धितोपत्र बोर्डको व्यवस्थापछि ११ कम्पनीको खुल्यो लकइन पिरियड

0
Shares

ज्वाँइ सुविधा पाएको भनेर आलोचित हुँदै आएका सामुहिक लगानी कोषहरुले सार्वजनिक निष्कासनको बखत आरक्षणमा प्राप्त हुने सेयर दोस्रो बजारमा कारोबार खुला हुने वित्तिकै धमाधम बिक्री गरेर बाहिरिने प्रवृत्ति बढेसँगै धितोपत्र बोर्डले कडाई गर्यो ।  पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले कार्तिक २० गते आरक्षित सेयरमा ६ महीनाको लकइनको व्यवस्था गर्यो । कार्तिक २१ गतेदेखि लागू गरिएको उक्त व्यवस्था बमोजिम म्युचुअल फण्डहरुले आईपीओमा प्राप्त गरेको सेयर ६ महिनासम्म ‘लकइन’ मा रहने र बिक्री गर्न बन्देज लगाइएकाे थियाे ।

नेपाल धितोपत्र बोर्डले म्युचुअल फण्डहरुलाई सेयर निष्काशन तथा बाडफाँड भएको ६ महिनासम्म आईपीओको सेयर बेच्न वा नामसारी गर्न नपाउने गरी गरेको कार्तिक २१ गतेदेखि नै लागू हुने लागू गरेको व्यवस्थालाई मङ्सिर २५ गते शुक्रबार थप स्पष्ट पार्यो । धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले सूचीकृत कम्पनीले ‘लकइन पिरियड’ सकिनुभन्दा ३० अघि नै यस सम्बन्धी जानकारी दिनुपर्ने निर्णय गरेको थियो । साथै बोर्डले यस्तो सूचना नेप्से र सिडिएस एण्ड क्लियरिङ लिमिटेडले यस्तो जानकारी प्राप्त भएदेखि लकइन अवधि सकिएको एक हप्तासम्म वेबसाइटमा सार्वजनिक गर्नुपर्ने व्यवस्था समेत गरेको थियो । यद्यपी यसअघि सम्बन्धित संस्थाका संस्थापक सेयरधनी, कर्मचारी र स्थानीय बासिन्दाका हकमा लकइन थियो ।

बोर्डको उक्त व्यवस्था पश्चात मात्रै ११ कम्पनीको लकइन पिरियड सकिएको छ । लकइन अवधि खुला हुने एक महीना अगावै सार्वजनिक सूचना दिनुपर्ने धितोपत्रको बोर्डको निर्देशनपछि एघार ओटा कम्पनीको लकइन सकिसकेको छ । जसमा हाथवे इन्भेस्टमेन्ट नेपाल, सिटिजन लाइफ इन्स्योरेन्स, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), मान्डु हाइड्रोपावर, महिला लघुवित्त, ग्रीनलाइफ हाइड्रोपावर, श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, चन्द्रागिरि हिल्स, कुथेली बुखरी स्मल हाईड्रोपावर र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेका छन् ।

बोर्डको उक्त व्यवस्था पालना गर्दै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले पहिलो पटक लकइन खुला हुने सूचना जारी गर्यो । उक्त कम्पनीको ३ करोड ३ लाख ५६ हजार १०६ कित्ता संस्थापक सेयरको लकइन २०८० पुस ९ गतेदेखि समाप्त भएको हो । साबिक प्रभु लाइफ लिमिटेडले सर्वसाधारण समूहबाट कर्मचारीका लागि जारी भएको २ लाख ५५ हजार ३६ कित्ता र संस्थापकको लगानी रहेको ३ करोड १ लाख १ हजार ७० कित्ता सेयरको पनि सोही अवधिमा लकइन समाप्त भएको हो । साबिक महालक्ष्मी लाइफ इन्स्योरेन्सले भने आईपीओ जारी गरेको छैन । साबिक प्रभु लाइफले २०७७ मंसिर २९ गतेदेखि पुस २ गतेसम्म जारी पुँजी २ अर्बको ३०% बराबरको कूल ६० लाख कित्ता आईपीओ निष्काशनमा ल्याएर पुस १० गते बाँडफाँड गरेको थियो । सो मध्ये सामुहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई ३, ३ लाख कित्ता छ्ट्टाएर ५४ लाख कित्ता सेयर सर्वसाधारणमा बिक्री गरेको थियो ।

