नौ महिनामा डेढ अर्ब खुद नाफा कमाएको प्राइम बैंकको निक्षेप भन्दा कर्जा धेरै

0
Shares

प्राइम कमर्सियल बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ५४ खुद नाफा गरेकोे छ । गतबर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा ३१ प्रतिशतले बढी हो ।

यस अवधिमा बैंकको वितरण योग्य नाफा एक अर्ब ७९ लाख रुपैयाँ छ ।

बैंकका अधिकांश सूचकहरुमा उत्साहप्रद सुधार देखिए पनि गत वर्षको यसै अवधिको तुलनामा बैंकको निक्षेप घटेको छ ।
चुक्ता पूँजी यथावत रहेकोे बैंकले जगेडाकोष, ब्याज आम्दानी, संचालन नाफा बढाएको छ । तर बैंकको खराब कर्जाको अनुपात भने केहि बढेको छ ।

आठ अर्ब तीन करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा चार अर्ब ६९ करोड सञ्चित रहेको छ । गत बर्षको मुनाफा बाट १६ प्रतिशत बोनस घोषणा गरेको बैंकको बोनस पूँजीकृतपछि चुक्तापूँजी ९ अर्ब ३१ करोड पुग्नेछ ।

यस अवधिमा बैंकले ६८ अर्ब ६५ करोड निक्षेप संकलन गरेको छ भने ६९ अर्ब ८६ करोड कर्जा प्रवाह गरेको छ । बैंकको निक्षेप भन्दा कर्जाको आकार ठूलो छ । बैंकको कर्जा चार प्रतिशतले बढ्दा निक्ष्प साढे पाँच प्रतिशतले घटेको छ । बैंकको सिसिडि अनुपात ७८.४३ प्रतिशत छ ।

कर्जा विस्तारमा आक्रमक देखिएको बैंकको खुद ब्याज आम्दानी ४२ प्रतिशतले बढेको छ । बैंकले २ अर्ब ६० करोड खुद ब्याज आम्दानी गरेको छ ।

बैंकको खराब कर्जा १.५८ प्रतिशत छ । गतबर्षको तेस्रो त्रैमासमा यस्तो अनुपात १.०६ प्रतिशत थियो ।

बैंकले प्रतिशेयर आम्दानी २५ रुपैयाँ ६९ पैसा कायम गरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ४८ पैसा, कोषको लागत ८.२९ प्रतिशत र आधार ब्याजदर १०.२ र पूँजी कोष अनुपात १२.८४ प्रतिशत रहेको छ ।

पोखराको ओम डेभलपमेन्ट बैंकलाई खरिद गर्ने सम्झौता गरेको बैंकको खरिद प्रक्रिया अहिले भाँडिएको छ ।