म्यानपावर व्यवसायीले २ खर्ब धेरै बैंकिङ्ग प्रणाली बाहिरबाट उठाउँदा सरकार चुप बस्दैनः श्रममन्त्री

0
Shares

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) हरुले बैंकिङ्ग प्रणालीभन्दा बाहिरबाट २ खर्बभन्दा बढी रकम उठाइरहेको भन्दै सरकार चुप बस्न नसकिने बताएका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३२ औं स्थापना दिवस तथा ३० औं वार्षिक साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यति ठूलो रकम बैंकिङ्ग प्रणालीमा नआई वैदेशिक रोजगारीमा जाने व्यक्तिहरु मार्फत उठाइरहनु अन्त्यन्त संवेदनशिल विषय रहेको बताए ।
“एक अध्ययनका अनुसार हरेक वर्ष २ खर्ब १ अर्ब ६० करोड रुपैयाँभन्दा बढी पैसा म्यानपावर व्यवसायीहरुले बैंकिङ्ग प्रणालीभन्दा बाहिरबाट उठाइरहेको भन्ने तपाइहरुकै साथीभाईले तपाइहरुकै नेतृत्वले बोलेर हिँडेको कुरा हो । हामीले यसमा अध्ययन गरिहेका छौं ।” ंउनले भने, “वैदेशिक रोजागरसँग सम्बन्धित व्यक्तिबाट २ खर्बभन्दा बढी रकम उठाइएको छ भन्ने कुरा अत्यन्त संवेदनशिल कुरा हो। त्यसकारण यसलाई चुप लागेर बस्न न सरकार सक्छ । न तपाई हामी सकिन्छ ।”

वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुबाट संकलन हुने रकम बैंकिङ्ग प्रणालीमा आउन नसक्नु संवेदनशील विषय रहेपनि अहिलेसम्म सरकारले त्यसलाई बैंकिङ्ग च्यानलभित्र ल्याउन नसकेकोमा उनले स्वीकार गरे । सरकारले अहिलेसम्म किन गर्न सकेन भन्नेतर्फ आफू फर्किन नचाहेको बताउँदै उनले अब के हुन्छ भन्ने सम्बन्धमा आफूले सोच्ने बताए । अबको जिम्मेवारी आफू नेतृत्वमा आएकाले मन्त्रालयले सो विषयमा गहिरिएर अध्ययन गरिरहेको उनको भनाई छ । यसमा व्यवसायीहरुको साथ र सहयोगको अपेक्षा गदै मन्त्री अर्यालले यसो हुन सकेको खण्डमा यसबाट नेपाल सरकारले अरबौं रुपैयाँ कर प्राप्त गर्न सक्ने र नेपालको बैंकिङ्ग क्षेत्रको लिक्विडिटी नै धान्न सक्ने जिकिर गरे । उनले भने, “यति धेरै रकम बैंकिङ्ग प्रणालीमा आउँछ भने यस्तो व्यवसायलाई किन मर्यादित नबनाउने भन्ने विषयमा मन्त्रालय संवेदनशिल छ र यस विषयमा काम गरिरहेको छ ।”

वैदेशिक रोजगार व्यवसायीहरुबाटै फ्रि भिषा फ्रि टिकट नाम मात्रको भएको र अधिकतम चार प्रतिशतभन्दा बढी सफलता प्राप्त गर्न नसकेको तथ्याङ्क बाहिरिएको अवस्थामा ९६ प्रतिशतको कति रकम गैर बैंकिङ्ग च्यानलमा रहेछ भनेर मन्त्रालयले अध्ययन थालेको उनले जानकारी दिए । जसबाट २ खर्ब बढी रकम रहेको तथ्याङ्क प्राप्त भएको भन्दै यस्तो रकम बैंकिङ्ग च्यानलमा ल्याउनु पर्यो भने कसरी ल्याउन सकिएला ? कति ल्याउन सकिएला वा यसको निराकरण कसरी गर्न सकिएला भनेर श्रम मन्त्रालयले नीति निर्माणमा काम गरिरहेको उनको भनाई छ ।

