नेपालमा चलचित्र पर्यटनको सम्भावना छ : पर्यटनमन्त्री तामाङ

0
Shares

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले नेपालमा नेपालमा चलचित्र पर्यटनको प्रचुर सम्भावना रहेको बताएका छन् । चलचित्रका माध्यमबाट नेपाली कला र संस्कृतिको लागि विश्वव्यापीकरण गर्न सक्ने उनले बताए ।

काठमाण्डौ जारी सातौं नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव(निफ) समापन समाहरोहमा प्रमुख अतिथिका रुपमा सहभागी तामाङले निफले नेपाली कला, संस्कृति र पर्यटन प्रवद्धनमा ठूलो भुमिका खेलेको बताए । निफले विश्वभरका नेपाली चलचित्र समुदायको प्रतिनिधित्व गर्दै आएको र यो नेपालका चलचित्रहरूका लागि मात्र नभई विश्वभरका चलचित्रहरूको लागि साझा मञ्च बनेको छ ।

‘४० देशका चलचित्रकर्मीहरु सहभागी भएको महोत्सवमा यतिधेरै विदेशी पर्यटकहरु नेपालमा आउनुले नेपालको चलचित्र पर्यटनमा पनि महत्वपूर्ण भूमिका खोलेको छ भन्ने मलाई लाग्छ’ मन्त्री तामाङले भने, ‘मन्त्रालय मातहाबाट यसको प्रवद्र्धनमा मैले खेल्न सक्ने भूमिकाप्रति म सकारात्मक छु । ठोस् योजना सहित सहकार्य गर्ने प्रतिवद्धता जनाउँछु ।’

तामाङले निफले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको बताए । सिनेमा समाज रुपान्तरणको एउटा शक्तिशालि हतियार भएको भन्दै उनले जसले संसारका धेरै परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । नेपालकै परिप्रेक्षमा पनि पञ्चायतको बिरुद्ध बनेका चलचित्र वा टेलीचलचित्रलाई लिन सकिने उनको धारणा छ । वलिदान, आगोजस्ता चलचित्रले नेपाली समाजको एउटा वर्गको कथालाई पर्दामा उतारेन मात्रै समाज हिँडिरहेको बाटो गलत छ भनेर सिंगो व्यवस्था विरुद्ध लाग्न प्रेरित पनि गरेको उनले बताए ।

‘पछिल्लो अवस्थामा रुपान्तरणको एउटा पाटो दश बर्षे जनयुद्ध र यससँग सम्बन्धित विषयका सिनेमाहरु निर्माण भइरहेका छन् र राम्रो स्थान पाइरहेका छन् । जसको एकजना अभियन्ता केपी पाठक जी आफैँ हुनुहुन्छ । जसले मैना सुनारमाथी चलचित्र बनाउनु भयो । तर नेपाली चलचित्रमा युद्धका सकारात्मक पाटाहरु जति आउन पर्ने हो आउन सकेका छैनन् ।’ उनले भने, ‘युद्धको सौन्दर्य र यसका अवयवहरुलाई खोतल्दै जनपक्षिय चलचित्र निर्माणमा लाग्नु पर्ने आजको आवश्यकता पनि हो भन्ने मलाई लाग्छ । मेरो मन्त्रालय मातहाबाट यसको प्रवद्र्धनमा मैले खेल्न सक्ने भूमिकाप्रति म सकारात्मक छु।’

महोत्सवमा वर्ल्ड प्यानारोमा फिचरमा छनौट भएको गौतम बुद्ध फिचर फिल्म अवार्ड भारतको ’वाइल्ड स्वान’ले जितेको छ । निफको समापनमा निर्माण टिमले ट्रफीसहित १५ सय अमेरिकी डलर प्राप्त गरेको छ ।  अन्तर्राष्ट्रिय डकुमेन्ट्रीतर्फ ’लभ लाइट’ले ’माउन्ट एभरेस्ट’ अवार्ड जितेको छ । त्यस्तै, ’आइ प्रमिस यू प्याराडाइज’ले उत्कृष्ट अन्तर्राष्ट्रिय लघु फिल्मको विधामा बागमति अवार्ड जितेको छ ।

’द ट्रेकर, द वुल्फ एण्ड द मंकी किङ्ग’ले जुरी स्पेशल मेन्सन अवार्ड जित्यो ।९४ मिनेटको यो फिल्म चीनबाट महोत्सवमा सहभागि बनेको थियो । डन किहोटे उत्कृष्ट अन्तर्राष्ट्रिय अवार्ड भने ’लाजरस पाथ’ले पायो । उत्कृष्ट राष्ट्रिय लघु फिल्म ’एट एनोदर विन्टर’ले जितेको छ भने ’ऐके शेर्पा उत्कृष्ट डकुमेन्ट्री’तर्फ इनुमा राईले अवार्ड उचालिन् ।

नेपाली फिचर फिल्म ’बुलाकी’ले उत्कृष्ट राष्ट्रिय फिचर फिल्मतर्फ अवार्ड उचाल्दा यही फिल्मबाट लक्षमण सुनारले उत्कृष्ट निर्देशक र अभिनेत्री सुरक्षा पन्तले उत्कृष्ट अभिनेत्रीको अवार्ड उचालिन् । राष्ट्रिय लघु फिल्म र डकुमेन्ट्रीतर्फको अडियन्स चोइस अवार्ड ’अर्केस्ट्रा’बाट निर्देशक सफल पाण्डेले जित्यो । त्यस्तै, फिचर फिल्मतर्फको अडियन्स चोइस अवार्ड भने ’पखेटा’ले जित्यो ।

राजेश श्रेष्ठ र संकल्प भुजेलले ’एक भागवत एक गीता’बाट उत्कृष्ट सिनिमेटोग्राफीतर्फ अवार्ड उचाल्दा उत्कृष्ट अभिनेतामा भने विपिन कार्कीले ’एक भागवत एक गीता’बाट अवार्ड प्राप्त गरे । फिचर फिल्मबाटै उत्कृष्ट पटकथातर्फ ’डेसान’ले अवार्ड पायो । उत्कृष्ट अभिनेत्रीमा सुरक्षा पन्तले ’बुलाकी’बाट अवार्ड उचालिन् ।

विश्वका कथाहरुको उत्सव, नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव भन्ने नाराको साथ केपी पाठकको अध्यक्षतामा हरेक वर्ष नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव आयोजना हुँदे आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।