यस्तै दोस्रो कम्पनीको रुपमा कुथेली बुखरी स्मल हाईड्रोपावरले निष्कासन गरेको सेयरमा सामूहिक लगानी कोषका लागि आरक्षित गरेको सेयरको लकइन समाप्त भइको हो । उक्त कम्पनीको ६ हजार ९३ कित्ता सेयर माघ ६ गते समाप्त भएको थियो । कम्पनीले असार २६ गतेदेखि आज २९ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख १ हजार १५१ कित्ता शेयर निष्काशन गरेको थियो । उक्त सेयर २०८० साउन ७ गते सर्वसाधारणहरुमा साधारण सेयर बाँडफाँड गरेको थियो । सामूहिक लगानी कोष नियमावली, २०६७ को परिच्छेद १० को नियम ४६ बमोजिम धितोपत्र सार्वजनिक निष्काशन गर्नु अगावै सार्वजनिक निष्काशन गरिने धितोपत्रको कम्तीमा ५ प्रतिशत धितोपत्र सामूहिक लगानी कोषको लागि छुट्याउनुपर्ने व्यवस्था भए बमोजिम यस कम्पनीले ६ हजार ९३ कित्ता सेयर सामूहिक लगानी कोषको लागि छुट्याई बाँडफाँड गरेको थियो ।

चन्द्रागिरि हिल्स लिमिटेडको संस्थापक, आयोजना प्रभावित स्थानीय बासिन्दा र कर्मचारीको गरी कुल १ करोड ३८ लाख ६८ हजार १८३ कित्ता सेयरको लकइन पिरियड माघ ८ गते सकिएको थियो । कम्पनीको संस्थापकको १ करोड ३५ लाख कित्ता सेयर, ३ लाख ६ हजार ८१९ कित्ता स्थानीय बासीको र ६१ हजार ३६४ कित्ता कर्मचारीको सेयरमा लकइन अवधि सकिएको हो । होटल तथा पर्यटन समूहका कम्पनीमा पनि बाँडफाँट भएको ३ वर्षपछि संस्थापक, स्थानीयबासी तथा कर्मचारीको सेयरमा लकइन अवधि सकिने व्यवस्था छ । चन्द्रागिरि हिल्स लिमिटेडको २०७७ पुस २४ गतेदेखि पुस २८ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ निष्काशन गरी माघ ९ गतेसम्म बाँडफाँड गरेको थियो ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सामुहिक लगानी कोषहरुलाइ छुट्टाएको ३ लाख ११ हजार १४१ कित्ता सेयरको लकइन माघ २९ गतेदेखि खुला भएको छ । कम्पनीका अनुसार सार्वजनिक सेयर निश्कासन गर्दा सामुहिक लगानी कोषहरुलाइ छुट्टाएको सेयरहरुमध्ये सो निर्देशन जारी भए पश्चात लकइनमा राखिएको ३ लाख ११ हजार १४१ कित्ता सेयरको लकइन अवधि माघ मसान्तमा सकिएको हो । कम्पनीले जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको सेयर निष्कासनमा ल्याएको थियो । कम्पनीले २०८० साउन २३ देखि २६ गतेसम्म आईपीओ निष्कासन गरी ३१ गते बाँडफाँड गरेको थियो ।

