चालु खाता १ खर्ब ९३ अर्ब बचतमा, विदेशी मुद्रा सञ्चिति १४ अर्ब ५४ करोड डलर

0
Shares

चालु आर्थिक वर्षको बैशाख महिनासम्मको तथ्यांकअनुसार नेपालको बाह्य क्षेत्र बलियो स्थितिमा पुगेको छ । आयातमा भएको २.३० प्रतिशतको संकुचन, रेमिट्यान्समा भएको १९.२० प्रतिशतको वृद्धि र मूल्यमा आएको कमीले नेपालको बाह्य क्षेत्र बलियो स्थितिमा पुगेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको तथ्यांक अनुसार यस अवधिमा उपभोक्तामा आधारित मुद्रास्फीति ४.४० प्रतिशतमा सीमित भएको छ। जब कि सरकारले चालु आर्थिक वर्ष मुद्रास्फीतिलाई ६.५० प्रतिशतभित्र सीमित राख्ने लक्ष्य राखेको थियो ।

यस्तै यस अवधिमा रेमिट्यान्स १९.२० प्रतिशतले बढेर ११ खर्ब ९८ अर्ब रुपैयाँ भित्रिएको छ । जसले गर्दा शोधानान्तर बचतमा उल्लेखीय वृद्धि भएको छ । चालु आर्थिक वर्षको बैशाख महिनासम्ममा नेपालको शोधनान्तर स्थिति ३ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँले बचतमा रहेको थियो । गत वर्षको यसै अवधिमा शोधनान्तर स्थिति २ खर्ब ९ अर्ब रुपैयाँले बचतमा रहेको थियो ।

समीक्षा अवधिमा चालुखाता १ खर्ब ९३ अर्ब २५ करोडले बचतमा रहेकाले पनि शोधनान्तर स्थितिको बचत बढेको हो। गत वर्षको यसै अवधिमा चालु खाता ६३ अर्ब ७४ करोड रुपैयाँले घाटामा रहेको थियो ।

चालु खाता बचत बढेकाले विदेशी मुद्राको सञ्चिति निकै सुविधाजनक अवस्थामा पुगेको छ। गत असार मसान्तको तुलनामा विदेशी मुद्रा सञ्चिति २४।२ प्रतिशतले बढेर १४ अर्ब ५४ करोड डलर कायम भएको छ । यस्तो सञ्चितिले नेपालको १२।६ महिनाको वस्तु तथा सेवा र १५.१० महिनाको आयात धान्न पर्याप्त रहेको छ ।

यस अवधिमा ५१ अर्ब ९२ करोड रुपैयाँ बराबरको खुद सेवा घाटामा रहेको छ । अघिल्लो वर्षको तुलनामा भने सेवा घाटामा कमी आएको छ । गत वर्षको यसै अवधिमा सेवाघाटा ६५ अर्ब ८८ करोड रुपैयाँ रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।