दिगो विकासका लागि मौद्रिक तथा वित्त नीतिबीच आवश्यक समन्वय हुनुपर्छ: गभर्नर

0
Shares

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दिगो विकासका लागि मौद्रिक तथा वित्त नीतिबीच आवश्यक समन्वय हुनुपर्ने बताएका छन् । उनले समष्टिगत आर्थिक स्थायित्वमा सम्झौता नगरी वित्त तथा मौद्रिक नीतिको समन्वय कायम गर्नुपर्ने बताएका हुन ।

श्रीलङ्काको केन्द्रीय बैंकद्वारा राजधानी कोलम्बोमा आयोजित ४५ औ सार्कफाइनान्स गभर्नर मिटिङ एण्ड सिम्पोइजमा सहभागी हुदै गभर्नर अधिकारीले वित्त र मौद्रिक नीतिको आवश्यक समन्वयमा जोड दिएका हुन । उक्त बैठकमा दक्षिण एसिया क्षेत्रका केन्द्रीय बैंकका गभर्नर, डेपुटी गभर्नर, अर्थ मन्त्रालयका अधिकारी र अन्य प्रतिनिधि सहभागी थिए ।

गभर्नर अधिकारीले उक्त कार्यक्रमको पहिलो सेसन अन्तरगतको च्यालेन्जेज एण्ड अपरचुनिटिज अफ इभोल्भीङ ग्लोबल इकोनोमिक डाइनामी टु सार्क सेसनको पेनलिष्टको रुपमा बोल्दै गभर्नर अधिकारीले विश्व अर्थतन्त्रको गतिशीलता र परिवर्तनबाट सार्क क्षेत्रमा देखिएको अवसर तथा चुनौतीका बारेमा धारणा राखेका थिए।

साथै, नेपालको समग्र आर्थिक तथा वित्तीय परिसूचकको सन्दर्भ जोड्दै गभर्नर अधिकारीले अर्थतन्त्रमा देखिएका चुनौतीलाई सम्बोधन गर्न नेपालले अवलम्बन गरेका नीतिगत प्रयासहरुको जानकारी गराएका थिए ।

त्यसका साथै कार्यक्रममा सार्क क्षेत्रका केन्द्रीय बैंकले हाल अवलम्बन गरेका मौद्रिक नीतिको संरचना, पछिल्लो समयमा भएका परिवर्तन, मौद्रिक नीतिका सीमा एवम आगामी कार्यदिशाका बारेमा चर्चा भएको थियो ।

कार्यक्रमको दोस्रो दिन गभर्नर अधिकारी ४५ औं सार्क फाइनान्स गभर्नरको ग्रुप मिटिङमा सहभागी भएका थिए । सार्क फाइनान्सका वर्तमान अध्यक्ष एवम् सेन्ट्रल बैंक अफ श्रीलङ्काका गभर्नर डा.पी. नन्दलाल वीरासिङ्घेको अध्यक्षतामा आयोजित बैठकमा गभर्नर अधिकारीले सार्क फाइनान्स अन्तर्गतका विभिन्न कार्यक्रममा नेपालको वर्तमान आर्थिक तथा वित्तीय परिसूचकको पछिल्लो अवस्था, अर्थतन्त्रका चुनौती र क्षेत्रीय सहयोगको आवश्यकताका बारेमा आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा सहभागी केन्द्रीय बैंकका गभर्नरहरूबाट सार्क सदस्य राष्ट्रबीच आगामी दिनमा आर्थिक तथा वित्तीय क्षेत्रका समसामयिक विषयमा समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउ नुपर्ने जोड दिइएको थियो । सो अवसरमा गभर्नर अधिकारीले भारतीय रिजर्व बैंकका गभर्नर शक्तिकान्त दास र सेन्ट्रल बैंक अफ श्रीलङ्काका गभर्नर डा.पी. नन्दलाल वीरासिङ्घेसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता समेत गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।