श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको संस्थागत लगानीकर्ता डोल्मा ईम्प्याक्ट १ को नाममा रहेको ३८ लाख ५१ हजार कित्ता सेयरको लकइन अवधि फागुन २ गते समाप्त भएको थियो । कम्पनीको संस्थापक सेयरधनीको रुपमा रहेको डोल्मा इम्प्याक्ट–आईको स्वामित्वमा रहेको उक्त सेयर खरीद विक्री वा हस्तान्तरण वा लेनदेखन गर्न नसक्ने गरी रोक्का रहेको थियो । एक वर्षसम्म रोक्का रहने व्यवस्था बमोजिम रोक्का रहेको उक्त सेयरको लइकन फागुन २ गतेदेखि सकिने जानकारी कम्पनीले दिएको छ । उक्त संस्थाबाट यस कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गरेका प्रतिनिधिले आफ्नो पदबाट राजीनामा दिएको र फागुन ३ गतेदेखि लागू हुने गरी उक्त राजीनामालाई समेत कम्पनीले स्वीकृत गरेको जानकारी दिएको थियो। कम्पनीले २०७९ साउन ४ गतेदेखि साउन ८ गतेसम्म १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने प्रतिसेयर १०० अंकित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता आईपीओ निष्कासन गरी साउन १८ गते बाँडफाँड भएको थियो ।

ग्रीनलाइफ हाइड्रोपावरको संस्थापकको सेयर, कर्मचारी र आयोजना प्रभावित स्थानीयलाई बिक्री गरिएको समेत कुल १ करोड ४५ लाख ७३ हजार ५२८ कित्ता सेयरको लकइन फागुन ६ गते सकिएको थियो । कम्पनीको संस्थापक समूहको १ करोड ४४ लाख कित्ता तथा कर्मचारीको ६९ हजार ९२८ कित्ता र आयोजना प्रभावित स्थानीयको १ लाख ३ हजार ६०० कित्ता साधारण सेयर गरी कुल १ करोड ४५ लाख ७३ हजार ५२८ कित्ता सेयरको लकइन पिरियड फागुन ६ गतेदेखि सकिएको हो । सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको हकमा नियमानुसार रोक्का नै छ । कम्पनीले २०७७ माघ २३ गतेदेखि २७ गतेसम्म प्रति सेयर १०० अंकित मूल्यका १८ लाख कित्ता र स्थानीय बासिन्दाका लागि जारी सेयरमा बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण सेयर निष्काशन गरेर फागुन ७ गते बाँडफाँड गरेको थियो।

यस्तै महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयरधनी, कर्मचारीहरुका लागि जारी गरेको कुल ६ लाख ५ हजार कित्ता सेयरको लकइन अवधि फागुन १३ गतेदेखि सकिएको छ । कम्पनीको संस्थापक तर्फको ६ लाख कित्ता र कर्मचारीतर्फको ५ हजार कित्ता ससेयर लकइनमा रहेको हो । सर्वसाधारणमा आईपीओ निष्कासन गरी बाँडफाँड गरेको मितिदेखि ती वर्ष समाप्त नभएसम्म संस्थापक र कर्मचारीतर्फको सेयर लकइनमा राख्नुपर्ने व्यवस्था बमोजिम लकइनमा राखिएको थियो । कम्पनीले २०७७ साल माघ ३० गतेदेखि फागुन ५ गतेसम्म कर्मचारी समेत सर्वसाधारणमा आईपीओ निष्कासन गरी फागुन १४ गते बाँडफाँड गरेको थियो । बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ मा भएको व्यवस्था बमोजिम भने संस्थापक सेयरधनीतर्फको सेयरको लकइन गत असोज ३० गतेदेखिनै समाप्त भइसकेको भनाई समेत कम्पनीको रहेको छ । लकइनपछि सर्वसाधारण सेयर सरह कारोबार हुने उल्लेखित कित्ता सेयरमध्ये सञ्चालक सदस्यमा रहेका व्यक्ति तथा कम्पनीको उच्च तहमा रहेका कर्मचारीहरूले भने खरीद बिक्री गर्न पाउनेछैनन् ।

