बजेटले अधिक तरलता व्यवस्थापनमा टेवा पुग्ने विश्वास छ : सुनिल केसी


नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंक वित्तीय संस्थालाई समेत समेटेको बजेटले अन्य क्षेत्रबाट पनि बैंकलाई सहज हुने व्यवस्था गरेकाले उत्साहित बनाएको बताएका छन् । नोटबजारसँगको कुराकानीमा एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत समेत रहेका केसीले सरकार मुलुकमा लगानी भित्र्याउने योजनामा रहेको देखिएकाले पनि उत्साह थपिएको बताए ।

“बजेटका केही प्रावधान हेर्दा सरकार पैसा भित्र्याउन सकरात्मक देखिएको बुझियो । अर्को चाहिँ डिजिटल बैकिङमा लैजाने कुरा एकदमै राम्रो छ, तर यसको कार्यान्वायन कस्तो हुन्छ त्यसले नै नतिजा देखाउला ।” मालपोत, यातायात तथा अन्य आर्थिक कारोबार हुने क्षेत्रलाई डिजिटलाइज गर्दा बैंकिङ प्रणालीमा कारोबार बढ्ने उनको भनाई छ । यसले सानो कर्जामा हुने खर्च कटौती गर्न बैंकहरुलाई सहज हुनुका साथै प्रणालीमा पैसा आउने भएकाले बैंकलाई सहज हुने उनले बताए ।

विदेशबाट बैंक वित्तीय संस्थाले ऋण ल्याउँदा ब्याजमा लाग्ने कर छुटको व्यवस्था सरहानीय भएको बताएका उनले बैंकको सुरक्षा लगायतमा सचेतना कार्यक्रम गर्ने लक्ष्य बजेटमै आउँदा बैंकिङ क्षेत्रको मनोबल बढेको बताए ।

पर्यटन, जलविद्युत्, स्टार्टअप, सूचना प्रविधि लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउँदा त्यसको सकरात्मक असर पनि बैंकमा नै पर्ने उनको बुझाई छ ।

निजी क्षेत्रसँग हातेमालो गरेकर अघि बढ्ने विषयले बैंकलाई लगानी बढाउने अवसर श्रृजना हुने बताएका केसीले अधिक तरलताको वर्तमान अवस्थामा लगानी बिस्तार गर्न सहज हुने बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।