कुमारी बैंकको २१.२५ प्रतिशत बोनस पारित

0
Shares

कुमारी बैंकको २१.२५ प्रतिशत बोनस प्रस्ताव पारित भएको छ । बिहीबार सम्पन्न १७ औं र १८ औं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको दुई आर्थिक वर्षको उक्त लाभांशलाई अनुमोदन गरेको हो।

बैंकले शेयरधनीलाई आर्थिक वर्ष २०७३/०७४ को १२.७५ प्रतिशत र आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट ८.५० प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको थियो। बोनस पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ।

बैंकका अध्यक्ष सन्तोष कुमार लामाको अध्यक्षतामा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको दुई आर्थिक वर्षको आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब, पूँजीमा भएको परिवर्तन लगायत वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म बैंकले ७७ अर्ब २९ करोड रुपैयाँ कुल निक्षेप संकलन गरी ७३ अर्ब २४ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । यस अवधिमा बैंकले १ अर्ब ४२ करोड आम्दानी गरी १ अर्ब रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

बैंकको काठमाडौं उपत्यका भित्र र बाहिर गरि ८८ शाखा सञ्जाल, ८३ एटिएम, ३ एक्स्टेन्सन काउन्टरका साथै ३ वटा शाखारहित बैंकिङ्क इकाई सञ्चालनमा छन्।