एनआईबिएल प्रगति फन्ड खारेजी प्रक्रियामा, पाँच कम्पनीको सेयरको बोलकबोल खुला

0
Shares

एनआईबिएल प्रगति फन्ड परिपक्व भएसँगै खारेजी प्रक्रिया अघि बढाएको छ । गत पुस २६ गते परिपक्व भएको योजनाले सूचीकरण हुन बाँकी रहेका पाँच कम्पनीको कुल ११ हजार ३८९ कित्ता बोनस तथा हकप्रद सेयरको चैत १९ गतेदेखि बोलकबोल खुला गरेको हो ।

फन्डले सामूहिक लगानीकोष नियमावली, २०६७ को नियम ३२ को उपनियम ३ को व्यवस्थाबमोजिम योजनाको नाममा रहेको लगानीलाई तीन महीनाभित्र नगदमा परिणत गरी इकाईधनीलाई उनीहरूको स्वामित्वको अनुपातमा फिर्ता गर्नुपर्ने व्यवस्था बमोजिम उक्त सेयर बिक्रीमा ल्याएको जनाएको छ ।

बिक्री खुला गरिएको सेयरमा रिडी पावरको ६ हजार ५८९ कित्ता हकप्रद सेयर, माउन्टेन इनर्जीको १ हजार ४१० कित्ता बोनस, समाज लघुवित्तको २२ कित्ता बोनस सेयर, हिमालयन रिइन्स्योरेन्सको ४२८ कित्ता बोनस र डिप्रोक्स लघुवित्तको २ हजार ९२९ कित्ता बोनस सेयर रहेको छ ।

इच्छुकले चैत २७ गते अपराह्न ३ बजेभित्र एनआइएमबि एस क्यापिटलको लाजिम्पाट, काठमाडौंमा रहेको कार्यालयमा बोलपत्र दर्ता गरिसक्नुपर्नेछ ।तोकिएको अवधिभित्र प्राप्त बोलपत्र चैत २८ गते बिहान ११ बजे खोलिने छ । सबै सेयरको मूल्य प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी १० अंकले भाग जाने संख्यामा आवेदन दिनुपर्नेछ ।

एनआईबिएल प्रगति फन्ड एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित योजना हो । जसको कोष प्रवर्द्धकमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड रहेको छ। नेपाल धितोपत्र बोर्डबाट फागुन ६ गते प्राप्त निर्देशनबमोजिम योजना खारेजी प्रक्रियामा लगिएको जानकारी योजना व्यवस्थापकले दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।