घरजग्गा कारोबार कम्पनीमार्फत गर्नुपर्छः अध्यक्ष लोहनी

0
Shares

नेपाल घरजग्गा तथा आवासीय विकास महासङ्घका अध्यक्ष भेषराज लोहनीले घरजग्गा व्यवसायीहरुले व्यक्तिगत कारोबारभन्दा पनि कम्पनीमार्फत गर्न आवश्यक रहेको बताएका छन । कास्की घरजग्गा तथा आवासीय विकास संघको वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन।

अध्यक्ष लोहनीले व्यक्तिगत रुपमा घरजग्गाको कारोबार गर्दा घरजग्गा व्यवसायीहरुलाई हेर्ने दृष्टिकोण नकारात्मक भएको भन्दै संयुक्त कम्पनीमार्फत ठुला आयोजनाहरुमा काम गर्ने वातावरण व्यवसायीहरुले बनाउन आवश्यक देखिएको उल्लेख गरे।

उनले सरकारले व्यवस्थित र पारदर्शी घरजग्गा कारोबार बनाउनका लागि ल्याण्ड पुलिङको ढोका खोल्न आवश्यक रहेको बताए । उनले ७५३ स्थानीय तहमा ल्याण्ड उपभोग नीति लागू भएकाले त्यहीअनुसार स्थानीय तहहरुले पनि शहर बनाउने गुरुयोजना बनाउनुपर्ने बताए । उनले स्थानीय तहहरुले बनाएको योजनामा निजी क्षेत्रले कम्पनीमार्फत काम गर्दा व्यवस्थित शहर बनाउन सकिने जानकारी दिए।

अध्यक्ष लोहनीले अब साना व्यवसायीहरु मिलेर कम्पनी बनाउने र कम्पनीहरु पनि मर्ज भएर ठुलो पुँजी भएका कम्पनी बनाएर ठुला आयोजनाहरुमा काम गर्न आवश्यक भएको बताए।

‘ल्याण्ड पुलिङ सरकारले निजी क्षेत्रको लागि ढोका खोल्नुपर्छ । सरकारले ७५३ स्थानीय तहमा ल्याण्ड उपभोग पोलिसी लागू भइसकेको छ । नीहरुले आवासीय क्षेत्रहरुको वर्गीकरण गर्छन । त्यसको स्थानीय सरकारले गुरुयोजना बनायोस् । गुरुयोजनामा बिल्डिङ गर्नुपर्‍यो । टाउनप्लानिङ बनाउनुपर्छ । खुद्रे आयोजनाहरु होइन । घरजग्गा व्यवसायीले साना योजना गर्नुको सट्टा धेरै जना मिलेर कम्पनी बनाउने र साना कम्पनीहरु मर्ज भएर ठूला पुँजी भएका कम्पनीहरु बनाउनुपर्छ।,’’ अध्यक्ष लोहनीले भने, ‘‘विश्वमा रियल स्टेट व्यवसायीहरु भनेका धनाढ्यहरुले मात्रै बन्ने परिस्थिति बन्छ । तर नेपालमा त्यति ठुलो पुँजी छैन । नेपाली व्यवसायीहरुले छरिएको पुँजीबाट व्यक्तिगत कारोबार गर्ने होइन । संयुक्त कम्पनीको रुपमा काम गर्नु आवश्यक छ । त्यसका लागि व्यवसायीहरु पनि लाग्नुपर्छ र व्यवस्थित शहर बनाउनुपर्छ । त्यसका लागि सरकारले ल्याण्ड पुलिङ खुला गर्नुपर्छ । त्यसका लागि शहरी ऐन बनाउन आवश्यक छ ।’’

उनले सरकारले ल्याण्ड पुलिङ खुला गरी शहरी ऐन बनाउन आवश्यक रहेको उल्लेख गरे ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।