मान्डु हाइड्रोपावर कम्पनी लिमिटेडले प्राथमिक निष्कासनका बेला म्युचुअल फन्डलाई छुट्ट्याएको ७२ हजार १३३ कित्ता सेयरको लकइन फागुन २३ गते खुला भैसकेको छ । कम्पनीले आईपीओ निष्कासनका बखत पाँच प्रतिशत हुन आउने ७२ हजार १३३ कित्ता सेयर म्युचुअल फण्डलाइ आरक्षित गरेको थियो । तर उक्त प्रावधान जारी हुनु अगावै ४९ हजार १९८ कित्ता सेयर बिक्री भइसकेको थियो । यसरी बोर्डको व्यवस्थापछि बिक्री भएर लकइनमा परेको बाँकी २२ हजार ९३५ कित्ता सेयरको लकइन खुलेको थियो । कम्पनीले २०८० भदौ २४ गते आईपीओ बाँडफाँड गरेको थियो । सोही मितिबाट यहि फागुन २३ गते ६ महिना पूरा हुँदैछ ।माण्डु हाइड्रोपावर लिमिटेडले आफ्नो जारी पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १२५ अर्थात् १६ लाख ३६ हजार ३७० कित्ता साधारण सेयर बिक्री खुला गरेको थियो ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को १२ करोड ९६ लाख कित्ता संस्थापक सेयरको लकइन फागुन २३ गते सकिएको छ । यद्यपी यो राष्ट्र बैंकको नियामकीय क्षेत्रभित्र पर्ने भएकाले अन्य कम्पनीको सेयरको लक इन पिरियड सकिएपछि सबै सेयर सर्वसाधारण सरह कारोबार भने हुनेछैन । अन्य बैंक वित्तीय संस्थाको संस्थापक सेयर किनबेच भएजस्तै गरी संस्थापक सेयरको कारोबार संकेतमा किनबेच हुनेछ । संस्थापकले आफ्नो सेयर बिक्री गर्नुपरे बैंक निवेदन दिनुपर्ने हुन्छ। त्यसपछि बै.कले विद्यमान सेयधनीलाई प्राथमिकतामा राखेर ३५ दिने सूचना मार्फत बिक्री खुला गरी संस्थापकले किन्न नचाहेको खण्डमा मात्रै सर्वसाधारणमा दोस्रो चरणमा बिक्री हुन्छ। यसरी बैंकको संस्थापक सेयर खरिद गर्ने लगानीकर्ता संस्थापक सेयरधनी नै रहने छ। निफ्रामा हाल सरकारको १० प्रतिशत संस्थापक सेयर छ । विभिन्न वाणिज्य बैंकहरुको २०.८९ प्रतिशत संस्थापक सेयर, जीवन र निर्जीवन बीमा कम्पनीहअरुको १८.९७ प्रतिशत तथा अन्य संघसंस्थाहरुको १०.१४ प्रतिशत संस्थापक सेयर छ । त्यस्तै सर्वसाधारणको ४० प्रतिशत सेयर हिस्सा छ ।

यसैगरी सिटिजन लाइफ इन्स्योरेन्सको म्युचुअल फन्डलाई आरक्षित ४ लाख ३४ हजार ९०६ कित्ता सेयरको लकइन फागुन २७ गते सकिएको थियो । कम्पनीले प्राथमिक निष्कासनको ५ प्रतिशत सेयर म्युचुअल फन्डका लागि छुट्ट्याएको थियो । धितोपत्र बोर्डले म्युचुअल फन्डलाई ६ महिने लकइन पिरियडको व्यवस्था लागू गरिदिएपछि फन्डहरुसँग होल्डिङमा रहेको ५ लाख ६२ हजार ५०० कित्ता सेयरमध्ये बाँकी ४ लाख ३४ हजार ९०६ कित्ता सेयरको लकइन खुलेको थियो । लकइन प्रावधान जारी हुनु अगावै म्युचुअल फन्डले १ लाख २७ हजार ५९४ कित्ता सेयर बिक्री गरिसकेका थिए । सिटिजन लाइफ इन्स्योरेन्सले २०८० भदौ १५ देखि भदौै १९ गतेसम्म सर्वसाधारणमा आईपीओ बिक्रीमा ल्याएर भदौ २८ गते बिहीबार बाँडफाँड गरेको थियो ।

