बैंक वित्तीय संस्थालाई सेयर किनबेचमा कडाई गर्दै राष्ट्र बैंक, सेयर बिक्रीमा यस्तो मापदण्ड


सेयर कारोबारमा बैंक तथा वित्तीय संस्थालाई कडाई गर्दै आएको नेपाल राष्ट्र बैंकले झनै कडाई गर्ने भएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षा मार्फत केन्द्रिय बैंकले सेयर बिक्री गर्न बैंक वित्तीय संस्थालाई कडाई गरेको हो ।

दुई वर्ष अघिसम्म बैंकहरुले सेयर किनबेच गरेर आम्दानीको आकार ठुलो बनाउँदै आएकोमा २ वर्षअघि कडाई गर्न थालेको थियो । अहिले मौद्रिक नीतिको समीक्षाबाट बैंक वित्तीय संस्थाले सेयरमा लगानी गरेको १ वर्ष बितेपछि एक आर्थिक वर्षमा प्राथमिक पुँजीको २० प्रतिशत बराबरको सेयर मात्र बिक्री गर्न पाउने व्यवस्था गरेको छ ।

यो व्यवस्थाले बैंक तथा वित्तीय संस्थालाई आफुले लगानी गरेको सेयर बिक्री गर्न असहज हुने भएको छ । अर्थात केन्द्रिय बैंकले अन्य संस्था तथा क्षेत्रका सेयरमा लगानी नगर्न वा नगराउनका लागि यस्तो व्यवस्था गरेको हो । आफ्नो मुख्य कार्यक्षेत्रमा केन्द्रित हुन र अन्य क्षेत्रका सेयर लगानी निरुत्साहित गर्न यस्तो व्यवस्था गरिएको हो ।

यस अघि २०७८ मा राष्ट्र बैंकले बैंक वित्तीय संस्थाहरुलाई सेयर बिक्री गर्ने विद्यमान व्यवस्थामा कडाई गरेको थियो । उक्त समय अघि बैंकहरुले कुनै पनि समयमा आफूले लगानी गरेको सबै वा आंशिक सेयर बिक्री गर्न सक्ने व्यवस्था थियो । जसका कारण बैंकहरुले सेयरमा आज लगानी गरेर साता भरमा नै सेयर बिक्री गर्दै आकर्षक आम्दानी देखाउने गरेका थिए ।

मुख्य कामभन्दा सेयरमा केन्द्रित भएपछि केन्द्रीय बैंकले उक्त समयमा बैंकहरुले लगानी गरेको कुनै पनि सेयर १ वर्ष अवधि पूरा नभई बिक्री गर्न नपाउने व्यवस्था गरेको थियो । अर्थात बैंकहरुले किनेको सबै सेयर एक वर्षपछि बिक्री गर्न सकिने व्यवस्था भएको थियो ।

शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिको समीक्षाले विद्यमान व्यवस्थामा एक आर्थिक वर्षमा प्राथमिक पुँजीको २० प्रतिशत बराबर मात्र त्यस्तो सेयर बिक्री गर्न पाउने व्यवस्था गरेको हो । योसँगै अब बैंक वित्तीय संस्थाले चाहेको समयमा आफूले लगानी गरेको सबै सेयर एकै पटक बिक्री गर्न नपाउने भएका हुन् । २ वर्ष पहिलेको व्यवस्थाले किनेको सेयर कम्तिमा १ वर्ष होल्ड गर्नैपर्ने व्यवस्था गरेकोमा अब होल्ड मात्र नभई एक वर्षमा प्राथमिक पुँजीको २० प्रतिशत मात्र बिक्री गर्न सकिने व्यवस्था गरिएको हो ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा भनिएको छ, “बैंक तथा वित्तीय संस्थाहरुको १ वर्ष अवधि व्यतीत भइसकेका लगानी मध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था मिलाइने छ ।”

यो व्यवस्थाले अब बैंक तथा वित्तीय संस्थाले सेयरमा लगानी गर्ने अभ्यासलाई संकुचित गर्नेछन् । किन्न वा सेयरमा लगानी गरे पनि बिक्री गर्न राखिएका मापदण्डका कारण बैंकहरुले दोस्रो बजारका लगानीकर्ताको अपेक्षा अनुसार सेयरमा लगानी गर्न सक्दैनन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।