मझगाउँ विमानस्थल निर्माणलाई निरन्तरता दिन माग


कञ्चनपुरको मझगाउँ विमानस्थल निर्माणलाई निरन्तरता दिन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आइतबार ज्ञापनपत्र बुझाइएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहमा सहभागी हुन पुगेका प्रधानमन्त्रीलाई विमानस्थल पुनः सञ्चालन समितिका अध्यक्ष रमेश चन्दले ज्ञापनपत्र बुझाएका हुन् ।

“चलनचल्तीमा रहेको विमानस्थलभन्दा दक्षिणतर्फ रहेको करिब छ सय ६५ मिटर लम्बाइसम्मको क्षेत्र (रत्नवाटिका र नेपाली सेनाले खेलमैदानका रुपमा प्रयोग गर्दै आएको क्षेत्र) लाई विसं २०५१ जेठ ९ गते प्रकाशित राजपत्रअनुसार प्रस्ट रुपमा विमानस्थलका रुपमा घोषणा गरिएको छ,” प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ, “सो क्षेत्रलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले संरक्षित क्षेत्र जनाउँदै निर्माणमा अवरोध पु¥याएको छ ।”

वातावरणीय प्रभाव मूल्याङ्कनका लागि सहमतिपत्र नदिएकाले बाधा–अड्चन हटाई निर्माण सञ्चालन गराउनका लागि निकुञ्ज कार्यालयलाई निर्देशन दिनका लागि प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा आग्रह गरिएको छ । विमानस्थल पुनः सञ्चालनका लागि निर्माण अघि बढाउन भीमदत्त नगरपालिकाले १५, दोधाराचाँदनी नगरपालिकाले १०, सुदूरपश्चिम प्रदेश सरकारले २५ र सङ्घीय सरकारले ५० प्रतिशत खर्च ब्यहोर्ने गरी विसं २०७७ साल फागुन ३ गते सम्झौता गरिएको थियो ।
सम्झौताअनुसार विमानस्थलको निर्माण अगाडि बढाउनका लागि ठेक्का प्रक्रियामार्फत कार्य भइरहेकामा निकुञ्ज र निकुञ्ज सुरक्षार्थ तैनाथ सेनाले अवरोध पु¥याउँदै आएको जनाइएको छ । विमानस्थलको दक्षिणतिर धावन मार्ग विस्तारका लागि नेपाली सेनाले प्रयोग गर्दै आएको रत्नवाटिका र खेल मैदानसम्म विमानस्थल विस्तार गर्न लागिएको छ । विमानस्थल विस्तारका लागि वातावरणीय प्रभाव अध्ययनका लागि सहमति दिन निकुञ्जले अस्वीकार गरेपछि विमानस्थल निर्माण अलपत्र परेको छ ।

प्रधानमन्त्री दहालले ज्ञापनपत्र बुझ्दै विमानस्थल निर्माण सञ्चालन गर्नका लागि पहल गरिने आश्वासन दिएका छन् । विसं २०२३ मा निर्माण भई सञ्चालनमा ल्याइएको मझगाउँ विमानस्थल विसं २०५६ सम्म सञ्चालनमा रहेको थियो । देशमा सशस्त्र द्वन्द्व सुरु भएपछि सुरक्षाको कारण देखाउँदै विमानस्थल बन्द गरिएको थियो ।

यसैबीच, तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा विस्थापनमा परेका आरक्ष विस्थापित परिवारले प्रधानमन्त्री दाहाललाई भेटेर चाँडोभन्दा चाँडो पुनःस्थापन गराई वर्षौंदेखिको समस्या सुझाउन माग गरेका छन् । प्रधानमन्त्रीलाई भेट्ने कार्यसँगै समस्या समाधानका लागि पहल गरिदिन जनाउँदै ज्ञापनपत्र बुझाइएको आरक्ष सङ्घर्ष समितिका अध्यक्ष हिरासिंह भण्डारीले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।