नेपाल लाइफको साधारण सभाबाट लाभांश पारित

0
Shares

नेपाल लाइफ इन्स्योरेन्सको २३औँ र २४औँ वार्षिक साधारण सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोबिन्द लाल संघईको अध्यक्षतामा असार १८ गते होटल भिष्वा, बीरगंज, पर्सामा सम्पन्न भएको छ ।

उक्त साधारण सभाले आ.व. २०७९/८० को वितरण योग्य मुनाफाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको चुक्ता पूँजीको २१.०५% (कर प्रयोजनसहित) का दरले हुन आउने १ अर्ब ७२ करोड ७९ लाख ९२ हजार ९४९ रुपैयाँ बराबरको नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

यसका साथसाथै साधारण सभाले संचालक समितिमा संस्थापक समूह (क) का शेयरधनीहरुबाट ३ जना संचालक, सर्वसाधारण समूह (ख) का शेयरधनीहरुको तर्फबाट ३ जना संचालक तथा १ जना स्वतन्त्र संचालक हुने गरी समूहगत प्रतिनिधित्व सम्बन्धमा नियमावलीमा संशोधन प्रस्ताव पारित गरिएको छ ।

उक्त साधरण सभाले संचालक समितिका तर्फबाट अध्यक्षबाट प्रस्तुत भएका आ.व.२०७८/७९ र आ.व. २०७९/८० को वार्षिक कार्य प्रगति प्रतिवेदनहरु छलफल गरि पारित गरिएको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७८/७९ र आ.व.२०७९/८० को वासलात, नाफा–नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गरिएको छ ।

त्यसै गरी आ.व.२०७९/८० को लागि लेखापरीक्षक एस.ए.आर. एशोसिएट्सलाई गरिएको नियुक्ति र निजको पारिश्रमिकलाई अनुमोदन गरेको छ । यस सभाले आ.व. २०८०/८१ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गरेको छ ।

साधारण सभामा अध्यक्ष गोबिन्द लाल संघईले जीवन बीमा क्षेत्रमा कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई तमाम चुनौतिहरु बीच अझै नयाँ उचाइमा अगाडि बढाउनका लागि संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नविन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्व बीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रिकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरि अर्को सुनौलो यात्रा तर्फ अगाडि बढ्ने बताए ।

२३औँ र २४औँ बार्षिक साधारण सभामा बोल्दै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले आ.व. २०७८/७९ र आ.व.२०७९/८० मा आएका चुनौतीहरुलाई अवसरहरुमा परिणत गरी हासिल गरिएका व्यावसायिक उपलब्धि र भावी योजनाहरु बताए ।

देशको अर्थतन्त्र साथै व्यावसायिक क्षेत्र संकटान्मुख अवस्थामा रहेको परिस्थितिमा पनि यस कम्पनीले कुल बीमाशुल्क आर्जनका आधारमा आ.व २०७८/७९ मा नेपालको समग्र जीवन बीमा बजारको २५.५९ प्रतिशत र आ.व. २०७९/८० मा २६.०६ प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको सहर्ष जानकारी गराए ।

चुनौतीपूर्ण बजार परिस्थितिमा पनि कर्मचारी, अभिकर्ता एवं सरोकारवालाहरुको साथ सहयोगले एक भरपर्दो, विश्वसनीय र उत्कृष्ट कम्पनीको रुपमा स्थापित भई निरन्तर उच्चतम् संचालन आम्दानी तथा प्रतिफल दिन सफल भएको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए ।

२०८१ जेठ मसान्त सम्ममा यस कम्पनीको लगानी २ खर्ब ५४ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १ खर्ब ८९ अर्ब १८ करोड रुपैयाँ र शेयरधनी कोष ११ अर्ब ६६ करोडभन्दा बढी रहेको छ । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल १ सय ९३ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

यसका साथसाथै कम्पनीले हालसम्म २ खर्ब ५९ अर्ब ८३ करोड रुपैया बीमा शुल्क आर्जन गरेको छ भने ७८ अर्ब ७६ करोड दावी भुक्तानी गरेको छ । कम्पनीले २४ वटा बीमा योजना अन्तर्गत ३५ लाख ५२ हजार ४१४ बीमालेख जारी गरेको छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।