वैदेशिक रोजगार व्यवसाय ३२ वर्षसम्म पनि मर्यादित पेशामा दर्ज हुन नसकेकोप्रति दुःख व्यक्त गर्दै मन्त्री अर्यालले व्यवसायीले चाह्यो भने ३२ महीना नपुग्दै वैदेशिक रोजगारलाई मर्यादित पेशामा दर्ज गराउन सकिने धारणा राखे । “वैदेशिक रोजगारलाई मर्यादित पेशामा दर्ज गराउनका लागि फेरि अर्को ३२ वर्ष कुर्नूपर्छ जस्तो मलाई लाग्दैन । जुन प्रकृया वैदेशिक रोजगार व्यवसायीहरुले पनि गरिरहनुभएको छ, त्यसलाई राजनैतिक व्यतित्वहरुले पनि आत्मसात गरिरहेका छन् । बाध्यात्मक अवस्थामा विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ । त्यस्तो अवस्था नआउन्जेलका लागि व्यवस्थित र सुरक्षित हुनुपर्छ भन्ने नेतृत्वहरुले बुझ्दै गएको अवस्थामा व्यवासायीहरुको साथ रह्यो भने छिट्टै यो व्यवसाय मर्यादित पेशमा दर्ज हुन सक्छ ।”

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चलायमान बनाउने र उडान भर्ने तयारीका सम्बन्धमा प्रधानमन्त्रीस्तरबाटै छलफल चलिरहेका हुनाले त्यहाँबाट वैदेशिक रोजगारीमा जाने वातावरण निर्माणका लागि श्रममन्त्री अर्यालले संबद्ध सबै पक्षलाई सहयोग गर्न आग्ह गरे । “म वैदेशिक रोजगार व्यवसायीहरुलाई दुबै विमानस्थलबाट सिधै वैदेशिक रोजगारीमा जानसक्ने वातावरण निर्माणका लागि हाम्रो व्यवसायी साथीहरुबाट केही नरोकियोस् यसका लागि सहयोग गर्न अनुरोध गर्न चाहन्छु । पोखरा र भैरहवा विमानस्थलबाट विदेश जानका लागि म्यानपावर व्यवसायसँग सम्बन्धित स्वास्थ्य क्षेत्र, अभिमुखीकरण तालिम, अन्य तालिम होला जसले विदेश पठाउने काम गर्नुहुन्छ उहाँहरु सबैले यी दुईओटा एअरपोर्टबाट विदेश पठाउनका लागि, यी विमानस्थलाई चलायमान बनाउनका लागि आफ्नो तर्फबाट त्याग गर्नुपर्ने के–के बाँकी छन्, के भयो भने त्रिभुवन विमानस्थल नआईकन ती दुई विमानस्थलबाटै विदेश जान सकिन्छ त्यसका लागि सहयोग गर्न आग्रह गर्न चाहन्छु ।”

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि निजी क्षेत्रले सहयोग गर्नुपर्ने भन्दै मन्त्री अर्यालले वैदेशिक रोजगारीमा जाने क्रम संसारभर चलिरहने प्रकृया रहेकाले नेपालले पनि चाहेर पनि रोक्न नसक्ने बताए । यद्यपी वैदेशिक रोजागर व्यवसायलाई सुरक्षित व्यवस्थित र मर्यादित बनाउन मन्त्रालय लागि परेको मन्त्री अर्यालले बताए । आजको दिनमा एक पटक विदेश जानुपर्ने बाध्यता रहेपनि अबका दिनमा फर्किएर आएपछि फेरि जानु नपरोस् भनेर मन्धालयले केही सुरुवात गर्नुपर्ने आवश्यता औंल्याएको उनको भनाई थियो ।

राजनैतिक नेतृत्वले भाषण वा केही कर्मचारीको प्रयासले मात्रै वैदेशिक रोजगारीमा जाने क्रमलाई रोक्न असम्भव रहेको बताउँदै मन्त्री अर्यालले यसमा निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेल्नैपर्नेबताए । “एक पटक विदेश गएर अब देशभित्रै केही गरेर बस्छु भनेर फर्किने व्यक्तिलाई अब पनि देशमा बस्नसक्ने अवस्था छैन भन्ने जुन एउटा बाध्यात्मक अवस्था छ त्यसको अन्त्य गर्न निजी क्षेत्रको सहयोगमा मात्रै सम्भव छ। उनले भने, “हामी मिलेरै अगाडि बढ्नुपर्छ । होइन भने ३२ वर्ष अगाडिदेखि नेपाल सरकारले किन तपाइहरुको आवश्यकता ठान्यो र किन व्यवसाय गर्न दियो त । यदि हामी व्यवसाय गर्न दिन्छौं र काम गर भन्छौं भने तपाइहरुको व्यवसायलाई सफल बनाउन र प्रोटेक्सन दिनका लागि सरकार जिम्मेवार हुन्छ ।”

