व्यापार घटेपछि बोटलर्स नेपालका दुबै कम्पनीको मुनाफामा संकुचन, चैतसम्म कति कमाए ?

0
Shares

व्यापार घटेपछि बहुर्राष्ट्रिय हल्का पेय पदार्थ उत्पादक कम्पनी बोटलर्स नेपालका दुबै कम्पनीको मुनाफामा संकुचन आएको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार गत आवको तेस्रो त्रैमासको तुलनामा बोटलर्स नेपाल लिमिटेड (बालाजु) को खुद नाफा ८६.२५ प्रतिशत र बोटलर्स नेपाल (तराई) लिमिटेडको खुद नाफा २७.५९ प्रतिशतले घटेको हो । कम्पनीको सञ्चालन आम्दानी उल्लेख्य घटेसँगै खुद नाफा घट्न पुगेको हो ।

बिहीबार प्रकाशित चालू आर्थिक वर्ष २०८०–८१ को अपरिष्कृत वित्तीय विवरण अनुसार चैत मसान्तसम्ममा काठमाडौंको बालाजुमा प्लान्ट रहेको बोटलर्स नेपाल लिमिटेडले ५ करोड ९८ लाख ९१ हजार रुपैयाँ र चितवनमा प्लान्ट रहेको बोटलर्स नेपाल (तराई) ले २६ करोड १४ लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बोटलर्स नेपाल लिमिटेडले ४३ करोड ५४ लाख ८६ हजार र बोटलर्स नेपाल (तराई) ले ३६ करोड १० लाख २५ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

चैत मसान्तसम्ममा बोटलर्स नेपाल लिमिटेडको सञ्चालन आम्दानी ८ अर्ब २१ करोड ८४ लाख रुपैयाँबाट घटेर ७ अर्ब १८ करोड ४३ लाख रुपैयाँमा झरेको छ । यो गत आवको सोही अवधिको तुलनामा १२.५८% प्रतिशत कम हो । त्यस्तै, कम्पनीको कुल नाफा २ अर्ब २८ करोड ७५ लाख रुपैयाँबाट १०.७७% घटेर २ अर्ब ४ करोड ११ लाख ५८ हजार रुपैयाँमा सीमित छ । चैत मसान्तसम्ममा कम्पनीको सञ्चालन मुनाफा ६५ करोड ९३ लाख १० हजार रुपैयाँबाट ३२.५६% ले घटेर ४४ करोड ४६ लाख ५७ हजार रुपैयाँमा सीमित भएको छ ।

यसैगरी बोटलर्स नेपाल (तराई) लिमिटेडको पनि सञ्चालन आम्दानी ५ अर्ब ९९ करोड ४० लाख रुपैयाँबाट ३% ले घटेर ५ अर्ब ८१ करोड ३६ लाख रुपैयाँमा झरेको छ । त्यस्तै, कम्पनीको कुल नाफा भने १ अर्ब ५८ करोड २६ लाख रुपैयाँबाट १.०४% बढेर १ अर्ब ५९ करोड ९१ लाख ८९ हजार रुपैयाँ पुगेको छ । चैत मसान्तसम्ममा कम्पनीको सञ्चालन मुनाफा ५८ करोड ८८ लाख ११ हजार रुपैयाँबाट ११.३३% ले घटेर ४८ करोड ६७ लाख ५७ हजार रुपैयाँमा सीमित छ ।

चैत मसान्तसम्ममा बोटलर्स नेपाल लिमिटेडको चुक्ता पुँजी १९ करोड ४८ लाख रहेको यस कम्पनीको तेस्रो त्रैमाससम्ममा जगेडा कोषमा ५ अर्ब ७० करोड ९८ लाख रुपैयाँ सञ्चित रहँदा प्रति सेयर नेटवर्थ ३ हजार २२९ रुपैयाँ कायम भएको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ६९१ गुणा छ ।

चालू आवको नौ महिनासम्ममा बोटलर्स नेपाल (तराई) लिमिटेडको चुक्ता पुँजी १२ करोड १० लाख रुपैयाँ, जगेडा कोषमा ३ अर्ब ९८ करोड ८९ लाख रुपैयाँ सञ्चित रहँदा प्रति सेयर नेटवर्थ ३ हजार ३९७ रुपैयाँ छ । कम्पनीको मूल्य आम्दानी अनुपात ४४ गुणा छ ।

चालू आवमा कम्पनीको नाफासँगै दुबै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिसेयर आम्दानी २७५ रुपैयाँ रहेको बोटलर्स नेपाल बालाजुका इपीएस घटेर २४ रुपैयाँ सीमित भएको छ । यस्तै बोटलर्स नेपाल (तराईंं) को पनि नाफासँगै प्रतिसेयर आम्दानी ११० रुपैयाँले घटेको छ । गत आवमा कम्पनीको प्रतिसेयर आम्दानी ३९८ रुपैयाँ रहेकोमा २८८ रुपैयाँ सीमित भएको हो । धितोपत्र बजारमा बोटलर्स नेपाल लिमिटेडको बुधबारको अन्तिम सेयरमूल्य प्रतिकित्ता १५ हजार ७४६ रुपैयाँ छ भने बोटलर्स नेपाल (तराई) लिमिटेडको प्रतिकित्ता १२ हजार ८०० रुपैयाँ छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।