सेयर बजारमा उत्साह, ४७ अंकले नेप्से बढेपछि २१०० बिन्दुमा

0
Shares

सत्ता साझेदार दलहरुबीचआएको अविश्वासका कारण नेकपा एमाले–कांग्रेसले सत्ता सहकार्य गर्ने समझदारी बनेसँगै साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा उच्च अंकको बढोत्तरी भएको छ ।  दुई ठूला दल नेकपा एमाले र कांग्रसबीच सोमबार राति नयाँ सरकार गठन गर्ने सहमति भएसँगै सेयर बजार तरङ्गित भएको हो । प्रारम्भिक सहमति अनुसार एमालेले अर्थसहित ९ वटा र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने सहमति छ ।

विकसित राजनीतिक घटनाक्रमले प्रभावित भएको मंगलबारको नेपाली धितोपत्रको दोस्रो बजार १ मिनेट २३ सेकेण्डमा ४ प्रतिशत बढेर २० मिनेटको लागि बन्द भयो । सोपछि खुलेको बजार १६ सेकेण्डमा नै थप १ प्रतिशत बढेर पुनः ४० मिनेटका लागि सेयर कारोबार बन्द भयो। सोलगतै प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल राजीनामा नदिने समाचार बाहिरिएसँगै नेप्सेमा तेस्रो सर्किट लाग्न सकेन ।

मंगलबार बिहानै दुई पटक नेप्सेमा सर्किट लागेर बन्द भएको बजार सूचक नेप्से वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत परीक्षण गर्ने समाचार बाहिरिएसँगै नेप्सेमा करेक्शन आएको थियो । १०२ अंकसम्म बढेको बजार सूचक २ मिनेमा नै ७६ अंकसम्म घटेर २०८५ बिन्दुसम्म झरेको थियो । पछि पुनः बजारले लय समातेसँगै ४७.०४ अंकको वृद्धिसँगै २१०० दशमलव ४३ बिन्दुमा पुगेको छ ।

आज कारोबारमा आएका १३ ओटै उपसमूहगत परिसूचक बढेको छ । जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ३.३० प्रतिशत बढेको छ भने बैंकिङ्ग र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ । निर्जीवन बीमा २.४३ प्रतिशत, लगानी २.३१, जीवन बीमा २.१७, वित्त २.११ प्रतिशत र विकास बैंक २.०१, ले बढेको छ । यस दिन होटल तथा पर्यटन, जलविद्युत, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा धेरै बढेको छ ।

कारोबारमा आएका ३१५ कम्पनीमध्ये २५१ कम्पनीको सेयर मूल्य बढेको छ भने ५६ ओटाको मात्रै घटेको छ । ७ ओटा धितोपत्रको मूल्य आज स्थिर रह्यो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ८.९४ अंकले बढ्दा फ्लोट इन्डेक्स ३.३५ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स ३.१८ अंकले बढेको छ ।आज ३१५ कम्पनीका ६० हजार ७२० पटकको कारोबारमा ११ करोड ६४ लाख ५ हजार ९०५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ४ अर्ब ५७ करोड ६८ लाख ३१ हजार ७ सय २० रुपैयाँ रहेको छ । 

एनआएन इन्फास्टक्चरको सर्वाधिक कारोबार

आजको बजारमा एनआएन इन्फास्टक्चरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १२ करोड ३३ लाख ८५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यसैगरी गुडबिल फाइनान्सको ११ करोड १० लाख, युनाईटेड इदीमर्दीको १० करोड ६९ लाख, हिमालयन रि इन्स्योरेन्सको १० करोड ५२ लाख र हिमालयन डिष्टिलरीको १० करोड ९ लाख रुपैयाँको धितोपत्र कारोबार भएको छ । यस्तै सानिमा जिआईसी, जानकी फाइनान्स, नेपाल फाइनान्स, सिद्धार्थ प्रिमियमको प्रमोटर सेयर र सिईडिबी हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संस्थापक ३ लाख ६६हजार ५०० कित्ता सेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको १७९४ पटक सेयर कारोबार भएको छ।

हिमालयन डिष्टिलरीको सेयर मूल्य सर्वाधिक बढ्यो

हिमालयन डिष्टिलरीको सेयर मूल्य आज सर्वाधिक बढेको छ । हिमालयन डिष्टिलरीका लगानीकर्ताले आज ८.५४ प्रतिशतका दरले कमाएका छन् ।
यस्तै दोस्रोमा समाज लघुवित्तको सेयर मूल्य ६.९४ प्रतिशत, गुडबिल फाइनान्सको ५.७४ प्रतिशत, नेशनल हाइड्रोपावरको ५.५१ प्रतिशत र सनराइज ब्लूचिप फन्डको इकाई मूल्य ५.३६ प्रतिशतले बढेको छ ।

उपकार लघुवित्तको सर्वाधिक घट्यो

उपकार लघुवित्त वित्रीय संस्थाको सेयर मूल्य आज सर्वाधिक घटेको छ । प्रतिसेयर ६.४६ प्रतिशतले घटेसँगै लघुवित्तको मूल्य १८१५.६० रुपैयाँमा झरेको छ । यसैगरी हिमालयन उर्जा विकास कम्पनीको ६.२१ प्रतिशत, १०.५% नेपाल इन्भेष्टमेन्ट बैंक डिबेञ्चर २०८२ को ३.५१, १०.२५%प्राइम बैंक डिबेञ्चर २०८६ को ३.१८ प्रतिशत र बिन्दबासिनी हाइड्रोपावरको सेयर मूल्य २.१७ प्रतिशतले घटेको छ ।

मंगलबारको कारोबारपछि कुल बजार पुँजीकरण ३३ खर्ब ३० अर्ब ६६ करोड ८ लाख रुपैयाँमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।