पछिल्लो पटक हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको सेयरमा चैत १ गतेदेखि ‘लक इन’ अवधि सकिएको छ । कम्पनीको ३६ हजार ५१२ कित्ता सेयरको ‘लक इन’ अवधि चैत १ गतेदेखि समाप्त भएको हो । कम्पनीले जारी पूँजी १ अर्ब १७ करोड रूपैयाँको १२ दशमलव ५० प्रतिशत आईपीओ सर्वसाधारणमा जारी गरको थियो । सर्वसाधारणमा विक्री गरेको आईपीओमध्ये ५ प्रतिशत दरको १ लाख ४६ हजार २५० कित्ता मध्ये ३६ हजार ५१२ कित्ता सेयर भने लइकनमा राखिएको थियो । कम्पनीले २०८० भदौ २१ गतेदेखि २५ गतेसम्म आईपीओ बिक्री खुला गरेर असोज २ गते बाँडफाँड गरेको थियो ।

बैशाख १५ भित्र ६ कम्पनीका ३ करोड बढी कित्ता सेयरमा कायम ‘लकइन’ सकिँदै

यस्तै अगामी एक महीनाभित्र थप ६ कम्पनीका ‘लकइन अवधि’ सकिने सूचना जारी गरिसकेका छन् । ६ कम्पनीका ३ करोड ८ लाख ८६ हजार २४२ कित्ता सेयरको ‘लकइन’ अवधि सकिने भएको हो । सम्बन्धित कम्पनीका सेयर रजिष्टार कम्पनीहरुले छुट्टाछुट्टै सार्वजनिक सूचना जारी गर्दै चैतमहीनाको बाँकी अवधि र वैशाख १५ गतेभित्र लकइन अवधि सकिनेबारे जानकारी दिएका हुन् ।

ती कम्पनीले जारी गरेका प्रभावित प्रभावित स्थानीय बासिन्दा, कर्मचारी तथा म्युचुअल फन्ड र संस्थापक समूह, समेतको गरी एक महिना अवधिमा उक्त परिमाणको सेयर लकइन अवधि सकिएर धितोपत्र बाजरमा कारोबार योग्य हुने भएको हो । यसरी सूचीकृत कम्पनीले जारी गरेको आईपीओ लकइन अवधि समाप्त भएसँगै एक महिना पश्चात धितोपत्र बजारमा कारोबार योग्य हुने छ ।

स्थानीय स्रोत साधनको प्रयोग गर्ने कम्पनीले स्थानीय बासिन्दाको लागि अनिवार्य सेयर जारी गर्नुपर्ने व्यवस्था छ। यसरी आरक्षणको रुपमा दिइएको यो सेयरको लकइन पिरियड तीन वर्षको हुने गर्छ । सर्वसाधारणलाई सेयर बाँडफाँड गरेको मितिबाट ३ वर्षसम्म संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीको सेयर लक–इनमा राख्नुपर्ने व्यवस्था छ ।

लकइन पिरियड खुलेसँगै बजारमा सेयर आपूर्ति बढ्ने भएको भन्दै सम्बन्धित कम्पनीको मूल्य घट्ने गर्छ । दोस्रो बजारमा अन्य सर्वसाधारणसँग रहेको यस्ता कम्पनीको सेयर किनबेच भइरहेको हुन्छ । यस्तोमा यो सूचना अभावमा नयाँ लगानीकर्ता जोखिममा पर्ने सक्नेभन्दै आवाज उठ्ने गरेको थियो । सोही आवाजलाई सम्बोधन गर्न निवर्तमान अध्यक्ष रमेश हमालले म्युचुअल फन्डको आरक्षित सेयरमा समेत ६ महीनाको लकइन लागू गरेका हुन् । लकइन खुला भएसँगै सेयर संख्या थप हुने र मूल्यमा प्रभाव पर्न सक्ने भएकाले बोर्डको व्यवस्थापछि लगानीकर्तालाई पहिले नै लकइन अवधि सकिनेबारे सार्वजनिक सूचनामार्फत जानकारी गराउन थालिएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।