म्यानपावर व्यवसायीहरुबाटै भिजिट भिषा र व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजागरीमा पठाउने प्रवृत्ति बढेकाले त्यसमा मन्त्रालय निर्मम रुपमा प्रस्तु हुने संकेत श्रममन्त्री अर्यालले गरे । “श्रम कार्यालयमा वैदेशिक रोजगारीका लागि व्यक्तिगत भनेर श्रम स्वीकृति लिने गरिएको छ, यसको अन्त्यतै ठूलो मात्रामा म्यानपावर व्यवसायीकै संलग्नतामा व्यक्तिगत बनाइएको छ । यो डाटाले नै प्रमाणित गरेको छ । त्यसकारण तपाइहरुलाई म अनुरोध गर्न चाहन्छु, त्यो काम बन्द गर्न तपाइहरुले सहयोग गरिदिनुहोस् । यदि तपाइहरुले सहयोग गर्नु भएन भने मैले आफ्नो काम गरि नै हाल्छु मैले पाएको जिम्मेवारी बहन गरि नै हाल्छु ।” उनले थपे, “त्यसकारण म सबै नेपाली नागगरिकहरुलाई सम्मानजनक तरिकाबाट व्यवसाय गर्न र बाँच्नका लागि त्यो भुमिका खेलिदिन आग्ह गर्दछु । नकि मन्त्रालयले स्टन्ड गरेर मिडिया अगाडि र पछाडि लिएर तपाईहरु समक्ष दुस्मनी कमाउने मेरो कुनै रहर छैन ।”

“तपाइहरुलाई छातीमा हात राखेर सम्झिदिन र इमान्दार भइदिन अनुरोध गर्न चाहन्छु । म्यानपावर व्यवसायीलाई किन तिमी समात्दैनौं, किन कारवाही गर्दैनौं र चुप लागेर बसिरहेका छौं भनेर दाँया बाँयाबाट थुप्रै सल्लाह र सुझाव आउँदा आउँदै पनि मैले भन्ने गरेको कुरा के छ भने मान्छे समातेर प्रहरीको कोठीमा कोच्नु होइन। ” मन्त्री अर्यालले भने,“मेरो प्रयास भनेको अहिलेसम्म के भयो यो देशमा वैदेशिक रोजगारी किन व्यवस्थित हुन सकेन, किन व्यवस्थित हुन सकेन, किन ठगिमा नेपाली नागरिकहरु परे र अब के गर्यो भने यस्ता अवस्था रहन्न भन्ने नै हो । गल्ति र कमीकमजोरी गर्नेहरुलाई अहिले मैले कारवाही गनुपर्दैन, समय र कानुनले कारवाही गर्छ । मैले कसैको घर र अफिस ढक्कढकाउनु पर्दैन ।”

अहिले भैरहेको व्यक्तिगत श्रम स्वीकृति र भिजिट भिषामा तपाईहरुले भन्दै गरेको दलाल र ठग कतै तपाई हामीभित्रै त छैन भन्दै उनले प्रतिप्रश्न गरे । कतै तपाई हाम्रै आफ्नै दाजुभाई त होइन ? अब त्यतातिर ध्यान दिनुपर्छ । हामीले निर्मम भएर यसमा अध्ययन गरिरहेका छौं । उनले भने, “त्यो सयम नआओस्, त्यो काम मैले वा मेरो नेतृत्वले गर्नु नपरोस्, कि तपाइहरु बाहिर देखिँदा जस्तो हुनुहुन्थ्यो भित्र फरक हुुनुहुँदो रहेछ भनेर औंला उठाउन नपरोस् ।” भिजिट भिषा मार्फत वैदेशिक रोजगारीमा गैरहेका मानिसहरु पनि कुनै न कुनै रुपमा नेपालमै सना मझौला ब्यापार व्यवसाय गरेर बसेका नेपालीहरुको संलग्नतामा गइरहेको उनको ठम्याई छ ।

नेपाली नागरिकलाई वैदेशिक पठाउने वातावरण बनाउने काम वैदेशिक रोजगार व्यवसायीहरुले बनाएकाले त्यसमा आफ्नो कुनै गुनासो, रिसराग हिजो पनि नरहेको र आज र भोलि पनि नरहने उनले स्पष्ट पारे । आफूलाई म्यानपावर व्यवसायी हो भनेर मिडियाका साथीहरुले हेडलाइन बनाउँदै गर्दा आफू म्यानपावर व्यवसायी भएको भए यस क्षेत्रको भित्रि कुरा अझै धेरै थाहा पाउँदा ठूलो चर्को स्वरमा बोल्न सक्ने धारणा राखे । नेताको भाषणबाट नभई निजी क्षेत्रको प्रयासबाट मात्रै देश समृद्ध बन्ने तर्क उनको छ ।