सर्वोत्तम सिमेन्टको आईपीओ नेप्सेमा सूचीकृत, ५५६ रूपैयाँसम्म खुल्नसक्छ पहिलो कारोबार !

0
Shares

बुक बिल्डिङ विधिबाट पहिलो पटक आईपीओ ल्याइएको सर्वोत्तम सिमेन्टको आईपीओ सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीले सार्वजनिक निष्कासन गरेको ६० लाख कित्ता आईपीओ सहित कुल प्रतिसेयर अंकित मूल्य १०० दरका ४ करोड ६५ लाख कित्ता नेप्सेको चैत ४ को निर्णय तथा सेयर धितोपत्र सूचीकरण विनियमावली २०७५, बमोजिम सोमबार सूचीकृत भएको हो । कम्पनीको सेयर गोलाप्रथाबाट सेयर प्राप्त गरेका ५५ हजार ५२१ जना लगानीकर्ताको हितग्राही खातामा चैत २ गते शुक्रबार जम्मा भैसकेको छ । कम्पनीमा चुक्ता पुँजीको १२.९०३३ प्रतिशत सर्वसाधारण र ८७.०९६७ प्रतिशत संस्थापक सेयर हिस्सा रहेको छ ।

नेप्सेले कम्पनीको सेयर दोस्रो बजारमा करोबारका लागि ‘एसएआरबिटिएम’ (SARBTM) कारोबार संकेत दिएको छ । मंगलबारदेखि यहि कारोबार संकेतमा कम्पनीको धितोपत्र खरिद बिक्रीमा आउनेछ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र सर्वोत्तम सिमेन्ट लिमिटेडबीच चैत ५ गते धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको हो । नेप्सेमा सेयर सूचीकृत भएको दोस्रो दिनबाट सम्बन्धित कम्पनीको धितोपत्रको दोस्रो बजार कारोबार सुरु हुने व्यवस्था छ ।

बुक बिल्डिङ विधिबाट आईपीओ ल्याएको कम्पनीको आर्थिक वर्ष २०७९–८० को परिष्कृत वित्तीय विवरण अनुसार प्रति सेयर नेटवर्थ १८५ रुपैयाँ ३६ पैसा छ ।सर्वोत्तम सिमेन्टको आइपीओले प्रतिकित्ता न्यूनतम १८५ रुपैयाँ ३६ पैसा देखि अधिकतममा ५५६ रुपैयाँ ८ पैसासम्म ओपनिङ रेन्ज पाउनेछ । कुनै पनि कम्पनीको आइपीओ नेप्सेमा सूचीकरणपछि पहिलो कारोबारका लागि नेटवर्थको ३ गुणासम्म ओपनिङ रेन्ज तोकिने गरेको छ । सोही अनुसार सर्वोत्तमको मंगलबार पहिलो कारोबार नै ५५६ रुपैयाँमा खुल्नसक्ने देखिएको छ ।

सर्वोत्तम सिमेन्टले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरमा सर्वसाधारणलाई आइपीओ बिक्री गरेको थियो। योग्य संस्थागत लगानीकर्तालाई बिक्री गरेको आइपीओको कट अफ प्राइस भने प्रतिकित्ता ४०१ रुपैयाँ निर्धारण भएको थियो। बुक बिल्डिङ विधिमार्फत कम्पनीले आइपीओ ल्याउँदा योग्य संस्थागत लगानीकर्तालाई बिक्री गर्दा तय भएको कट अफ प्राइसमा १० प्रतिशत छुट दिएर सर्वसाधारणलाई आइपीओ ल्याउन पाउने व्यवस्था रहेको छ। सोही अनुसार सर्वसाधारणलाई कम्पनीले आइपीओ बिक्री गरेको हो ।

यो विधिबाट ल्याइने आइपीओमा सर्वसाधारणले न्यूनतम ५० कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउने प्रावधान अनुसार ५५ हजार ४९५ जनाले ५० कित्ता र २६ जनाले ५१ कित्ता सेयर पाएका छन् ।

बुक बिल्डिङ विधिबाट ल्याइएको आईपीओ ल्याएको कम्पनी भएकाले यस कम्पनीको ओपनिङ रेन्जका विषयमा भने अन्यौलता नै देखिएको थियो । यद्यपी नेप्सेको सञ्चालक समितिबाट कट अफ मूल्यलाई नै ओपनिङ्ग रेञ्ज नतोकिएपछि पुरानै विधि अनुसार कम्पनीको आईपीओको दोस्रो बजारमा कारोबार खुल्ने भएको हो ।

कम्पनीको प्रधान कार्यालय काठमाडौंको तिनकुने रहेको छ । सूचीकरण पश्चात् दिनुपर्ने आरटिएस सेवा एनआइएमबि क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंबाट हुने कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।