बैंकहरुको खुद निष्क्रिय कर्जा झनै बढ्यो, एभरेष्ट र एसबीआई पछि कुमारीको न्यून

0
Shares

वाणिज्य बैंकहरुको कर्जा नोक्सानी व्यवस्था नगरेको कर्जाको आकार समेत बढ्दै गएको छ । बैंकहरुको कमसल र संस्कास्पद कर्जामा भएको वृद्धिले खुद निष्क्रिय कर्जा बढाएको हो ।

एकिकृत निर्देशन २०८० अनुसार कर्जालाई सक्रिय र निष्क्रिय कर्जामा विभाजन गरीएको छ । सक्रिय कर्जा अन्तर्गत असल र सुक्षम निगरानीमा रहेको कर्जा पर्छन भने निष्क्रिय कर्जामा कमसल, संकास्पद र खराबमा वर्गिकरण गरिएको छ । बैंकहरुले खराब कर्जामा वर्गिकरण गरेको कर्जालाइ शतप्रतिशत नोक्सानी व्यवस्था गरेका हुन्छन भने कमसल र संकास्पदलाई क्रमस २५ र ५० प्रतिशत कर्जा नोक्सानी गरेका हुन्छन । बैंकहरुले कर्जा निष्क्रिय भएको तर नोक्सानी व्यवस्था शतप्रतिशत नगरेको अर्थात कमसल र संकास्पद कर्जाको नोक्सानी व्यवस्था नभएको अंशलाई खुद निष्क्रिय कर्जाको रुपमा देखाउने गरेका छन् ।

बैंकहरुले लगानी गरेको कर्जा अर्थात सम्पत्तिको स्तर कस्तो छ भन्ने कुराको मापन पनि खुद खराब कर्जा मार्फत हुने गर्छ । बैंकहरुको औसत खराब कर्जा हेर्दा एक प्रतिशत भन्दा केही धेरै भएको देखिन्छ । यसले वित्तीय प्रणालीको जोखिम न्यून रहेको स्पष्ट हुन्छ ।

बैंकहरुको कर्जाको डिफल्ट रेट बढेसंगै खुद निष्क्रिय कर्जा पनि बढेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकहरुको औसत कुल निष्क्रिय कर्जा ३.३९७ प्रतिशत रहेको थियो भने खुद निष्क्रिय कर्जा १.०६ प्रतिशत रहेको थियो । तर, चालु आर्थिक वर्षको चैतसम्म आइपुग्दा बैंकहरुको औसत कुल खराब कर्जा ३.६५ प्रतिशतमा पुगेको छ भने औसत खुद निष्क्रिय कर्जा १.१६६ प्रतिशत पुगेको छ ।

कोरोना महामारी तथा आर्थिक मन्दीका कारण बैंकहरुको खराब कर्जा बढेको भएपनि वित्तीय क्षेत्रको जोखिम भने नबढेको केन्द्रीय बैंकका अधिकारीहरुले बताउने गरेका छन । केन्द्रीय बैंकका अधिकारीले वित्तीय प्रणालीको जोखिम नवढेको बताउनुको मूख्य कारण भनेको खुद निष्क्रिय कर्जा न्यून हुनु हो । तर, खुद निष्क्रिय कर्जामा पनि बढ्दै गएको विषय भने गम्भिर हो । यसमा केन्द्रीय बैंक तथा बैंकहरुले समयमा नै उपयुक्त कदम चाल्नु पर्ने देखिन्छ ।

