सुस्त बजारमा लघुवित्तको सेयरमा लगानीकर्ताको आकर्षण

0
Shares

साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजार खासै उत्साहप्रद रहन सकेन । झिनो अंकले घटेको यस दिनको बजारमा कारोबार रकम पनि संकुचित बनेको छ । बजार सुस्त बन्दै गर्दा आज लघुवित्तको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

वित्तीय प्रणालीमा कायम रहेको अत्याधिक तरलता, अर्थ मन्त्रालयको ब्रोकर कमिसन घटाउने तयारी, घट्दो ब्याजरदका बाबजुत पनि लगानीकर्ताको मनोबल कमजोर बन्दा सेयर बजारमा कारोबार फस्टाउन नसकेको हो । मंगलबार नेप्से १.८५ अंकले घटेर २०१०.२१ बिन्दुमा झरेको छ । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ०.५३ प्रतिशतले बढ्दा फ्लोट इन्डेक्स ०.१२ ले घटेको छ । सेन्सेटिभ फ्लोट इन्डेक्स भने ०.१८ अंकले वृद्धि भएको छ ।

मंगलबार लघुवित्त उपसमुहगत सूचक सर्वाधिक १.८९ प्रतिशतले बढेर ३९१०.३४ बिन्दुमा पुगेको बजारमा सेयर मूल्य बढ्ने दश कम्पनीभित्र ९ ओटा कम्पनी यसै समुहका रहेका छन् । यस्तै फाइनान्स, लगानी, जीवन बीमा, म्युचुअल फन्ड र ब्इापार सामान्य बढेको छ । आज जलविद्युत सर्वाधिक ०.७९ प्रतिशतले घटेको बजारमा होटल तथा पर्यटनमुलक, अन्य, उत्पादन तथा प्रशोधन, बैंकिङ्ग, विकास बैंक र निर्जीवन बीमको इन्डेक्स पनि समान्य घटेको छ । आज १५७ कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा १३७ कम्पनीको मात्र मूल्य बढेको छ । १७ कम्पनीको भाउ स्थीर रह्यो ।

यसदिन दिनभरमा ३१२ कम्पनीका ६१ लाख ३१ हजार ६२१ कित्ता सेयर २ अर्ब २९ करोड १६ लाख ४५ हजार ५८५ रुपैयाँमा खरिद बिक्री भएका छन् । अघिल्लो दिन सोमबार ३१५ कम्पनीका ७२ लाख ९० हजार कित्ता सेयर २ अर्ब ८७ करोड ४७ लाख रुपैयाँमा खरिद बिक्री भएका थिए । दैनिक कारोबार रकम ५८ करोड ३१ लाख रुपैयाँले घटेको हो ।

कारोबार रकमका आधारमा आज गोर्खाज फाइनान्सशीर्ष स्थानमा रहेको छ। दश रुपैयाँ बढेर ८८० मा खरिद बिक्री भएको कम्पनीको सेयर १४ करोड ९८ लाख ८५ लाख रुपैयाँको कारोबार भयो । सर्वोत्तम सिमेन्टको सेयर मूल्य घट्दा सोमबार ५ लाख बढी कारोबार भएकोमा आज १ लाख ३ हजारमा सीमित भएको छ । कम्पनीकाृृ ९ करोड ५७ लाखको सेयर किनबेच भएको छ । यस्तै तारागाउँ रिजेन्सी होटलको ७ करोड ४८ लाख , १०% एनएमबि डिबेञ्चर २०९० को ६ करोड २ लाख र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको ५ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

मंगलबारको बजारमा गुराँस लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्दै १६३३.५० रुपैयाँ पुगेको छ । यस्तै गणपति लघुवित्तको सेयर मूल्य पनि ९.९५ प्रतिशतले बढेर १०७२, उपकार लघुवित्त ८.६४ प्रतिशतले बढेर १३२०, वीन लघुवित्तको ६.९४ प्रतिशतले बढेर १२७४, स्वाभिमान लघुवित्तको ६.५० प्रतिशतले बढेर ११६५, किसान लघुवित्तको ६.१९ प्रतिशतले बढेर ८९२, जनउत्थान सामुदायिक लघुवित्तको ६.११ प्रतिशतले बढेर १०४०, पिपुल्स पावर लिमिटेडको ६.०७ प्रतिशतले बढेर ५९४, नेष्डो समृद्ध लघुवित्तको ५.०८ प्रतिशतले बढेर १७५५ रुपैयाँ र सपोर्ट लघुवित्तको सेयर ५.०२ प्रतिशतले बढेर १२३५ रुपैयाँ पुगेको छ ।

आजको बजारमा ज्योति विकास बैंक बन्ड २०८७ को मूल्य सर्वाधिक ७.५० प्रतिशतले घटेको छ । यसैगरी मनकामना इञ्जिनियरिङ्गको ५.२८ प्रतिशत, तारागाउँ रिजेन्सी होटलको ४.९४ प्रतिशत, मायाखोला हाइड्रोपावरको ४.२६ प्रतिशत र चिरख्वा हाइड्रोपावरको सेयर मूल्य ४.१९ प्रतिशतले घटेको छ ।

मंगलबार कुल बजार पुँजीकरण २ अर्ब ९४ करोड १५ लाख रुपैयाँले घटेर ३१ खर्ब ८७ अर्ब ४४ करोड ५१ लाख ३२ हजार रुपैयाँमा झरेको छ । सोमबार ३१ खर्ब ९० अर्ब ३८ करोड ६६ लाख रुपैयाँ रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।