भूकम्पबाट भत्किएका घर निमार्ण गर्न विश्व बैंकको थप २३ अर्ब ऋण

0
Shares

विश्व बैंकले भूकम्पबाट भत्किएका घर पुनर्निर्माण गर्न नेपालाई झण्डै २३ अर्ब थप ऋण दिने भएको छ ।

विश्व बैंक र अर्थ मन्त्रालयबीच बिहीबार ऋण सहायता सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकका कन्ट्री म्यानेजर फारिस एच. हाडाड–जेरभोसले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन ।

विश्व बैंकलेबाट प्राप्त २२ अर्ब ८२ करोड (२० करोड अमेरिकी डलर) रुपैयाँ ऋण ३२ जिल्लाका भूकम्प प्रभावितको निजी आवास पुनर्निर्माणमा खर्च गर्ने जनाइएको छ। यो रकमबाट ८६ हजार ६८० घरको पुनर्निर्माणमा गरिने अर्थमन्त्रालयले जनाएको छ।

सम्झौतापत्रमा हस्ताक्षर गरेपछि देशीय निर्देशक हाडाड–जेरभोसले भूकम्पपछिको पुनर्निर्माणमा नेपाल सरकारसँग निकट सम्पर्कमा रहेर बैंकले सहयोग गर्दै आएको बताए । उनले निर्धारित समयमा आवासीय भवनहरु निर्माण हुने विश्वास व्यक्त गर्दै पुननिर्माण प्राधिकरणलगायत निकायसँग समन्वय गरेर काम गर्ने बताए ।

सहसचिव नेपालले नेपालको आर्थिक–सामाजिक विकासका लागि नेपाल सरकारलाई बैंकबाट निरन्तर सहयोग प्राप्त भएकामा हार्दिक आभार व्यक्त गरे ।

विश्व बैंकले नेपाललाई यसअघि सन् २०१५ मा पहिलो पटक २०० मिलियन र २०१७ मा दोस्रोपटक ३०० मिलियन डलर ऋण दिएको थियो ।

सरकारले भूकम्प पीडितलाई निजी घर पुनर्निमार्णका लागि ३ लाख रुपैयाँ अनुदान उपलब्ध गराइरहेको छ।