चालु आर्थिक वर्षको पुस मसान्तको तुलनामा केही बाणिज्य बैंकहरको खुद कर्जा नोक्सानी बढेको छ भने केहीले घटाएका पनि छन् । यो अवधिमा लक्ष्मी सनराइज, माछापुच्छ«े, नबिल, एनआइसी एसिया बैंकको खुद निष्क्रिय कर्जा बढेको छ भने कुमारी सानिमा हिमालयनले घटाएका छन् । चालु आवको चैतसम्ममा सबैभन्दा थोरै खुद निष्क्रिय कर्जा हुने बैंकहरुमा एभरेष्ट, एसविआइ र कुमारी बैंक रहेका छन । यी ती बैंकहरु मध्ये पनि एभरेष्ट बैंकको कुल निष्क्रिय कर्जा पुसको तुलनामा चैतमा स्थिर (०.२१ प्रतिशत)रहेको छ भने कुमारीले ०.४० प्रतिशतमा झारेको छ । त्यसैगरी नेपाल एसबीआइ बैंकको भने केही बढेर ०.२३ प्रतिशत पुगेको छ ।

सो अवधिमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरु मध्ये १० को कुल निष्क्रिय कर्जा ४ प्रतिशत भन्दा धेरै छ । धेरै निष्क्रिय कर्जा भएका १० बैंकहरु मध्ये कुमारी बैंक सबैभन्दा सबल देखिएको छ । अन्य बैंकको तुलनामा कर्जा जोखिम व्यवस्था नभएको खराब कर्जा कुमारीको सबैभन्दा थोरै देखिएको छ ।

बैंकहरुले प्रकाशीत गर्ने कुल निष्क्रिय कर्जा जोखिम व्यवस्था गरेको र नगरेको दुबैको योगफल रहेको केन्द्रीय बैंकका एक अधिकारीले बताए । “खुद खराब कर्जामा जोखिम व्यवस्था बापतको रकम नछुट्याएको तर कर्जा निष्क्रियमा वर्गिकरण भइ शतप्रतिशत कर्जा नोक्सानी गर्न बाँकी रहेको अंश हो,” केन्द्रीय बैंकका ती अधिकारीले भने,“खराब कर्जा धेरै हुँदैमा समस्या हुदैन । त्यस्तो कर्जाको नोक्सानी व्यवस्था गरेको हुन्छ । कर्जा नोक्सानी व्यवस्था नगरेको खराब कर्जा बढ््यो भने समस्या हुने हो ।”

चालु आर्थिक वर्षको चैतसम्ममा आइपुग्दा लक्ष्मी सनराइज बैंकको कुल निष्क्रिय कर्जा ५.४९ प्रतिशत पुगेको छ । अन्य केही बैंक पनि ५ प्रतिशतको नजिक छन । पछिल्लो समयमा निष्क्रिय कर्जाको सीमा ५ प्रतिशत भन्दा धेरै हुँदाका नियामकिय बन्देज पनि एकिकृत निर्देशनबाट हट्दै गएको अवस्था छ । तर, संस्थागत निक्षेपकर्ताले आफ्नो निक्षेप राख्ने समयमा तोक्ने मापदण्डमा निष्क्रिय कर्जा ५ प्रतिशत भन्दा धेरै हुन नहुने शर्त भने राख्ने गरेका छन् । बैंकहरुमा निष्क्रिय कर्जा कति छ भन्दा पनि कर्जा नोक्सानी व्यवस्था नगरीएको कर्जा कति छ भन्नेमा ध्यान दिनुपर्ने केन्द्रीय बैंकका ती अधिकारीको भनाई छ ।

केन्द्रीय बैंकका अनुसार असल कर्जामा १.२५, सुक्ष्म निगरानीको कर्जामा ५, कमसल कर्जामा २५, संकास्पद कर्जामा ५० र खराब कर्जाको शतप्रतिशत नोक्सानी व्यवस्था छ । यो व्यवस्था अनुसार कर्जामा कुनै पनि किसिमको जोखिम देखिएको खण्डमा सोही अनुसार नाफाबाट नोक्सानी व्यवस्था गर्दा कर्जाबाट बैंकलाई हुने जोखिमको व्यवस्थापन हुन्छ । खराब कर्जामा शतप्रतिशत नोक्सानी व्यवस्था हुने भएपनि सो अनुसार नगरिएको कर्जालाई केन्द्रीय बैंकले खुदमा देखाउने गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ बैशाख २०८१, आइतबार  १९ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।