अन्तर्राष्ट्रिय लगानी आउने वातावरण बनेको छ, लगानीको सुरक्षा गर्न सरकार प्रतिबद्ध : अर्थमन्त्री

0
Shares

अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण बनेको बताएका छन् ।

शिष्टाचार भेटका लागि बिहीबार सिंहदरबारस्थित मन्त्रालय आएकी नेपालका लागि फिनल्याण्डकी राजदूत रिना–रिक्का हेइक्कासँगको भेटमा मन्त्री पुनले नेपालमा लगानीको वातावरण बन्दै गएको बताए ।

मन्त्री पुनले लगानी वातावरण बनाउन सरकारले एक दर्जन बढी विद्यमान कानूनमा संशोधन प्रक्रिया अघि बढाएको जानकारी दिए । लगानीको सुरक्षा गर्न सरकार प्रतिबद्ध रहेको उनको थियो । मन्त्री पुनले आगामी वैशाख १६ र १७ मा काठमाडौँमा हुने लगानी सम्मेलनमा बढीभन्दा बढी अन्तर्राष्ट्रिय लगानीकर्ता ल्याउन लागिपरेको भन्दै त्यसमा सहयोग गर्न राजदूत हेइक्कासँग आग्रह गरे । नेपालमा जलविद्युत, ऊर्जा, पूर्वाधार र सूचना प्रविधि क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई मन्त्री पुनले आग्रह गरे ।

फरक प्रसंगमा उनले १० वर्षअघि नेपालमा महिलाको राजनीतिक अधिकार प्राप्तिको एजेण्डा प्रमुख रहेको स्मरण गर्र्दै हाल नेतृत्व क्षमता विकास तथा आर्थिक सामाजिक पहुँच वृद्धिलाई प्राथमिकतामा राखिएको जनाए । मन्त्री पुनले दौत्य सम्बन्धको अर्धवार्षिकी पार हुनै लाग्दा फिनल्याण्डले नेपालको शिक्षा, स्वास्थ्य र स्वच्छ खानेपानीका क्षेत्रमा गर्दै आएको निरन्तर सहयोगका लागि नेपाल र नेपालीका तर्फबाट धन्यवाद दिए ।

त्यस क्रममा राजदूत हेइक्काले लगानी सम्मेलनअघि नै युरोपेली संघ (ईयू) को नोकिया बिजनेश कम्पनीको उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आउने जानकारी दिइन् । विगतमा मोबाइल कम्पनी सञ्चालन गरेको नोकियाले पछिल्लो समय सूचना प्रविधि र सफट्बेयरको क्षेत्रमा लगानी गर्दै आएको छ ।

फिनल्याण्डको शुद्ध पिउनेपानीको वितरण प्रणाली उच्चस्तरको रहेको भन्दे राजदूतले हेइक्काले त्यस क्षेत्रमा मिलेर काम गर्ने चाहना राखिन् । कर्णाली र मधेसमा स्वच्छ पिउने पानीका लागि फिनिस सरकारको सहयोगमा आयोजना सञ्चालनमा रहेको बताइन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।