सर्वोत्तमको आइपीओ डिम्याट खातामा जम्मा, नेप्सेमा सूचीकरणको तयारी

0
Shares

सर्वोत्तम सिमेन्टको आईपीओ गोलाप्रथाबाट सेयर प्राप्त गरेका ५५ हजार ५२१ जना लगानीकर्ताको हितग्राही खातामा चैत २ गते शुक्रबार जम्मा भएको छ । बुक बिल्डिङ विधिबाट पहिलो पटक आईपीओ ल्याइएको कम्पनीको सेयर ‘एसएआरबिटिएम’ (SRRBTM) कारोबार संकेतमा जम्मा भएको हो ।

कम्पनीले यसै साताभित्रै नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर सूचीकरण गर्ने तयारी गरेको छ । सर्वोत्तम सिमेन्टको आईपीओ सूचीकरणका लागि नेप्सेमा फाइल पठाइसकेको छ । यही साताभित्र सूचीकरण सम्झौता भएर कारोबार खुल्ने गरी काय अगाडि बढाइएको कम्पनीले जनाएको छ ।

बुक बिल्डिङ विधिबाट आईपीओ ल्याएको कम्पनीको आर्थिक वर्ष २०७९–८० को परिष्कृत वित्तीय विवरण अनुसार प्रति सेयर नेटवर्थ १८५.३६ रुपैयाँ रहेको छ । यसअनुसार सर्वोत्तम सिमेन्टको आइपीओले प्रतिकित्ता न्यूनतम १८५.३६ रुपैयाँदेखि अधिकतममा ५५६.०८ रुपैयाँसम्म ओपनिङ रेन्ज पाउनेछ । कुनै पनि कम्पनीको आइपीओ नेप्सेमा सूचीकरणपछि पहिलो कारोबारका लागि नेटवर्थको ३ गुणासम्म ओपनिङ रेन्ज तोकिने गरेको छ ।

सर्वोत्तम सिमेन्टले प्रतिकित्ता ३६०.९० रुपैयाँमा सर्वसाधारणलाई आइपीओ बिक्री गरेको थियो। योग्य संस्थागत लगानीकर्तालाई बिक्री गरेको आइपीओको कट अफ प्राइस भने प्रतिकित्ता ४०१ रुपैयाँ निर्धारण भएको थियो। बुक बिल्डिङ विधिमार्फत कम्पनीले आइपीओ ल्याउँदा योग्य संस्थागत लगानीकर्तालाई बिक्री गर्दा तय भएको कट अफ प्राइसमा १० प्रतिशत छुट दिएर सर्वसाधारणलाई आइपीओ ल्याउन पाउने व्यवस्था रहेको छ। सोही अनुसार सर्वसाधारणलाई कम्पनीले आइपीओ बिक्री गरेको हो।

यो विधिबाट ल्याइने आइपीओमा सर्वसाधारणले न्यूनतम ५० कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउने प्रावधान अनुसार ५५ हजार ४९५ जनाले ५० कित्ता र २६ जनाले ५१ कित्ता सेयर पाएका छन् ।

बुक बिल्डिङ विधिबाट ल्याइएको आईपीओ ल्याएको कम्पनी भएकाले यस कम्पनीको ओपनिङ रेन्जका विषयमा भने अन्यौलता नै देखिएको छ । यद्यपी नेप्सेको सञ्चालक समितिबाट हालसम्म कट अफ मूल्यलाई नै ओपनिङ्ग रेञ्ज तोकिसकिएको अवस्था नभएकाले पुरानै विधि अनुसार कम्पनीको आईपीओको दोस्रो बजारमा कारोबार खुल्ने भएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।