै क्रममा नेपाल बंगलादेश बैंक र हिमालयन बैंकले पनि ऋणपत्र जारी गर्ने प्रक्रिया अगाडि बढाएका छन् ।

नेपाल बंगलादेश बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । हिमालयन बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न बोर्डमा आवेदन गरेको छ ।

यसअघि एनआईसि एशिया, सानिमा, ग्लोबल आईएमइ, एनएमबि, सनराइज र सिद्धार्थ बैंकले यही बर्षमा नै ऋणपत्र बिक्री गरेका थिए ।

नेपाल बंगलादेश बैंकलाई प्रतिइकाई १ हजार रुपैयाँको दरमा २० लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डले अनुमति दिएको हो । यसमध्ये ८ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १२ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

यस ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत ब्याजदर तोकिएको छ । बैंकले ‘१०.२५ प्रतिशत एनबीबीएल डिबेन्चर २०८५’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिंङले गर्नेछ । १०.२५५ ब्याज पाइने यस ऋणपत्रको अवधि १० वर्षको हुनेछ ।

हिमालयन बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यसमध्ये १२ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

यस ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर पाइनेछ । बैंकले ७ वर्ष अवधिको ‘१० प्रतिशत हिमालयन बैंक डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटलले गर्नेछ ।