सर्वोत्तम सिमेन्टको आईपीओमा बढ्यो बिक्रीचाप, एक घण्टामा १ लाख कित्ता कारोबार

0
Shares

सर्वोत्तम सिमेन्ट लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको सातौं कारोबार दिनमा आएर बिक्री चाप आएको छ । यसअघिका ६ कारोबार दिनमा औसत १५ हजार कित्ता कारोबार हुने गरेकोमा बिहीबार साढे लाख कित्ताभन्दा धेरै कारोबार हुने संकेत देखिएको छ ।

बिहीबार एक घण्टा अवधिमा कम्पनीको झण्डै १ लाख कित्ता सेयर कारोबारमा आएको हो । नेप्सेका अनुसार बिहीबार पहिलो एक घण्टा अवधिमा कम्पनीको ९८ हजार २७८ कित्ता सेयर २ हजार ८७ ओटा कारोबारबाट १० करोड ६४ लाख २३ हजार ४१४ रुपैयाँमा खरिद बिक्री भएको हो । यसअनुसार आज औसत १०८२ रुपैयाँ ८९ पैसामा कम्पनीको सेयर कारोबार भएको देखिन्छ ।

यसअघि ६ दिनमा २ हजार ३०९ ओटा कारोबार सङ्ख्या मार्फत ९० हजार ६१६ कित्ता सेयर ७ करोड ८५ लाख ७६ हजार ५८७ रुपैयाँ ४० पैसामा खरिद बिक्री भएको थियो । पछिल्ला ६ दिनभन्दा सातौं दिनको एक घण्टाको कारोबार धेरै भएको हो । कारोबार खुलेको पहिलो दिन चैत ६ गते  मंगलबार २४४२ कित्ता कारोबार भएको कम्पनीको सेयर बुधबार २२५६, बिहीबार ७३०५, सोमबार २६ हजार ८८५ कित्ता, मंगलबार २८ हजार ७५३ कित्ता र बुधबार २२ हजार ८८५ कित्ता सेयर कारोबार भएको छ । यसरी ६ दिनमा ९० हजार ६१६ कित्ता सेयर कारोबार भएकोमा बिहीबार एक घण्टामा नै ९८ हजार २७८ कित्ता कारोबार हुनुले कम्पनीको सेयरमा बिक्री चाप बढेको संकेत गर्दछ ।

नेप्सेको मार्केट डेप्थमा कम्पनीको धितोपत्र खरिदका लागि सर्किट मूल्य १०८३ रुपैयाँमा ६ लाख ६६ हजार २७८ कित्ता सहित कुल १० लाख २ हजार ६३७ कित्ताको खरिद माग देखिएको छ । कम्पनीको सेयरमा अधिकर खरिद माग रहेका कारण मार्केट डेप्थमा बिक्रीतर्फ भने शुन्य रहेको छ ।

प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आईपीओ निष्कासन गरेको कम्पनीको सेयर ५५ हजार ४९५ जनाले ५० कित्ता र २६ जनाले ५१ कित्ता आईपीओ हात पारेका थिए । यसअनुसार १८ हजार ४५ रुपैयाँको लगानीको सेयरको भ्यालू बिहीबारसम्ममा ५४ हजार १५० रुपैयाँ पुगेको छ ।

आईपीओ पाएकाले कमाए दुई गुणा नाफा

सर्वोत्तम सिमेन्ट लिमिटेड सेयर मूल्यमा बिहीबार पनि सकारात्मक सर्किट लागेर बढेको छ । बिहीबार ९.९९ प्रतिशत अर्थात ९८ रुपैयाँ ४० पैसाले बढेसँगै कम्पनीको सेयर मूल्य १०८३ पुगेको छ । कम्पनीले ३६० रुपैयाँ ९० पैसामा बुक बिल्डिङ्गबाट आईपीऋो निष्कासन गरेको हो । ५५ हजार ५२१ जनाले न्यूनतम ५० कित्ताका दरले कम्पनीको आईपीओ पाएका छन् । यस आधारमा १८ हजार ४५ हजार लगानी गरेका लगानीकर्ताले ३६ हजार १०५ रुपैयाँ नाफा कमाएका छन् । यो सुरुवाती लगानीको २ गुणा अर्थात २००.०८% बराबरको नाफा हो । आईपीओ हात पारेका लगानीकर्ताले सेयर कारोबार सुरु भएको ७ कारोबार दिनमा दुई गुणा धेरै नाफा कमाएका छन् ।

बिहीबार कम्पनीको सेयर बिहान ९८४ रुपैयाँ ६० पैसामा कारोबार खुला भएको थियो । कम्पनीको सेयर प्रतिकित्ता ९८ रुपैयाँ ४० पैसा बढेर १०८३ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जमा ६० लाख कित्ता आईपीओ सहित सर्वोत्तमको कुल ४ करोड ६५ लाख कित्ता सेयर चैत ५ गते सोमबार नेप्सेमा सूचीकृत भएको हो । नेप्सेले न्यूनतम १८५.३६ देखि ५५६.०८ रुपैयाँसम्मको ओपनिङ कारोबार रेञ्ज प्राप्त गरेको थियो । चैत ६ गते मंगलबारदेखि कारोबार भएको सुरुवाती मूल्य नै ५५६ मा कारोबार सुरु भएको थियो । चैत ६ गते मंगलबारदेखि चैत १५ गते बिहीबारसम्म हरेक दिन सकारात्मक सर्किट लाग्दै आएको छ ।

पहिलो पटक बुकबिल्डिंग विधि मार्फत आईपीओ ल्याएको कम्पनीले सार्वसाधारणबाट उत्साहजनक सहभागिता पाएको थियो । जसले आईपीओ बाँडफाँडका लागि योग्य आवेदक संख्या ९ लाख ५८ हजार ९५९ जना पुगेको थियो भने १३४२ ओटा आवेदन रद्द भएका थिए । अधिक आवेदनका कारण कुल आवेदकमा १८ जनामा १ जनाले मात्र कम्पनीको आईपीओ सेयर हात पारेका थिए ।

सर्वोत्तमले कुल जारी पुँजी ४ अर्ब ६५ करोडको १२.९०३३ प्रतिशतले हुन आउने कुल ६० लाख कित्ता सेयर निष्कासन गरेको हो । यसमध्ये २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्ताहरूलाई र बाँकी ३६ लाख कित्ता कर्मचारी, वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार, म्युचुअल फन्ड, आयोजना प्रभावित स्थानीय बासिन्दा र आम सर्वसाधारणका लागि बिक्री खुला थियो । योग्य संस्थागत लगानीकर्तालाई प्राथमिक सेयर निष्कासन गर्दा ४०१ रुपैयाँ ‘कटअफ प्राइस’ निर्धारण भएपछि आम लगानीकर्ताहरूको लागि १० प्रतिशत छुट दिई ३६० रुपैयाँ ९० पैसामा आईपीओ बिक्री खुला गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।