विद्युत नियमन आयोगका अध्यक्षसहित चार सदस्यले लिए शपथ, बिहीबार पदभार ग्रहण

0
Shares

विद्युत नियमन आयोगका नवनियुक्त पदाधिकारीहरुले बुधबार पद तथा गोपनियताको शपथ लिएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री वर्षमान पुनले आयोगका नवनियुक्त अध्यक्ष दिल्लीबहादुर सिंहलाई शपथ गराएका थिए।

त्यसैगरी अध्यक्ष सिंहले आयोगका नवनियुक्त सदस्य रामप्रसाद धिताल, रामेश्वरप्रसाद कलवार, रामकृष्ण खतिवडा र भगीरथी भट्टराई (ज्ञवाली) लाई पद तथा गोपनियताको शपथ गराएका थिए। आयोगका नवनियुक्त पदाधिकारीले बिहीबार पदभार ग्रहण गर्ने कार्यक्रम छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ऊर्जा क्षेत्रको नियमन निकायका रुपमा रहने विद्युत नियमन आयोगका अध्यक्ष तथा चार सदस्य सहित पाँच पदाधिकारीहरुको नियुक्ति गर्दै आयोगलाई पूर्णता दिएको थियो।

सरकारले आयोगको अध्यक्षमा विद्युत विकास विभागको पूर्वमहानिर्देशक दिल्लीबहादुर सिंहलाई नियुक्त गरेको थियो। त्यसैगरी सदस्यमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका पूर्वकार्यकारी निर्देशक रामप्रसाद धिताल, नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक रामेश्वरप्रसाद कलवार, रामकृष्ण खतिवडा र भगीरथी भट्टराई (ज्ञवाली) नियुक्त भएका थिए।

शपथ ग्रहण पश्चात नवनियुक्त अध्यक्ष सिंहले पदाधिकारीको अनुभव, क्षमता र विशेषज्ञताका आधारमा कामको बाँडफाँड गरी प्रभावकारी कार्यसम्पादन गरिने बताए।

सरकारले समग्र ऊर्जा क्षेत्रलाई व्यस्थित बनाउन २०७४ भदौ १९ गते ‘विद्युत नियमन आयोग ऐन, २०७४’ जारी गरेको थियो। आयोगले विद्युत्को उत्पादन, प्रसारण, वितरण वा व्यापार सम्बन्धमा नियमन गर्न प्राविधिक व्यवस्थापन गर्ने, महसुल निर्धारण गर्ने तथा विद्युत खरीद बिक्रीको नियमन गर्ने, उत्पादकबीच प्रतिस्पर्धा कायम गरी उपभोक्ताको हित संरक्षण गर्ने, ऊर्जा क्षेत्रसँग सम्बन्धित नियकाबीच आएका विवाद समाधान गर्नेलगायत काम गर्नेछ।

आयोगका अध्यक्ष तथा सदस्यको पदावधि पाँच वर्षको रहने छ।